१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

बदलिँदो जीवनशैलीले भिटामिन 'डी'को कमी

काठमाडौं- जीउ दुख्छ, हातखुट्टा कटकटी खान्छ र बाउँडिन्छ, थकाइ धेरै लाग्छजस्ता गुनासा गर्ने व्यक्तिमा भिटामिन डी कमी हुन सक्छ। यस्ता लक्षणको उपचार गर्न अस्पताल पुग्ने अधिकांशमा भिटामिन डीको कमी पाइएको छ।

'जिउ दुख्यो भन्दै आउने अधिकांशको परीक्षण गर्दा भिटामिन डीको कमी देखिन्छ,' वीर अस्पतालका डक्टर ध्रुव गैरेले भने। अस्पतालका मेडिकल विभागमा आउनेमध्ये ६० प्रतिशतमा भिटामिन डी कमी देखिने गरेको चिकित्सक गैरेले बताए। विभागमा दैनिक १ सय ५० जना बिरामी आउँछन्।

हाडजोर्नी विभागमा आउने सबै बिरामीको परीक्षणमा सतप्रतिशतमै भिटामिन डीको कमी पाइएको छ। विभाग प्रमुख डा. अशोक बज्राचार्यका अनुसार विभागमा दैनिक २ सय जना आउँछन्। 'लक्षण सुनेपछि परीक्षण गर्न पठाउँछौ, सबैजसोमा भिटामिन डीको कमी भेटिन्छ,' डा. बज्राचार्यले भने। उनीहरूलाई भिटामिन डी दिएपछि निको हुने गरेको उनले बताए।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जको मधुमेह विभागले परीक्षण गरिने धेरै भिटामिन डीको कमी पाइएको जनाएको छ। 'विभागमा आएका ४० प्रतिशतमा भिटामिन डीको कमी देखिन्छ,' विभाग प्रमुख चिकित्सक प्रदिपकृष्ण श्रेष्ठले भने।

नयाँ बानेश्वरस्थित सिभिल अस्पताल हाडजोर्नी विभागका अनुसार परीक्षण गरेकामध्ये ९० प्रतिशतमा भिटामिन डीको कमी पाइएको छ। अस्पतालमा दैनिक ८० देखि ९० जना उपचारका लागि आउँछन्।

नेपालको कति जनसंख्यामा भिटामिन डीको कमी छबारे अहिलेसम्म अध्ययन नभएकोले यकिन तथ्यांक छैन। तर १० वर्षअघि भारतमा यसबारे अध्ययन भएपछि भने नेपालमा पनि खोजी हुन थालेको चिकित्सक बताउँछन्।

नेपालमा पाँच वर्षयता भिटामिन डी परीक्षण सुरु भएपछि यसबारे थाहा हुन थालेको वीरका हाडजोर्नी रोग विशेषज्ञ बज्राचार्यले बताए। चिकित्सकका अनुसार नेपालमा बदलिँदो जीवनशैलीले यो समस्या बढ्दो छ। घाम नपर्ने ठाउँमा काम गर्नु र असन्तुलित भोजनका कारण सर्वसाधारणमा भिटामिन डीको कमी बढेको हो। 'बस्दा घरभित्र, हिँड्दा गाडीमा, काम पनि घाम नलाग्ने ठाउँमा,' डा. बज्राचार्यले भने।

चिकित्सकका अनुसार भिटामिन डीको कमी भए मांसपेशी दुख्ने, हड्डी कमजोर हुने, हातखुट्टा झम्झमाउने, छिट्टै थकाइ लाग्ने, हड्डी बांगो हुनेजस्ता लक्षण देखिन्छन्। लामो समय शरीरमा भिटामिन डी कमी हुँदा शरीरका हाडले क्याल्सियमसमेत सोस्न नसकी कमजोर हुन जान्छ। बालबालिकामा भिटामिन डी कमी भए खुट्टा बाँगिने, उचाइ नबढ्ने हुन्छ।

लामो समय शरीरले भिटामिन डी नपाए कोलस्ट्रोल, रक्तचाप बढ्ने, नसा तथा मुटुसम्बन्धि रोग लाग्ने, पक्षाघात हुने, छाति तथा पिसाब संक्रमण हुनेजस्ता जोखिम हुने डा. गैरेले बताए। 'कतिपयमा डिप्रेसन पनि देखिन्छ,' उनले भने। भिटामिन डीको कमीले स्मरण शक्ति कमजोर हुने, मधुमेह, एलर्जी हुने र पुरुषमा नपुसंकतासमेत देखिन सक्ने डा. गैरे बताउँछन्।

चिकित्सकका अनुसार कतिपय औषधि सेवनको कारणले पनि शरीरमा भिटामिन डीको कमी हुन्छ। छारे रोग, एचआइभी एड्स, मिर्गौलाका बिरामीले सेवन गर्ने औषधीका कारण पनि शरीरमा भिटामिन डीको कमी हुनसक्छ। सामान्यतया ७० वर्षपछि मात्र शरीरमा भिटामिन डीको कमी हुने भए पनि नेपालमा भने सबै उमेर समूहमा देखिएको छ।

युरोपमा १६ औं शताब्दीमा यसबारे पत्ता लागेपछि युरोपेली देशले भोजनमै भिटामिन डी मिसाएर पूर्ति गर्दै आएका छन्। भिटामिन डी क्याप्सुल प्रयोग गर्ने र अन्य उपायबाट आवश्यक मात्रामा लिए समस्या न्यून गर्न सकिन्छ।

बिहान ९–१२ बजेभित्र थोरै लुगा लगाएर घाम ताप्ने, सन्तुलित तथा प्राकृतिक खाना खाने, सनब्लक क्रिम प्लस १५ भन्दा कमको प्रयोग गर्ने, माछा, अन्डा, मासु तथा दूधजन्य परिकार जस्तै चिज, पनिर, दही, दूध खाने, बोक्रा भएका तरकारीहरु बोडी, केराउ खाने, च्याऊ र सुन्तला खाने, फ्याटसहितक खानेकुरा बदाम, देशी बदाम, चना, मुँगको दाल, बँगुरको मासु उपयोग गरे भिटामिन डी पूर्ति हुने चिकित्सक सुझाव दिन्छन्। नियमित १५ मिनेट घाममा बस्नाले र सन्तुलित भोजन गर्नाले भिटामिन डीको कमीबाट बच्न सकिने चिकित्सकको सुझाव छ।


प्रकाशित: १५ भाद्र २०७२ ०२:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App