१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सर्लाही र रौतहटमा १८६ मतदानस्थल अति संवेदनशील

सर्लाही र रौतहट जिल्लामा गरी १८६ मतदानस्थल अति संवेदनशील रहेको देखिएको छ। सर्लाहीमा १०३ र रौतहटमा ८३ गरी दुवै जिल्लामा १८६ मतदानस्थल अति संवेदनशील भएको सम्बन्धित निकायको निष्कर्ष रहेको छ।  

भारतसित सिमाना जोडिएका दुवै जिल्लामा अति संवेदनशील मतदानस्थलको संख्या बढी रहेको देखिएको हो। भारतसित सीमा जोडिएका विभिन्न पालिकाहरु र भूगोलको विकटता, यातायातको असुविधाका साथै चुरेसित जोडिएको स्थानलाई अति संवेदनशिल मतदानस्थलको सूचीमा स्थानीय प्रशासनले राखेको छ।  

भारतसित सीमा जोडिएका रौतहटको राजदेवी, गौर, इशनाथ, परोहा, बौधीमाई नगरपालिकाका साथै चुरेसंग जोडिएका चन्द्रपुर नगरपालिकासहित १४ पालिकामा गरी ८३ वटा मतदानस्थल अति संवेदनशीलको सूचीमा रहेको रौतहटका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले जानकारी गराएका छन्। रौतहटमा अति संवेदनशील ८३, संवेदनशील ११९ र सामान्य ७४ मतदानस्थल रहेका छन्।

जिल्लामा २७६ मतदानस्थलमा ४७७ मतदान केन्द्र रहेको तथा गरुडा, माधवनारायण, गुजरा नगरपालिका र यमुनामाई गाउँपालिकामा मतदानस्थल अति संवेदनशील मतदानस्थल नरहेको प्रजिअ शाहीले जानकारी गराएका छन्।  

यसैगरी सर्लाही जिल्लामा १०३ वटा मतदानस्थल अति संवेदनशील रहेको देखिएको छ। सर्लाहीको १०३ अति संवेदनशील मतदानस्थलमा २०५ मतदान केन्द्र रहेको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ। सर्लाहीका अति संवेदनशील मतदानस्थलहरु अधिकांश निर्वाचन क्षेत्र नम्वर ३ र ४ का रहेका छन्।  

जिल्लामा १८४ वटा मतदानस्थल संवेदनशील छन्। संवेदनशील रहेका १८४ वटा मतदानस्थलमा ३३९ वटा मतदान केन्द्र रहेका छन्। सर्लाहीमा ३१ वटा मतदानस्थललाई सामान्यको सूचीमा राखिएको छ। ३१ वटा सामान्य मतदानस्थलमा ५५ वटा मतदान केन्द्र रहेका छन्। सर्लाहीमा  ५४९ मतदान केन्द्रमा वैशाख ३० मा मतदान हुने जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ।

सर्लाही र रौतहट दुवै ठाउँका अति संवेदनशील, संवेदनशील र सामान्य मतदानस्थलमा सुरक्षा चुनौतीलाई विश्लेषण गरी आवश्यक सुरक्षा प्रबन्ध मिलाइने भएको छ।  

सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले अहिलेदेखि नै सुरक्षा प्रबन्ध मिलाउने कुरामा सर्लाही सुरक्षा निकाय सतर्क रहेको बताएका छन्।

रौतहटका प्रमुख जिल्ला अधिकारी शाहीले चुनावको सुरक्षाको प्रबन्ध सबै किसिमले मिलाउने काम भइरहेको जानकारी गराएका छन्।

प्रकाशित: १५ वैशाख २०७९ १२:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App