रौतहटको गरुडा नगरपालिकामा मेयर पदमा निर्वाचित कन्थमनिप्रसाद कलवारलाई ५१ किलोको फूलको माला लगाइएको छ। नगर प्रमुखमा विजयी भएपछि बिहीबार आयोजित विजय सभामा समर्थकहरुको तर्फबाट ठूलो माला लगाइएको हो।
विजय सभालाई सम्बोधन गर्दै नेकपा एमालेका स्थायी समिति सदस्य तथा पूर्व मन्त्री प्रभु साहले गरुडा नगरपालिकामा नेकपा एमालेको जितलाई ऐतिहासिक बताउँदै गरुडालाई स्मार्ट सिटी बनाउन आफूले सहयोग गर्ने बताएका छन्। नेकपा एमाले र मुख्य गरी कन्थमनिप्रसाद कलवारप्रति पिछडिएका वर्गको देखिएको समर्थनलाई अब विकासले गर्दा विश्वासमा बदल्नुपर्ने सुझाव पूर्व मन्त्री साहले दिएका छन्।
जिल्लाको मध्य भागमा रहेको गरुडाको उन्नतिले मधेस प्रदेश नै प्रभावित हुने भएकोले नमुना गरुडाको विकासमा नगर प्रमुखलाई साथ दिन पूर्व मन्त्री साहले जनसमुदायलाई आग्रह गरेका छन्।
नवनिर्वाचित नगर प्रमुख कन्थमनिप्रसाद कलवारले चुनावअघि आफूले सार्वजनिक गरेको घोषणापत्र अनुसार सबैसित मिलेर काम गर्ने प्रतिबद्धता जनाउँदै आफ्नो लागि प्रेरणाको स्रोत सदैव जनता र समाजसेवा रहने गरेको बताएका छन्। विकासवादी नेता प्रभु साहको निर्देशन र सर्वसाधारण जनताको सल्लाहबमोजिक आफूले काम गर्ने प्रतिबद्धता जनाउँदै नगर प्रमुख कलवारले मौलापुरको जस्तै गरुडाको नमुना विकास गर्ने सबैको चाहनालाई पूरा गर्न आफूले सबै जननिर्वाचित प्रतिनिधिहरुसित सहकार्य गर्ने बताएका छन्।
प्रकाशित: १२ जेष्ठ २०७९ १२:१७ बिहीबार