१४ श्रावण २०८३ बिहीबार
image/svg+xml
समाज

असिनापानीपछि गुराँसको मर्केका ८२ घरधुरी अन्धकार

दैलेखको गुराँस गाउँपालिका–७ मर्केमा हप्तादिनअघि परेको असिनापानीले स्थानीय जनजीवन अस्तव्यस्त बनेको छ। असिनापानीपछि विद्युत लाइनमा क्षति पुग्दा गाउँका ८२ घरधुरी अन्धकारमा परेका हुन्।  

त्यस्तै असिनापानीले मर्के गाउँ जोड्ने सडक अवरुद्ध हुँदा स्थानीयलाई दैनिक आवतजावतमा सास्ती खेप्नुपरेको छ। धरमपोखरा–कुन्टाडा–मर्के–हर्नेटा हुँदै माथिल्लो डुंगेश्वर जोड्ने सडक खण्ड अवरुद्ध भएपछि गाउँ नै बाहिरी सम्पर्कबाट प्रभावित बनेको स्थानीयले बताएका छन्। सडक बन्द भएसँगै बिरामी लगायत अत्यावश्यक कामका लागि समेत स्थानीयहरू घण्टौँ पैदल यात्रा गर्न बाध्य छन्।

स्थानीय दीपक विसीका अनुसार गाउँपालिका र वडा कार्यालयलाई पटक–पटक जानकारी गराउँदा पनि बजेट अभाव देखाउँदै तत्काल कुनै पहल गरिएको छैन। ‘दशैंपछि मात्रै सडक बन्ने भनेर जवाफ आयो,’ उनले भने, 'बत्ती नभएपछि मोबाइल चार्ज गर्नसमेत समस्या भएको छ। सोलार नभएका घरधुरीका मानिसहरू ३ घण्टा टाढा धरमपोखरा पुगेर मोबाइल चार्ज गर्न बाध्य छन्।’

विद्युत् सेवा बन्द भएपछि गाउँमा रात बिताउन कठिन भएको स्थानीय बताउँछन्। बालबालिकाको पढाइ, सञ्चार सम्पर्क तथा दैनिक कामकाजसमेत प्रभावित बनेको छ।

स्थानीय श्यामबहादुर विसीका अनुसार सडक अवरुद्ध भएपछि मर्केका बासिन्दा तीन घण्टासम्म पैदल हिँडेर गुराँसको धरमपोखरा वा डुंगेश्वरको बाँसखर्क पुग्न बाध्य छन्। ‘पालिकाका अध्यक्ष र उपाध्यक्षलाई खबर गर्दा पनि गाउँको समस्यामा कुनै सुनुवाइ भएको छैन,’ उनले दुखेसो पोखे।

वर्षासँगै प्राकृतिक विपद्ले दुर्गम बस्तीका नागरिकलाई थप पीडा दिएको भन्दै स्थानीयले तत्काल विद्युत मर्मत र सडक सञ्चालनको माग गरेका छन्।

प्रकाशित: १ जेष्ठ २०८३ १३:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App