२२ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

जलवायु संकटले अर्को महामारीको खतरा

आगामी ५० वर्षमा एक जनावरबाट अर्काेमा भाइरस सर्ने प्रक्रियामा तीव्रता आउने र यसले कोभिड–१९ जस्तै महामारी निम्त्याउन सक्ने एक अध्ययनले देखाएको छ।

अध्ययनले १५ हजार थरीका भाइरस यसरी सर्न सक्ने र यसका लागि विद्यमान जलवायु संकटले सहयोगी भूमिका खेल्ने देखाएको हो। यसले मानव र अन्य जीवजन्तुमा रोगको तीव्र प्रसारण हुन गई विनाशकारी महामारीको जोखिम बढ्ने अनुसन्धानकर्ताको ठम्याइ छ।

वैज्ञानिक जर्नल नेचरमा गत बिहीबार प्रकाशित अध्ययन नतिजाका अनुसार आगामी दशकहरूमा पृथ्वीको तापमान मात्र होइन, रोगहरू पनि उत्तिकै बढ्ने देखिएको छ।

पृथ्वीको तापमान बढ्दै जाँदा बासस्थानका लागि कतिपय जीवजन्तुले नयाँ र उपयुक्त स्थान खोजी गर्ने र यस क्रममा उनीहरूले परजीवी र रोगजनक किटाणु आफूसँगै ल्याउने हुँदा विभिन्न जीवजन्तुबीच भाइरस प्रवाह हुने देखिएको हो। यसले एक जनावरवाट अर्काे जनावरमा भाइरस सर्ने र अन्ततः मानिसमा समेत भाइरस सरेर कोभिड–१९ अनुपातको महामारी आउन सक्ने चेतावनी अनुसन्धानकर्ताको छ।

‘जसरी विश्व परिवर्तन हुँदैछ, रोगको प्रकृति पनि परिवर्तन हुँदैछ,’ उक्त अध्ययनका सहलेखक जर्जटाउन विश्वविद्यालयका रोगको परिस्थिति विज्ञान (डिजिज इकोलोजी) विज्ञ जर्ज अल्बरीले भने। उनले जलवायु परिवर्तनले पृथ्वीको पारिस्थितिकीय प्रणालीको मुटु नै हल्लिएको र यही कारणले विभिन्न जीवजन्तुबीच यसअघि नभएको सम्पर्क हुन गई भाइरस प्रसारणमा सहयोग पुगेको बताए। पृथ्वीको तापमान वृद्धि रोक्न कडा कदम चाले पनि त्यो भाइरस प्रसारणको जोखिमलाई रोक्न पर्याप्त नहुने तर्क उनको छ। ‘जलवायु परिवर्तनको सबैभन्दा राम्रो परिदृश्यमा समेत भाइरस प्रसारण रोकिन सक्ने देखिएको छैन। हामीले जनावरबाट मानिसमा भाइरस सर्न सक्ने सम्भावनालाई रोक्न सक्ने स्वास्थ्य संरचना तत्काल निर्माण गर्न आवश्यक छ,’ उनले थपे।

अनुसन्धानले अन्य जंगली जीवजन्तुबाट मानिसमा सर्न सक्ने १० हजारभन्दा बढी थरीका भाइरस शान्त हिसाबले प्रसारण भइरहेको देखाएको छ।

कृषि प्रयोजनका लागि प्राकृतिक वातावरणको विनाश तथा सहरको तीव्र विस्तारले मानिसहरू संक्रमित जीवजन्तुको सम्पर्कमा आएको अनुसन्धानकर्ताको राय छ। यो समग्र प्रक्रियामा जलवायु परिवर्तनले सहयोग पुर्‍याउने देखिएको छ।

सन् २०७० सम्म जलवायु र भूमिको प्रयोगमा हुने परिवर्तनका कारण ३ हजार १३९ स्तनधारी जनावरले आफ्नो थातथलो छाड्न सक्ने र पृथ्वीको तापमानमा सामान्य वृद्धि हुँदा समेत यो अवधिमा भाइरसका १५ हजारभन्दा बढी प्रजातिका भाइरस जीवजन्तुमा प्रसारण हुन सक्ने अध्ययनको आकलन छ।

लामो दूरीको यात्रा गर्न सक्ने भएको यस प्रकारको रोगको प्रसारणमा चमेराको सबैभन्दा ठूलो भूमिका हुन सक्ने देखिएको छ। चीनको वुहानमा एक संक्रमित चमेराका कारण कोभिड–१९ को उत्पत्ति भएको कतिपयको तर्क छ। केही अध्ययनले चमेरामा ३२ सय कोरोना भाइरसको स्ट्रेन रहेको देखाएका छन्।

अध्ययनअनुसार हाल जलवायु परिवर्तनजन्य रोगको प्रसारण सुरु भइसकेको छ र यो शताब्दीको अन्त्यसम्म पृथ्वीको तापमान वृद्धिलाई २ डिग्रीमा सीमित राखे पनि यसले भाइरसको प्रसारणमा कमी नआउने देखिएको छ।

एसिया तथा अफ्रिकाका उच्च भूभागमा यो जोखिम सबैभन्दा बढी रहेको र कमजोर अनुगमन प्रणाली हुँदा भाइरस प्रसारणको जोखिम झन् अधिक रहेको पाइएको छ। ‘जलवायु परिवर्तनका कारण पारिस्थितिकीय प्रणालीभित्र अहिलेसम्म नदेखिएका तर ठूलो स्तरका परिवर्तन भइरहेका छन्।

अध्ययनमा सहभागी नभएका अन्य वैज्ञानिकले पनि यो अध्ययनले भविष्यमा आउन सक्ने महामारी रोक्न विश्वको तत्काल ध्यान जानुपर्ने र विश्वले जलवायु परिवर्तनका लागि कारक मानिएको खनिज इन्धनको प्रयोग विस्थापन गर्नुपर्ने देखाएको बताएका छन्। ‘यो अध्ययन नतिजाले महामारी रोक्न खोप, औषधि र रोगको परीक्षणमात्र पर्याप्त नभएको र यसका लागि वन्यजन्तुको व्यापार नियन्त्रण तथा पशुपालनमा बायो–सेक्युरिटी आवश्यक रहेको देखाएको छ,’ हार्भर्ड विश्वविद्यालयअन्तर्गतको जलवायु, स्वास्थ्य तथा ग्लोबल इन्भारोमेन्ट सेन्टरका निर्देशक आरोन वर्नस्टेन भन्छन्।

यसैगरी महामारी रोकथामको क्षेत्रमा कार्यरत गैरसरकारी संस्था इकोएलायन्सका अध्यक्ष पिटर डास्चक सम्भावित महामारी रोक्न विश्व गम्भीर हुनुपर्ने तर्क गर्छन्। ‘भाइरस र रोगको प्रसारण प्रक्रिया भित्रभित्रै सुरु भइसकेको हुँदा जनस्वास्थ्यका लागि यो गम्भीर चुनौती हो,’ उनी थप्छन्, ‘अध्ययनले जलवायु परिवर्तनका कारण हामीले  चुकाउनुपर्ने मूल्यलाई उजागर गरेको छ। यसले वन्यजन्तु र मानिसको भविष्य सुखद देखिन्न।’ (गार्जियन)

प्रकाशित: १९ वैशाख २०७९ ००:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App