१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

मल बीउ दिनेलाई भोट दिन्छौंः मतदाता

मोरङको धनपालथानस्थित नोचा गाउँ।

मोरङ धनपालथान १ का काँसीनाथ योगी हरेक वर्ष बालि लगाउने सिजनमा मल र बीउ नपाएर हैरान भएको बताउँछन्। निर्वाचनका बेला नेताहरूले जनताका समस्या समाधान गर्ने बताए पनि जितेर गएपछि काम नगरेको उनको गुनासो छ।

नेताहरूले मात्रै नभइ सरकारलेसमेत किसानलाई ढाँट्ने गरेको उनको गुनासो छ। गत कात्तिकमा बेमौसमी वर्षासँगै आएको बाढीले धनपालथानका किसानको धान बालि डुबानमा पारेर ठूलो नोक्सानी पुर्‍याएको उनले बताए। कतिपय किसानको भात खाने धानसमेत नराखि बाढीले नोक्सान गर्‍यो।

सरकारले किसानलाई क्षतिपूर्ति दिने भनेर घोषणा गर्‍यो। तर, अझैसम्म आफूहरूले क्षतिपूर्तिको त के कुरा राहतसमेत नपाएको उनको गुनासो छ। योगीले भने ‘राहात दिने भनेको सरकारले खै राहत दिएको।’ योगीले यो पटकको निर्वाचनमा आफूहरू बीउ र मल उपलब्ध गराउन सक्ने उमेदवारलाई नै भोट दिने सोचमा रहेको बताए।

उनले भने ‘किसानलाई बीउ र मल जसले दिने विश्वास दिलाउन सक्छ उसैले भोट पाउँछ।’ योगी मात्रै हैन मोरङ जहदाकी जल्पीदेवी मुखिया पनि किसानको समस्या समाधान गर्ने उमेदवारलाई नै भोट दिने बताउँछिन्। उनका अनुसार जहदाका किसानलाई समयमा मल, बीउ र सिंचाईको आवश्यकता छ।

बालि लगाउने बेला हरेक वर्ष यहाँका किसानले मल र बीउका लागि सीमावर्ती भारतीय बजारमा निर्भर हुनुपरेको उनले बताइन्। नेपालको कृषि समाग्री कम्पनीले मल नदिने, दिइहाले पनि चाहिने जति नदिने भएकाले मलका लागि सीमावर्ती भारतीय बजारमै निर्भर हुनुपरेको उनको भनाइ छ।

उनले भनिन् ‘जहिलै मल र बीउ किन्न पारि नै जानुपर्छ।’ विशेष गरी धान र मकैको बीउका लागि भारतीय बजारमै निर्भर हुनुपरेको किसानको गुनासो छ। यता किसानले बीउमल र सिंचाईको समस्या समाधान गर्नेलाई भोट दिने मानस्थिति बुझेका यसक्षेत्रका उम्मेदवारहरूले पनि किसानको समस्या समाधान गर्ने एजेण्डा अघि सारेका छन्।

यस क्षेत्रका मुख्य दलहरू नेपाली कांग्रेस, जनता समाजवादी, नेकपा एमाले र माओवादी केन्द्रका उमेदवारहरूले मल, बीउ, स्यालो टुवेल र कृषि उपकरण उपलब्ध गराउने बाचा गर्दै मतदाता फकाइरहेका छन्। किसानका समस्यालाई आफूले प्राथमिकतामा राखेको मोरङ जहँदा गाउँपालिकाका अध्यक्षका उम्मेदवार जितेन्द्रप्रसाद साहले बताए।

जहँदा गाउँपालिकाका अधिकांश मतदाता किसान भएकाले आफूले किसानका समस्या समाधानलाई पहिलो प्राथमिकतामा राखेको उनले  बताए। उनले आफू गाउँपालिका अध्यक्षमा विजयी भए किसानलाई समयमै  मल, बीउ उपलब्ध गराउने बताउँछन्। गाउँपालिकामार्फत् प्रदेश सरकार र संघीय सरकारसँग पहल गरेर किसानलाई सिंचाई र कृषियन्त्र पनि उपलब्ध गराउने उनले बताए।

कृषिसँगै जहँदा गाउँपालिकामा गुणस्तरीय शिक्षा र सुलभ स्वास्थ्य उपचारको पनि आवश्यकता रहेकाले मुख्यतया कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रको समस्या समाधानमा आफू केन्द्रित हुने उनले बताए। साहले भने ‘मेरो पहिलो प्राथमिकता नै किसानलाई मल, बीउ, सिंचाई र कृषि उपकरण उपलब्ध गराउने हो। अरु प्राथमिकतामा शिक्षा र स्वास्थ्य लाई राखेको छु।’

जनता समाजवादी पार्टीबाट धनपालथान वडा नम्बर १ का अध्यक्षका उम्मेदवार जनकलाल चौधरीले कृषकका समस्या समाधानका लागि प्रतिबद्ध रहेको बताए। उनले धनपालथानमा किसानलाई समयमै मल, बीउ उपलब्ध गराउने आफ्नो पार्टीको प्राथमिकता रहेको स्पष्ट पारे।

शिक्षा, स्वास्थ्य र कृषिका समस्या धनपालथानमा रहेकाले यी समस्या समाधानका लागि आफू प्रतिबद्ध रहेको नेपाली कांग्रेसका मोरङ धनपालथान १ का वडा अध्यक्षका उमेदवार मुवारक मियाले बताए। मोरङमा बालि लगाउने सिजनमा किसानले मल र बीउको समस्या वषौंदेखि भोग्दै आएका छन्। 

निर्वाचनमा किसानले समस्या राख्ने र उमेदवारले समस्या समाधान गर्ने  प्रतिबद्धता जनाए पनि व्यवहारमा भने कार्यान्वयन नहुँदा किसान निराश हुने गरेका छन्।

प्रकाशित: २३ वैशाख २०७९ १२:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App