१७ असार २०८१ सोमबार
image/svg+xml
समाज

उल्टियो निलम्बित प्रधानन्यायाधीश जबराको फैसला

पत्नी हत्यामा पूर्वडिआइजी कोइरालालाई जन्मकैद सदर

सर्वोच्च अदालतले पत्नी हत्यामा दोषी ठहर भएका सशस्त्र प्रहरीका पूर्वडिआइजी रञ्जन कोइरालालाई छुटाउन निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहितको इजलासले सजाय घटाएको फैसला उल्टाउँदै जन्मकैद नै हुने ठहर गरेको छ। कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू टंकबहादुर मोक्तान र कुमार चुडालको पूर्ण इजलासले यसअघि भएको फैसला उल्टाउँदै जिल्ला र उच्च अदालतले गरेको फैसला बिहीबार सदर गरेको हो। सर्वोच्चको यो फैसलासँगै कोइरालाले जन्मकैदको सजाय पूरा गर्न थप ११ वर्ष ६ महिना जेल बस्नुपर्ने भएको छ।  

जिल्लाको फैसलाविरुद्ध तत्कालीन पुनरावेदन (हाल उच्च) अदालत पाटनमा कोइरालाले निवेदन दिएका थिए। त्यसपछि पाटन अदालतका मुख्य न्यायाधीश आनन्दमोहन भट्टराई र न्यायाधीश लेखनाथ घिमिरेको इजलासले जिल्ला अदालतकै फैसला सदर गर्दै जन्मकैद ठहराएको थियो।  

जिल्ला अदालतको फैसलाविरुद्ध कोइरालाले सर्वोच्चमा पुनरावेदन निवेदन निवेदन दिएका थिए। निवेदनमाथि सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले २०७७ असार १५ मा कोइरालालाई जन्मकैद चर्को पर्ने ठहरसहित सजाय घटाएर ८ वर्ष ६ महिना मात्रै तोकेको थियो। पत्नी हत्या गरेका पूर्वडिआइजी कोइराला सर्वोच्चको निर्णयपछि जेलमुक्त भएका थिए। हत्यारा ठहरिएका कोइराला डिल्लीबजार सदर जेलमा ८ वर्ष ६ महिना कैद सजायपछि रिहा भएका थिए। उनी जेलमुक्त भएपछि महान्यायाधीवक्ता कार्यालयले फैसला गलत भएकाले पुनरावलोकन गर्नुपर्ने माग गर्दै २०७७ साउन ४ मा निवेदन दिएको थियो। कर्तव्य ज्यान सरकारवादी मुद्दा भएकाले सर्वोच्च अदालतको निर्णय गलत भएको भन्दै सरकारले पुनरवलोकन निवदेन सर्वोच्चमा दर्ता गरेको हो।  

पाटन अदालतले ‘योजना बनाएर गीताको हत्या गरिएको ठहरसहित जिल्ला अदालतको फैसला सदर गरेको थियो। तत्कालीन पुनरावेदन अदालत पाटनले सशस्त्र प्रहरीका पूर्व डिआइजी कोइरालाले पत्नी गीता ढकाललाई ‘योजनापूर्वक हत्या’ गरेको फैसला गरेको थियो। पाटन अदालतका तत्कालीन मुख्य न्यायाधीश डा. आनन्दमोहन भट्टराई र लेखनाथ भट्टराईको संयुक्त इजलासले प्रमाणको आधारमा तत्कालकै आवेश नभई योजनाबद्ध तरिकाले हत्या गरेको भेटिएको ठहर गरेको थियो।  

गीता ढकाल (कोइराला) र रञ्जनबीच २०५० सालमा विवाह भएको थियो। उनीहरूका दुई छोरासमेत छन्। २०६८ पुस २७ मा कोइराले उनकी पत्नी गीता ढकालको हत्या गरेका थिए। सर्वोच्च अदालतले आवेशप्रेरित (तत्कालै रिस उठेर मारिएको) भनेर सजाय घटाएपछि मुद्दा विवादित बनेको थियो। सर्वोच्चमा पुनरवलोकनको अनुमति पाएपछि मुद्दा फेरि ब्यूँझिएको थियो।  

‘मिसिल संलग्न प्रमाण कागजबाट मृतक र प्रतिवादीबाट दुई छोराको जन्मपछि दाम्पत्य जीवन सुमधुर हुन नसकी लामो समयदेखि अलग–अलग घरमा बस्दै आएका थिए। २०६८ पुस २७ मा गीता बस्ने घरमा रन्जन जाँदा गीताले व्यापारको लागि पैसा मागेको कारणबाट उठेको विवादमा रिस उठी आवेगमा आई धकेल्दा टाउको भित्तामा ठोकिएर मृत्यु भएको,’ सर्वोच्चको सजाय घटाउने फैसलामा भनिएको थियो, ‘वारदात हुँदाको पृष्ठभूमि हेर्दा मृतककै कारण र जरियाबाट प्रतिवादी आवेशमा आई उठेको रिसबाट भएको भन्नेसम्म देखिनु।’  

मृत्युपछि नाबालक छोराहरूको हेरचाह, संरक्षण, शिक्षा दीक्षालगायत अभिभावकविहीन हुने भन्दै सजाय घटाउने सर्वोच्चको ठहर थियो। ‘सजाय चर्को पर्ने भन्दै जस्तो चित्तमा लागेको हुँदा पुनरावेदक प्रतिवादीलाई साविक मुलुकी ऐनको १८८ अनुसार तथा हालको फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा १७ (क) बमोजिम ८ वर्ष ६ महिना कैद सजाय गर्दा पनि सजायको मकसद पूरा हुने देखिएकोले रन्जनप्रसाद कोइरालालाई ८ वर्ष ६ महिना कैद हुने ठहर्छ,’ सर्वोच्चले फैसलामा भनिएको थियो। त्यही फैसला उल्टिएपछि अब कोइराला थप जेल बस्नुपर्ने भएको हो।  

मारेको सबै प्रमाण भेटिएपछि अदालतले दोषी ठहर गरेका रञ्जनले अदालतसामु आफूले ‘हत्या नगरेको’ इन्कारी बयान दिएका थिए।  

गीताले हत्या हुनु अघि नै आफ्नो ज्यान जोखिममा परेको माइतीमा जानकारी गराएकी थिइन्। २०६७ माघ ९ मा कुटपीटको घाउ जाँच गराइएको थियो। प्रधानमन्त्री कार्यालय, राष्ट्रिय महिला आयोग, गृह मन्त्रालय, सशस्त्र प्रहरी वल प्रधान कार्यालयमा मसेत उजुरी दिएकी थिइन्। रञ्जनले काठमाडौं जिल्ला अदालतमा अंश मुद्दा र माना चामल मुद्दा दर्तासमेत गरेका थिए। उजुरी बेवास्ता गरिँदा उनको ज्यान गएको थियो।  

यस्तो थियो पाटन अदालतको ठहर  

श्रीमान् र श्रीमतीबीच लामो वैमनस्यता रहेको तत्कालीन पुनरावेदन पाटन अदालतको २०७२ मंसिरमा २३ मा ठहर गरेको थियो। घटनापूर्व पनि श्रीमानले आफूलाई कुट्ने तथा यातना दिने गरेको व्यहोरा उल्लेख गर्दै गीताले विभिन्न निकायमा उजुरी दिएकी थिइन्। उजुरीको राज्यकै जिम्मेवार निकायले वेवास्ता गरिँदा गीताको हत्या भएको देखिन्छ।

गीतालाई २०६७ पुस ७ मा रञ्जनले कुटपिट गरेका थिए। कुटिएको ११ दिन पछि २०६७ पुस १८ मा उनले उजुरी दिएकी थिइन्। उजुरीमा ‘कुटपिट गरी तँलाई बेपत्ता पारिदिन्छु। म को हुँ चिनेको छस्, तँलाई मारेर फाले पनि मलाई कानुन लाग्दैन भनी कुटपिटसमेत गरेको’ भनी उल्लेख गरेको पाइएको छ।  

‘लोग्ने–स्वास्नीबीच धकेलाधकेल हुँदा चोट लागेर मरेको कोइरालाले अदालतमा जिकिर कोइरालाले लिएको पाइँदैन,’ फैसलामा भनिएको छ। त्यसैबेला कोइराला चीनबाट फर्कंदा अध्यागमनबाट भित्रिँदा राहदानीमा छाप नलगाइ आएका थिए। ‘कोइरालाले घटनाको दिन बिहानै १३२ लिटर पेट्रोल जर्किनमा भर्न लगाएका थिए। लास जलाउन गाडीमा राखेको पाइएको छ। पेट्रोल कसरी खर्च भयो वा गाडी सफा गर्न लाग्दा पेट्रोलको गन्ध किन आयो भन्ने प्रश्नहरूको तर्कसंगत जवाफ उनले दिन नसकेको’ पुनरावेदन अदालत पाटनको फैसलामा उल्लेख छ।  

घटना हुने दिन बिहान सानो छोरा लिन आउँदा ‘रञ्जनले मलाई घुरी हे¥यो’ भनी गीताले सोही दिन आमालाई फोन गरेको हरिप्रियाको वकपत्र छ।  

गीता हराएको १० दिनपछि (२०६८ माघ ७ मा) लास जलाएको ठाउँमा पुगेको उल्लेख छ। ‘मौजुद प्रमाणहरूको आधार हेर्दा गीताको मृत्युलाई तत्काल हात हालाहालको बीचमा घटेको सांयोगिक घटना भनी मान्न नमिली योजनापूर्वक गरिएको हत्या रहेछ भन्ने कुरा पुष्टि हुन आएको छ,’ फैसलामा भनिएको छ, ‘कानुन कार्यान्वयन गर्ने निकायको उच्च अधिकारीबाट यस्ता वारदात घटेको र प्रतिवादीले घटनाको यथार्थ कुरा अदालतमा नगरी निर्दोषिताको जिकिर गरेको हुँदा आवेशप्रेरित घटना हुने मान्न मिल्दैन।’  

‘हत्या गरी काठमाडौं बूढानीलकण्ठदेखि मकवानपुर टिस्टुङ नजिक मेत्राङमा लगी जलाउन रञ्जन कोइरालाको प्रत्यक्ष संलग्नता देखिँदा सुरु फैसलालाई अन्यथा मान्नुपर्ने देखिएन,’ फैसलामा छ। गीतालाई जलाइएपछिको अस्थिपन्जर हेटौंडा अस्पतालमा लगिएको र त्रिवि शिक्षण अस्पतालमा पठाइएको थियो। मकवानपुरको मेत्राङमा पाइएका अस्थिपन्जर गीता ढकालकै रहेको हेटौंडा अस्पतालको रिपोर्ट र फरेन्सिक मेडेसिन विभाग महाराजगन्जको प्रतिवेदनमा मकवानपुर मेत्राङमा पाइएका अस्थिपन्जर गीता ढकालकै हुन भन्ने द्विविधा गर्ने ठाउँ नदेखिएको अदालतको ठहर छ।  

‘नेपालमा परीक्षण विधि भित्रिएको प्रारम्भका केही वर्षमा यसको प्रमाणिकता एवं आधिकारिकताबारे न्यायिक क्षेत्रमा केही अन्योल रहेको पाइए पनि सर्वोच्च अदालतका फैसलाले यसलाई स्वीकार गर्न थालेका छन्’ अदालतले भनेको छ। रञ्जनले आफू पक्राउ पर्नुपूर्व मिति २०६८ माघ ५ मा मानिस खोजी पाउँ भनी प्रहरीमा निवेदनसमेत दिएका थिए।  

मुद्दाका अर्का प्रतिवादी तारा रेग्मीको हकमा भने जिल्ला र पुनरावेदन अदालतले गरेको फैसला मिलेको सर्वोच्चको ठहर गरेको थियो। उनलाई एक वर्ष कैद सजाय गर्ने जिल्ला अदालतले ठहर गरेको थियो। त्यसैलाई पुनरावेदनले सदर गरेको थियो। रेग्मी भने एक वर्ष कैद सजाय भुक्तान गरिसकेकी छिन्।

प्रकाशित: १३ जेष्ठ २०७९ ०१:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App