८ वैशाख २०८१ शनिबार
समाज

एकै पटक चार स्थानमा मतगणना गर्ने तयारी

कमलामाई नगरपालिका १० स्थित प्रा.वि गौरङटोल चौतारोमा मतदानका लागि तयार गरिएको मतदान केन्द्र।

सिन्धुलीमा चार स्थानमा मतगणना गर्ने गरी तयारी गरिएको छ। कमलामाई नगरपालिकास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयभित्र एकैपटक चार स्थानमा मतगणना गर्ने गरी तयारी गरिएको हो।

यहाँको बागबानी कृषि फार्मभित्रको सभाहलमा तारजालीसहित सिसी क्यामेरा जडान गरेर मतगणनाका साथै जिल्लाभर मतदानका लागि तयारी पूरा गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत हिरालाल भण्डारीले बताए।

'हामीले एकपटकमा चार स्थानमा मतगणना गर्ने गरी तयारी गर्दैछौ, अन्य तयारी पूरा भएको छ, उनले भने, 'सबै बुथमा मतदान अधिकृतसहित सबै कर्मचारी पुगेर तयारी पूरा गरिसक्नुभएको छ।' बुथमा खटिएका कर्मचारीले बुथ निर्माणसहित मतदानका लागि तयारी पूरा गरेको जनाएका छन्।

'हामीले पूर्ण रुपमा तयारी गरिसकेका छौ, बुथनिर्माणसहित मतदानका लागि तयारी अन्तिम चरणमा राखिएको छ, कमलामाई नगरपालिका १० स्थित प्रा.वि गौरङटोल चौतारोका मतदान अधिकृत दुर्गा घिमिरेले भने, मतदानका लागि सबै तयारी पुरा गरेका छौं।' मतदान केन्द्रमा सुरक्षासहित सबै तयारी पूरा भएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जनाएको छ।

निर्वाचनका लागि जिल्लाभर दुई हजारभन्दा बढी सुरक्षाकर्मी परिचालित भएको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले बताए। मतदान केन्द्रको सुरक्षाका लागि जिल्लामा नेपाल प्रहरी सशस्त्र प्रहरी, नेपाली सेना म्यादी प्रहरीसहित सुरक्षा निकायहरुले सुरक्षा दिने गरी तयारी भएको प्रजिअ न्यौपानेले जनाए।

परिस्थिति अनुसार सुरक्षाकर्मीहरु परिचालित हुन्छन्, प्रमुख जिल्ला अधिकारी न्यौपानेले नागरिकसँग भने, 'निर्वाचनका लागि हामीले तयारी पूरा गरिसकेका छौं।' उनका अनुसार मतदान केन्द्र भित्र मोबाइल क्यामेरा बन्देज गरिएको छ। मतदानस्थलमा कर्मचारी र सम्बन्धित मतदाता बाहेक अन्यलाई प्रवेश निषेध गरिएको प्रजिअ न्यौपानेको भनाइ छ।

वैशाख ३० गते शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि जिल्लाभर रहेका दुई सय अठसठ्ठी ओटा मतदान केन्द्रमा खटिएका कर्मचारीहरुले बुथ निर्माण गर्नुका साथै सर्वदलिय बैठक गर्ने र परिचयपत्र वितरण गर्ने कार्य गरिरहेका छन्। दुई नगरपालिका र सात गाउँपालिका रहेको सिन्धुली जिल्लामा दुई लाख ६ हजार तीन सय ३६ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय सिन्धुलीले जनाएको छ।

प्रकाशित: २९ वैशाख २०७९ १०:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App