गत साता शिक्षण अस्पतालमा रामेछापका ७४ वर्षीय समरबहादुर कँडेलको खुट्टाको शल्यक्रिया गरियो। ३४ वर्षदेखि मधुमेहपीडित उनले कुर्कुच्चा चिराचिरा परेपछि डक्टरले शल्यक्रिया गरी कुर्कुच्चा नै फ्याँकेको बताए। मधुमेह भएपछि खुट्टाको बढी हेरचाह गर्नुपर्ने बेलामै थाहा नपाउँदा यस्तो अवस्था आएको कँडेलले बताए। भारतमा कार्यरत उनले त्यतै उपचार गरे। पुनः परीक्षणमा मधुमेह नदेखिएपछि उनले मुख बारेनन्। ६ वर्षअघिको परीक्षणमा फेरि मधुमेह देखियो। अहिले उनको खुट्टा लाटो हुने, चिसो छुँदा मात्र थाहा पाउने, तातोले पोलेको थाहा नपाउने, खुट्टा चिसो हुने समस्या बढेपछि उपचारका लागि अस्पताल आए।
शिक्षण अस्पतालमा नै उपचाररत रसुवाकी ५३ वर्षीया लेखाकुमारी पौडेलको खुट्टा सुन्निएको छ। असामान्य रुपमा सुन्निएपछि एक साताअघि अस्पताल आएकी उनी गाउँमा हिलो–धुलोमा काम गर्नु पर्ने र घाउमा संक्रमणका कारण खुट्टा सुन्निएका छन्। उनलाई पनि खुट्टाको हेरचाहबारे थाहा थिएन। 'प्लास्टिकको चप्पल लगाएर काम गर्दा हिलोमा चोबिन्थ्यो, धोइन्थ्यो। अरु त थाहा छैन,' उनले भनिन्। चिकित्सकका अनुसार मधुमेहका बिरामीले खुट्टामा हिलो पार्नु हुँदैन।
खुट्टामा घाउ भएर उपचार गर्न आउने मधुमेहका बिरामी धेरै छन्। अस्पतालको मेडिकल विभागका अनुसार सातामा ३० जना खुट्टा बिग्रेका बिरामी आउँछन्। यस्ता बिरामी खुट्टाका औंला सुन्निने, औंलाका भाग नष्ट हुने र खुट्टा फुल्ने, कोष/तन्तु नष्ट भएर खुट्टा कालो हुने समस्या लिएर आउँछन्। सातामा ४ सय मधुमेहका बिरामीमध्ये १० प्रतिशतमा खुट्टा बिग्रने समस्या रहेको अस्पतालकी मधुमेह परामर्शदाता पार्वती केसीले बताइन्।
जावलाखेलस्थित अल्का अस्पतालका अनुसार सातामा औसत चार जना खुट्टा बिगे्रका मधुमेहका बिरामी आउँछन्। त्यहाँ महिनामा एक जनाको खुट्टा फाल्नु पर्ने अवस्थाका बिरामी आउने गरेको अस्पतालका डक्टर अंशुमाली जोशीले बताए।
विश्वमा खुट्टाका औंला काट्नु पर्ने बिरामीमध्ये ४०–७० प्रतिशत मधुमेहका कारणले हुने गरेको तथ्यांक छ। चिकित्सकका अनुसार लामो समयदेखि मधुमेहका बिरामी र नियन्त्रण नभएकाहरुको खुट्टामा समस्या आउने गर्छ।
शिक्षण अस्पताल, मेडिकल विभाग प्रमुख डक्टर प्रदिपकृणा श्रेष्ठका अनुसार मधुमेहका बिरामीको रगतमा चिनीको मात्रा बढी हुँदा प्रोटिन नष्ट हुने, कोलस्ट्रोल जम्मा भएर रक्तनली साँघुरिने, चिनीकैै कारण कोष/तन्तु नष्ट हुने रसायन बन्छ। कोलस्ट्रोलले साँघुरिएको रक्तनलीबाट आवश्यक सबै तत्व कोष/तन्तुसम्म नपुग्दा खुट्टाका कोष/तन्तु मर्दै जान्छन्। 'कोष मर्दै गएका भागको रंग कालो हुँदै जान्छ,' श्रेष्ठले भने।
रगतमा चिनीको मात्रा बढी हुँदा स्नायु प्रणालीमा समस्या आउने, खुट्टाका स्नायुले उल्टो चेतना दिने, झम्झमाउने, मिर्गौला तथा आँखामा असर पर्नेलगायत समस्या आउन सक्छन्। कोष मर्दै जान थालेपछि बेलैमा उपचार नभए त्यस्ता भाग काट्नुपर्ने पनि हुनसक्ने डा. जोशीले बताए। 'शरीरमा बढी मात्रामा जम्मा हुने चिनी व्याक्टेरियाको आहारा हुन्छ र त्यस्तो ठाउँमा घाउ फैलन्छ,' उनले भने।
मधुमेहका बिरामीको खुट्टामा स्पर्शचेतना नहुनाले घाउचोट लागेको थाहा नपाएर फैलने सम्भावना हुने डा. जोशी बताउँछन्। डा. श्रेष्ठका अनुसार मधुमेहमा खुट्टा असामान्य सुन्निने, खुट्टाको स्वरुप फेरिने, उपचार गरे पनि घाउ निको नहुनेलगायत समस्या देखिन्छन्।
खुट्टा बिग्रनबाट रोक्न बिरामीले चिनीको मात्रा नियन्त्रणमा राख्नु नै सर्वोत्तम उपाय भएको चिकित्सक बताउँछन्। बिरामीले खुट्टाको हेरचाहमा पनि ध्यान दिए खुट्टै फाल्नुपर्ने जोखिमबाट बच्न सकिने चिकित्सकको सुझाव छ।
मधुमेहका बिरामीले खुट्टामा घाउ हुन नदिन हिलोमा नहिँड्ने, धेरैपल्ट पानीमा खुट्टा नपार्ने, तातो पानीमा नडुबाउने, अग्ला तथा साँघुरा जुत्ता नलगाउने, कसिला मोजा नलगाउने, खाली खुट्टा नहिँड्ने, औंलाको काप सुख्खा राख्ने, मलम–तेल औंलाको कापमा नलगाउने शिक्षण अस्पतालकी मधुमेह परामर्शदाता केसीको सुझाव छ। सर्तकता अपनाए खुट्टामा घाउ नहुने र घाउ भए फैलन नपाउने उनी बताउँछिन्।
हिटर/हटब्याग प्रयोग नगर्ने, खुट्टाको सरसफाइ गर्ने, खुट्टा दोबारेर नबस्ने, धुमपान/मद्यपान नगर्ने, खालीपेट नबस्ने, रक्तचाप नियन्त्रणमा राख्ने, ऐनामा खुट्टा हेरेर घाउ भए नभएको परीक्षण गर्न पनि चिकित्सक सल्लाह दिन्छन्। नियमित व्यायाम गरी खुट्टाका नसा सक्रिय बनाएर खुट्टा स्वस्थ्य राख्न सकिन्छ। खुट्टामा घाउ भइहाले पसलबाट जथाभाबी औषधि किनेर नखाने, आफैं उपचार नगरी अस्पताल जाने र घाउको नियमित सफाइ गर्नुपर्छ।
प्रकाशित: १९ भाद्र २०७२ १९:५२ शनिबार





