१७ असार २०८१ सोमबार
image/svg+xml
समाज

चितवनका सात पालिकामा मतगणनास्थल सुरक्षित बनाइयो

चितवनका सात वटै पालिका तहमा मतगणनास्थललाई सुरक्षित बनाइएको छ। मतगणनास्थलमा फलामको बारसहित जाली, सिसी क्यामेरा जडान लगायतका प्रविधि जडान गरिएको जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख भिमसेन कार्कीले जानकारी दिए।

‘मतपत्र सुरक्षा गर्न आवश्यक सुरक्षा व्यवस्था बनाइएको छ। भरतपुर महानगरपालिकासहित सबै तहमा सिसी क्यामेरासहित जाली जगाइएको छ’, उनले भने, ‘यसपटक मतपत्र च्यात्न दिइने छैन।’ भरतपुर महानगरमा चितवन उद्योग संघ प्रर्दशनी केन्द्रको ब्लक सी, माडीको माडी क्याम्पसको पहिलो तला, रत्ननगरमा नगरपालिकाको दोस्रो तला, खैरहनीमा खैरहनी मावि, कालिकामा नगरपालिका भवन नजिकैको आमा सञ्जालको भवन, राप्तीमा भण्डारा मावि, इच्छाकामनामा गाउँपालिकाको भवनमा गणनास्थल तोकिएको छ।

भरतपुर महानगरको मतगणनास्थल रहेको भरतपुर–१० स्थित प्रर्दशनी केन्द्रको सी ब्लकमा फलामसहितको जाली र सिसीटिभि जना भैसकेको छ। ‘मतपत्रको सुरक्षा र मतगणनालाई निष्पक्ष बनाउन हामी संवेदनशील तरिकाबाट लागेका छौं,’ मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरका प्रवत्ता पुरुषोत्तम पौड्यालले भने, ‘मतगणनास्थलमा सिसीटिभी जडान र फलामको तारसहित जालि लगाइएको छ।’  ८ वटा सिसी क्यामेरा जडान भैसकेका छन्।

कार्यालयले ‘ए’ र ‘बी’ ब्लकलाई सिलबन्दी गरेर ‘सी’ ब्लकमा गणना गर्न लागेको हो। बढीमा सात ठाउँबाट गणना गर्ने गरी काम अगाडि बढेको उनले बताए। सुरुवाती चरणमा एक ठाउँबाटै मतगणना गर्ने र पछि विस्तार गरिने उनको भनाइ छ। ‘सी’ र ‘बी’ ब्लकको बीच भागमा मतपेटिका राख्ने व्यवस्था गरिएको छ। मतगणनास्थलमा निर्वाचन अयोगले पनि सिसीटिभी जडान गर्न पत्रचार गरेको थियो।

उनका अनुसार मतगणनास्थलमा आवश्यक सबै सुरक्षाका उपायहरु अपनाइने बताए। २९ वडा रहेको महानगरमा १ लाख ८५ हजार ७ सय ५२ मतदाता छन्। निर्वाचन अधिकृतको कार्यालय माडीका निर्वाचन अधिकृत चुडामणी शर्मा गौतमले माडी क्याम्पसको पहिलो तलामा सुरक्षित बनाइएको बताए। मतगणनास्थलमा १२ वटासम्म सिसी क्यामेरा जडान गरिएको छ।

हरेक मतगणनास्थलमा सीसी क्यामेरामार्फत निगरानी गर्ने व्यवस्था गरिएको छ। अघिल्लो स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिका वडा नम्बर १९ को मतगणना हुँदै गर्दा नेकपा (माओवादी केन्द्र)का प्रतिनिधिले मतपत्रै च्यातेका थिए। जेठ १४ गते मध्यरातमा भएको घटनापछि सो वडामा पुनः मतदान भएको थियो।

सोही घटनाबाट पाठ सिक्दै चितवनका पालिकाको  मतगणनास्थलमा तारजालीसहित सिसीटिभी जडान गरिएको हो। अहिले देशका आधिकांश स्थलमा जालीसहित सिसीटिभीको व्यवस्था गरिएको हो। मतगणनास्थलमा अकस्मात् बिजुली गएको खण्डमा स्वचालित जेनेरेटरको समेत व्यवस्था गरिएको छ। जिल्लाभर ३ लाख ९७ हजार ६८५ मतदाता छन्।

प्रकाशित: २९ वैशाख २०७९ ०६:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App