६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

विमानको शौचालयमा दुई किलो सुन, सफाइ कर्मचारी सहित पाँच जना पक्राउ

दुबईबाट आएको हिमालयन एयरलाइन्सको एक जहाज बिहीबार दिउँसो ३ बजेतिर त्रिभुवन विमानस्थलमा अवतरण भयो। यात्रु निस्किने क्रमसँगै विमानस्थलका सफाइ कर्मचारीले फोहोर निकाले।

सो कार्यमा पाँचथर याङवरक गाउँपालिका–४ का २८ वर्षीय भीमकुमार माबो संलग्न थिए। उनले विमानको शौचालयबाट फोहोरसँगै २० वटा सुनका बिस्कुट पनि निकाले। उनले ती सुनका बिस्कुट फोहोर जम्मा पार्ने ठाउँमा पुर्‍याएसँगै कार्यरत साथी नुवाकोट तादी गाउँपालिका–५ का २७ वर्षीय सुमन तामाङलाई आधा दिए।

दुवै जनाले त्यो सुनलाई आआफ्नो पर्समा राखेर लुकाउँदै विमानस्थलको गेटबाहिर ल्याउने कोसिस गरेका थिए। सोही क्रममा ‘स्क्रिनिङ मेसिन’ ले शंकास्पद संकेत गर्‍यो। त्यसपछि प्रहरीले जाँच गर्दा उनीहरूसँग सुन फेला परेको महानगरीय प्रहरी विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार दुवै जनासँग १०–१० वटा सुनका बिस्कुट फेला परेका थिए। सुनका ती बिस्कुटको तौल २ हजार तीनसय ३२ ग्राम (२ किलो ३३२ ग्राम) छ। त्यसपछि सफाइ कर्मचारी दुवै जनालाई प्रहरीले पक्राउ गर्‍यो। सोधपुछ गर्दा सुन ल्याउने काममा थप तीन जना संलग्न रहेको पाइएको विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) हिमालयकुमार श्रेष्ठले जानकारी दिए।

उनीहरूको बयानबाट यस कार्यमा उदयपुर लिम्चुङबुङ गाउँपालिका–२ का २८ वर्षीय राजेश राई, दोलखा गौरीशंकर गाउँपालिका–२ का ४१ वर्षीय हेमबहादुर थापा र सप्तरी सुरूंगा नगरपालिका–४ का ३६ वर्षीय ताराकान्त चौधरीको पनि संलग्नता रहेको पाइयो। बयानका आधारमा यी तीन जनालाई पनि पक्राउ गरिएको एसपी श्रेष्ठले जानकारी दिए।

‘विमानको शौचालयमा लुकाएर ल्याइएको रहेछ। त्यसमा सफाइ कर्मचारीहरूको पनि मिलेमतो देखिन्छ,’ उनले भने, ‘हामीले तत्काल भेटेपछि पक्राउ गर्‍यौं। पाँच जनालाई पक्राउ गरेर त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाएका छौं।’ बरामद सुन पनि प्रहरीले थप अनुसन्धान र कारबाहीको लागि भन्सार कार्यालयमा बुझाएको छ।

प्रहरीका अनुसार पक्राउ परेका थप तीनजना भने सफाइ कर्मचारी होइनन्। उनीहरूमध्ये थापा ट्याक्सी चालक हुन भने, चौधरी सुनगाभा सप्लायर्स एण्ड सरसफाइ प्रालिका सुपरभाइजर हुन्। सफाइ कर्मचारीले विमानको शौचालयबाट सुनलाई विमानस्थलबाहिर पुर्‍याउने र राई, थापा र चौधरीलेले बुझेर सम्बन्धित ठाउँमा पुर्‍याउने गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको एसपी श्रेष्ठले बताए।

उनले भने, ‘ती तीन जनाले सुन बाहिरसम्म ल्याउन सफाई कर्मचारीलाई प्रयोग गरेका रहेछन्।’ प्रारम्भिक अनुसन्धान गर्दा उनीहरू अर्कैका लागि काम गर्ने नेटवर्कका सदस्य देखिएको एसपी श्रेष्ठको बुझाइ छ। ‘अरूका लागि काम गर्ने बिचौलिया जस्ता छन्। मुख्य कारोबारी को हो  भन्ने अनुसन्धानले देखाउँला,’ उनले भने।

विमानस्थलमा खटिएका सफाइ कर्मचारी नेपाल एयरलाइन्सले खटाएका हुन। उनीहरूलाई एयरलाइन्सले जनशक्ति उपलब्ध गराउने एजेन्सी मार्फत सेवामा लिने गरेको छ। 

प्रकाशित: १७ वैशाख २०७९ ०६:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App