९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
समाज

निकुञ्जमा डढेलो लाग्न सुरू

गर्मीयाम बढेसँगै बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा डढेलो लाग्न सुरु भएको छ। निकुञ्ज क्षेत्रमा वर्सेनि डढेलो लागे पनि प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो क्षति हुने गरेको छ।  

बाँके राष्ट्रिय निकुञ्जको हेड अफिसदेखि मुगुवा खोलासम्मको जंगलमा आगलागी सुरु भएको छ। यस्तै ढकेरी मध्यवर्ती क्षेत्र र केही सामुदायिक वनहरुमा आगलागी सुरु भएको हो। आगलागी र डढेलोका कारण महत्वपूर्ण बोटबिरुवा तथा वनस्पती जल्ने गरेका छन्। यस्तै आगलागीमा परेर ससाना वन्यजन्तुहरुको समेत मृत्यु हुने गरेको छ। भर्खरै पलाएका पालुवामा समेत क्षति पुग्ने गरेको छ। स्थानीय कालीबहादुर परियार वर्सेनि डढेलोका कारण निकुञ्ज, मध्यवर्ती तथा सामुदायिक क्षेत्रमा ठूलो क्षति हुने गरेको बताउँछन्।

उनका अनुसार आगलागी र डढेलोबाट महत्वपूर्ण बोटविरुवासँगै मानव स्वास्थ्यमा समस्या हुने गरेको छ। ‘मानव बस्ती र जंगल क्षेत्र रहेका ठाउँमा आगलागी सुरु भइसकेको छ। यसबाट क्षतिसमेत भइसकेको छ। निकुञ्ज क्षेत्रमा छिटोभन्दा छिटो यस विषयमा ध्यान दिनुपर्छ,’ उनले भने।  

डढेलोबाट निस्किने धुँवाले मानव स्वास्थ्यमा गम्भीर असरबाट बच्न प्रभावकारी कदम चाल्नुपर्नेमा उनले जोड दिए। यतिमात्रै होइन त्यस्तो अवस्थामा हिँड्डुल गर्नसमेत समस्या हुने गरेको स्थानीय विन्दु ओली बताउँछिन्। उनले कामकाजमा सधै जंगलतिर गइरहने महिलाहरुलाई समेत जोखिम रहेको बताइन्।  

यता बाँके राष्ट्रिय निकुञ्ज प्रशासनले आगलागी र डढेलोबाट हुने क्षति रोक्न गम्भीर रहेको जनाएको छ। प्रमुख श्यामकुमार शाह यो वर्ष दुई÷तीन दिनयता जंगल क्षेत्रमा आगलागी र डढेलो सुरु भइसकेको बताउँछन्। उनका अनुसार मानव बस्ती र सडक क्षेत्रमा आगलागी आउन नदिन प्रत्येक दिन सेना र कर्मचारी खटाइएको छ। उनले मानिसहरुले नै आगो लगाउने र मानवीय क्रियाकलापका कारण लाग्ने गरेकोले सबैलाई सचेत रहन आग्रहसमेत गरेका छन्। ‘निकुञ्ज क्षेत्रमा आगलागी सुरु भइसकेको छ। यसबाट ठूलो क्षति हुन नदिन हामी पूर्वतयारीमा जुटिसकेका छौं,’ उनले भने, ‘विपदको अवस्था हुन नदिन लागिपरेका छौं।’ विपद आउन नदिन सबै एकजुट भएर अघि बढ्नुपर्ने उनले बताए।

प्रकाशित: १५ वैशाख २०७९ १२:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App