४ वैशाख २०८१ मंगलबार
समाज

कार्यालय समयमा भेटिँदैनन् कर्मचारी

सरकारका झन्डै एक तिहाइ कर्मचारीले कार्यालय समय पालना नगरेको पाइएको छ। २१ वटा सरकारी कार्यालयमा राष्ट्रिय सतर्कता केन्द्रले गरेको छड्के अनुगमनमा १ सय ६ कर्मचारीले कार्यालय समय पालना नगरेको र २३ जनाले बिदा स्वीकृत नगराई अनुपस्थित रहेको पाइएको छ। सरकारले यही जेठ १ देखि कार्यालय समय बिहान साढे ९ देखि साँझ साढे ५ बजेसम्म तोकेको छ।

कर्मचारीले कार्यालय समय पालना गरेनगरेको विषयमा केन्द्रले मंगलबार सिंहदरबारबाहिरका २१ वटा सरकारी कार्यालयको अनुगमन गरेको थियो। २१ वटा टोली बनाएर छड्के गरिएको थियो। प्रत्येक छड्के टोलीमा दुई कर्मचारी थिए। केन्द्रका प्रवक्ता ज्ञानराज सुवेदीले छड्के अनुगमनका क्रममा ठुलो संख्यामा कर्मचारीले कार्यालय समय पालना नगरेको पाइएको बताए। तर केन्द्रका एक कर्मचारीका अनुसार छड्के गरिएका कार्यालयमा झन्डै एक तिहाइ कर्मचारीले समय पालना नगरेको पाइएको छ।

केन्द्रले तयार पारेको रिपोर्टमा सहरी विकास तथा भवन निर्माण विभागमा १९, वाणिज्य तथा आपूर्ति संरक्षण विभागमा १०, वैदेशिक रोजगार विभागमा ११, यातायात व्यवस्था कार्यालय एकान्तकुनामा २६, वन तथा भूसंरक्षण विभागमा ५, यातायात व्यवस्था कार्यालय गुर्जुधारामा ३, यातायात व्यवस्था कार्यालय सानो भ¥याङमा ३, काठमाडौं महानगरपालिका १४ नम्बर वडा कार्यालयमा ३ र ३२ नम्बर वडा कार्यालयमा २, नापी विभागमा ७, उद्योग विभागमा ५, कम्पनी रजिस्ट्रारको कार्यालय त्रिपरेश्वरमा ७ जना कर्मचारीले कार्यालय समय पालना नगरेको उल्लेख छ।

छड्केमा कम्पनी रजिस्ट्रारको कार्यालय त्रिपुरेश्वरमा कार्यरत चार कर्मचारीले तोकिएको पोसाक नलगाएको पाइयो। २१ वटा सरकारी कार्यालयमा कार्यरत कर्मचारीमध्ये १३ जनाले पोसाक नलगाएको रिपोर्टमा उल्लेख छ। सरसफाइतर्फ २१ कार्यालयमध्ये धेरैजसोले सामान्य सरसफाइ गरेको पाइएको रिपोर्टमा छ।

केन्द्रले कर्मचारीले ड्रेस कोड पालना गरे/नगरेको, कार्यालय समयमा कार्यालय गए/नगएको, कार्यालय गए पनि कार्यकक्षमा बसे/नबसेको, सेवा प्रवाह, सेवाग्राहीको गुनासो, कार्यालयमा सरसफाइजस्ता विषयमा अनुगमन गरेको थियो।

सरकारले यही जेठ १ देखि कर्मचारीलाई सातामा दुई दिन बिदा दिएपछि सेवाग्राही मर्कामा नपरून् र सरकारी कर्मचारीले साताभरि काम गर्ने समय पहिलेको भन्दा कम नहोस् भनेर कार्यालय समय बिहान साढे ९ देखि अपराह्न साढे ५ बजे तोकेको हो।

तर कार्यालय समय अधिकांश कर्मचारीले पालना नगर्दा सेवाग्राही झन् सास्तीमा परेका छन्। यसअघि बिहान १० देखि साँझ ५ बजेसम्म कार्यालय समय थियो। सरकारले कार्यालय समय बढाएपछि केन्द्रले पहिलोपटक अनुगमन गरेको हो। यस्तो अनुगमन निरन्तर गरिने प्रवक्ता सुवेदीले बताए।

यसअघि केन्द्रले गत वैशाख ८ गते १० वटा सरकारी कार्यालयमा छड्के गरेको थियो। त्यसबेला पनि कर्मचारीले कार्यालय समय पालना नगरेको पाइएको केन्द्रले जनाएको थियो। त्यबेला कार्यालय समय उल्लंघन गर्नेमा सबैभन्दा बढी सिभिल अस्पतालका कर्मचारी थिए। उक्त अस्पतालमा कार्यरत ४ सय १८ कर्मचारीमध्ये १ सय ९४ जनाले कार्यालय समय पालना नगरेको केन्द्रको रिपोर्ट छ।

यसैगरी टोखा नगरपालिकामा कार्यरत २ सय ५ कर्मचारीमध्ये १०, मध्यपुर थिमी नगरपालिकामा कार्यरत २ सय १८ कर्मचारीमध्ये १५, नेपाल गुणस्तर तथा नापतौल कार्यालयमा कार्यरत ७५ कर्मचारीमध्ये १०, वन निगममा कार्यरत ३८ कर्मचारीमध्ये चारजनाले कार्यालय समय पालना गरेका थिएनन्। गंगालाल अस्पतालमा भने अधिकांश कर्मचारीले कार्यालय समय पालना गरेको पाइएको केन्द्रले जनाएको थियो। उक्त अस्पतालमा कार्यरत ४ सय ९५ कर्मचारीमध्ये ५ जनाले मात्र कार्यालय समय पालना नगरेको पाइएको थियो।

प्रकाशित: १२ जेष्ठ २०७९ ००:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App