१६ चैत्र २०८० शुक्रबार
समाज

निर्वाचनमा ७० किसिमका सामग्री प्रयोग हुने

सियो, धागो, सलाईदेखि यो पटक माक्स र सेनिटाइजरसम्म

तस्बिरहरुः ध्रुव/नागरिक

वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा ७० किसिमका सामग्री प्रयोगमा आउने भएका छन्। कोरोना कहरपछि हुन लागेको यो चुनावको सामग्रीमा मास्क र सेनिटाइजर थपिएका छन्।

निर्वाचन आयोगले चुनावमा प्रयोग हुनेमध्ये ५५ किसिमका सामग्री केन्द्रबाटै जिल्ला–जिल्लामा पठाएको छ। बाँकी १५ किसिमका सामग्री भने सम्बन्धित जिल्ला निर्वाचन कार्यालयले व्यवस्थापन गर्नुपर्ने आयोगले जनाएको छ। ‘आयोगले यो निर्वाचनमा ५८ प्रकारका ७० थरी सामग्री प्रयोगमा ल्याउँदै छ,’ सिन्धुपाल्चोकका जिल्ला निर्वाचन अधिकारी विकास शर्मा रिजालले भने।

उनका अनुसार ती चुनावी सामग्री मतदान केन्द्रदेखि मतगणनासम्म प्रयोगमा आउँछन्। धेरै मतदान केन्द्रमा र केही सामग्री मतगणनामा प्रयोग हुन्छन्। आयोगको सूचीमा समान्यभन्दा सामान्यदेखि महत्वपूर्ण सामग्री छन्। सलाई, सियो, धागो, कोरा कपडाका थैला, डोरी, कालो र रातो रंगका कलम, पिन, एस्टाब्लर, पञ्चिङ मेसिन, लाहा, रबर र पित्तलको स्वस्तिक छाप, रंगिन र श्यामस्वेत फोटासहितको मतदाता नामावली, मतपेटिका छेकबार, नेपाली कागज, फोटोकपी पेपर चुनावमा प्रयोगमा आउने सामान्य सामग्री हुन्।

भित्र, बाहिर, महिला, पुरुष, मतदाता क्रम संख्या संकेत गर्ने प्लेकार्ड, परिचयपत्र आयोगतले नै पठाएको छ। उम्मेदवार, कर्मचारी, दलका प्रतिनिधि लगायतका लागि पाँच किसिमका परिचयपत्रको व्यवस्था आयोगले गरेको छ। मतपत्र, मतपेटिका महत्वपूर्ण चुनावी सामग्री हुन्। अत्यावश्यक औषधिले भरिएको प्राथमिक उपचार बाक्सा पनि चुनावी सामग्रीमा समेटिएका छन्। सदरमुकाम रहेका स्थानीय तहबाहेकका सबै मतदान केन्द्रमा यो बाक्सा पठाइन्छ।

यो चुनावमा ४६ किसिमका अनुसूची फारम प्रयोगमा ल्याइँदै छ। फारम भने चुनावी सामग्री सूचीमा समेटिएको छैन। सम्बन्धित केन्द्रमा सहजै पुर्‍याउन चुनावी सामग्री धमाधम जिल्ला निर्वाचन कार्यालयमा प्याकिङ गर्ने काम भइरहेको छ। मतदान केन्द्र कर्मचारीले बुझेर ती सामग्री गाउँ पुर्‍याउने छन्। छिटपुट कोरोना संक्रमिट भेटिइरहेकाले सावधानी अपनाउँदै आयोगले यो पटक मास्क र सेनिटाइजरसमेत चुनावी सामग्री अन्तर्गत पठाएको निर्वाचन अधिकारी रिजालले जानकारी दिए। उनका अनुसार मास्क र सेनिटाइजर सबै मतदाता, उम्मेदवार, दलका प्रतिनिधि, पर्यवेक्षक, चुनावी कर्मचारी र सुरक्षाकर्मीलाई वितरण गरी अनिवार्य प्रयोग गर्न लगाइने छ।

प्रकाशित: १५ वैशाख २०७९ १३:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App