१६ चैत्र २०८० शुक्रबार
समाज

विष्णु, आलोक र छिटुप बने नागरिक नायक

नेपाल रिपब्लिक मिडिया १४औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा आइतबार घोषित नागरिक नायकहरू विष्णु गौतम (बायाँबाट दोस्रा), छिटुप दोर्जी लामा (बायाँबाट तेस्रा) र सत्यनारायण महतो ‘आलोक’ सँग मिडियाका प्रबन्ध निर्देशक विनोदराज ज्ञवाली (बायाँ) र निर्देशक शोभा ज्ञवाल

यस वर्ष तीनजना सामाजिक अभियन्ता ‘नागरिक नायक–२०७९’ बाट सम्मानित भएका छन्। नागरिक दैनिकको प्रकाशन संस्था नेपाल रिपब्लिक मिडिया प्रालिले आफ्नो १४औं स्थापना दिवसको अवसरमा समाजमा उल्लेख्य योगदान पुर्‍याएका विष्णु गौतम, सत्यनारायण महतो ‘आलोक’ र छिटुप दोर्जी लामालाई यो सम्मान प्रदान गरेको हो। आइतबार वसन्तपुर डबलीमा आयोजित विशेष समारोहमा तीनैजनालाई सम्मान गरिएको छ।

रिपब्लिक मिडिया प्रालिले हरेक वर्ष आफ्नो वार्षिकोत्सवको अवसरमा समाज परिवर्तनका लागि सकारात्मक भूमिका खेल्ने व्यक्ति वा संस्थालाई यो सम्मान प्रदान गर्दै आएको छ। जसबाट तिनको काम र तिनले खेलिरहेको भूमिकालाई उजागर गर्ने तथा तिनको प्रचारप्रसार गर्दै थप उत्प्रेरित गराउने उद्देश्य लिइएको छ।  

पीडाबाट उठेर सामाजिक रूपान्तरण

सम्मानित भएकामध्येका सामाजिक अभियन्ता विष्णु परिवारको असह्य पीडाबाट माथि उठेर समाज रूपान्तरणमा निरन्तर जुटेका व्यक्तित्व हुन्। उनले न्यून आयस्रोत भएका बालबालिकालाई शिक्षा दिन लक्ष्मी प्रतिष्ठान नामक संस्था स्थापना गरेका छन्।

उनको कथा सिनेमाजस्तै लाग्छ। शान्त र सुन्दर परिवारमा अचानक बज्रपात भयो। २०६५ पुस १२ गते २८ वर्षीय छोरा कुमार गौतमको सवारी दुर्घटनामा काठमाडाैंमा मृत्यु भयो। उनको सर्वस्व गुम्यो, सपना टुट्यो अनि आशाको उज्यालोमा पीडाको बादल लाग्यो। प्रहार त्यतिमै रोकिएन। २०६६ असोज १७ गते अर्को बज्रपात भयो। अमेरिकामा बस्दै आएका माइला छोरा बलरामको पनि सडक दुर्घटनामा उतै मृत्यु भयो। जेठा छोरा कुमार सफल पर्यटन व्यवसायी थिए। माइला छोरा बलरामले अमेरिकामा उच्च पदमा जागिरे थिए।  

दक्ष छोराहरू ९ महिनाको अन्तरमा गुमाउँदाको पीडा सुरुमा त विष्णुले सहनै सकेनन्। उनको मनले भयंकर योजना बनायो– परिवारका बाँकी सदस्यसँगै भोटेकोसीमा हामफालेर सिंगो परिवारकै संहार गर्ने। उनको नामै विष्णु। संहारकर्ता कसरी बन्न सक्थे? जीवनसंगिनी लक्ष्मीको एक शब्दले उनलाई पालनकर्ता बनायो।

बिस्तारै बादल हट्न थाल्यो। शोकमा डगमगाएका पाइलाहरू समाजसेवाको कल्याणकारी बाटामा हिँड्न थाले। असह्य पीडाले परिवर्तनको बाटो अँगाल्यो। जेठो छोराको पहिलो वार्षिकीमा कुमार–बलरामको आत्माको रूपमा ‘लक्ष्मी प्रतिष्ठान’ स्थापना भयो।

प्रतिष्ठानले शिक्षा स्वास्थ्य, महिला सशक्तीकरण, स्वावलम्बन र सवारी सचेतनाका कार्यक्रमहरू सञ्चालन गर्दैछ। यही क्रममा उनी भूकम्पले पीडित भएकालाई मलहम लगाउन पुगे। उनकै पहलमा काभ्रेको चौरीदेउराली गाउँमा प्रतिघर २ लाखभन्दा बढी खर्चेर ४१ वटा घर निर्माण भयो। उनको यात्रा यहीं रोकिएन। चितवनको राप्ती नगरपालिका–१३ स्थित कान्दामा चेपाङ समुदायलाई लक्षित गरेर ‘कान्दा रूपान्तरण अभियान’ सुरु भयो। उनी गरिबीले गिजोलिएका बालबालिकालाई एउटै छात्रावासमा राख्न सफल भए।

२०७२ सालबाट सञ्चालित छात्रावासमा नियमितरूपमा २ सय बालबालिकाका लागि भान्छा सञ्चालनमा आएको छ। कान्दामा नअटेकालाई राख्न ३ वर्षअघिदेखि काभ्रे जिल्लामा समेत अर्को छात्रावास विस्तार गरिएको छ। त्यहाँ रहेका ४५ बालबालिका उत्कृष्ट शिक्षा हासिल गर्दैछन्।

अभावमा हुर्केका नानीहरूले छात्रावासमा बसेर निःशुल्क खान, पढ्न, सीप सिक्न, खेलकुदमा सहभागी हुन पाएका छन्। नानीहरूको जीवनमा निकै परिवर्तन आइसकेको छ। जटिल अवस्थामा हात समाएका बालबालिका अहिले हरेक कुरामा अगाडि छन्।

महाकवि लक्ष्मीप्रसाद देवकोटाको महाकाव्यको पात्र प्रमिथसजस्ता बनेका छन् उनीहरू। जो चेतनाको आगो लिएर ज्ञान बाँड्न आतुर छन्।  

चौरीदेउरालीको विकट गाउँमा जन्मेका विष्णु परिवारको असह्य पीडाबाट माथि उठेर समाज रूपान्तरणमा निरन्तर जुटेका छन्। अभावमा पिल्सिँदै गाएका नानीहरूलाई आकाशको उचाइ देखाउँदै छन्।

यिनै विष्णुलाई रिपब्लिक मिडिया प्रालिका तर्फबाट नागरिक नायकका रुपमा प्रबन्धनिर्देशक विनोदराज ज्ञवाली, निर्देशक शोभा ज्ञवाली र गोरखा ब्रुअरी लिमिटेडका सहायक प्रबन्धक सुरेन्द्र सिलवालले संयुक्त रुपमा ताम्रपत्र र फूलमालाले सम्मान गरेका छन्। उनलाई एक लाख रूपैयाँ राशि पनि प्रदान गरिएको छ।  

फालिएका शिशुलाई जीवन दिने आलोक

यस्तै नागरिक नायक–२०७९ बाट सम्मानित अर्का सामाजिक अभियन्ता सत्यनारायण महतो ‘आलोक’ फालिएका शिशुहरूलाई जीवन दिँदै आएका व्यक्तित्व हुन्। अनिच्छामा जन्मिएका शिशुलाई बेवारिसे फाल्ने घटना मधेसमा बढ्दो छ। अशिक्षाका कारण छोरी जन्मिँदा परिवार खुसी नहुने, दाइजो दिनुपर्ने, भागी बिहे गर्दा प्रतिष्ठा गुम्ने डरले यस्ता घटना बढ्दो क्रममा छन्। अविवाहित आलोकले तिनै फालिएका शिशुलाई १२ वर्षदेखि उद्धार गर्देै आएका छन्। उनले कसैलाई फोहोरको थुप्रोबाट त कतिलाई नालीबाट उद्धार गरेका छन्। उनी यस्ता १४ सन्तानका ‘बुवा’ हुन्।

उनको घर अहिले ‘कबीर अनाथ बालाश्रम’ नामले चिनिन्छ। प्रहरीले उद्धार गरेका यस्ता शिशु पनि उनकै आश्रममा ल्याएर राखिन्छ। जनकपुरको निजी कलेजमा अंग्रेजी पढाउने महतोको जनकपुरधाम–८ वाल्मीकिनगरको एक कठ्ठा जग्गामा आश्रम छ।  

शिशुहरूको पालनपोषण र शिक्षामा लाग्ने खर्च जुटाउन उनी धार्मिक प्रवचन दिन्छन्। मनकारीले आफ्नो विवाह उत्सव, जन्मोत्सवमा सहयोग गर्छन्। यसैबाट उनले १४ जना बच्चा हुर्काइरहेका छन्। बच्चाहरू बिहानै उठेर योग गर्छन्, आश्रममै ट्युसन पढ्छन्। खाना खाएर स्कुल जान्छन्। स्कुल जाने उमेर नभएका बच्चा आश्रममै लडिबुडी गर्छन्।  

अपराह्न ४ बजे पुनः आश्रममै बच्चालाई ट्युसन पढाउन शिक्षक आउँछन्। ५ बजे संगीत कक्षामा रमाउँछन्। त्यसपछि गृहकार्य गर्छन् अनि खाना खाएर सुत्छन्। बच्चा फ्याँक्ने विकृति रोक्ने दायित्वबाट विमुख समाज र सरकारलाई चुपचाप ऐना देखाइरहेका आलोकलाई सबैले ‘टुहुराका अभिभावक’ भनेर इज्जत गर्छन्। जीवनको सबैभन्दा ठूलो खुसी यसैलाई ठान्छन् उनी।  

त्रेता युगका जनकले माटोमुनि भेटिएको भनिएकी सीतालाई हुर्काएर पूजनीय बने। सीतालाई जानकी नामले पुजिन्छ। सत्यनारायण पनि माटो र पानीमा भेटिएका १४ जना छोराछोरीलाई हुर्काइरहेका छन्।

रोएका नानीहरूलाई जीवन दिने आलोकलाई नागरिक नायकका रुपमा प्रबन्धनिर्देशक विनोदराज ज्ञवाली, निर्देशक शोभा ज्ञवाली र समाजसेवी मनोज नेवाः खड्गीले संयुक्त रुपमा ताम्रपत्र र फूलमालाले सम्मान गरे।

हुम्ला मोडलका हिरो छिटुप

सम्मानित भएका सामाजिक अभियन्ता छिटुप दोर्जी लामाले हुम्लाको सिमकोटमा हिमालयन एजुकेसन एन्ड डेभलपमेन्ट नामक संस्था स्थापना गरेर नमुना कार्य गर्दै आएका छन्। स्वयं न्यून दृष्टि भएका उनी नेपालकै दुर्गम हिमाली जिल्ला हुम्लाका गाउँगाउँमा घुम्ती विद्यालय सुरु गरी दृष्टिविहीन र अपाङ्गता भएका बालबालिकामा शिक्षाको ज्योति भर्ने काम गरेका व्यक्ति हुन्। उनले गाउँमै पढ्न सक्नेहरूका लागि शैक्षिक सामग्री पनि उपलब्ध गराउँदै आएका छन्।  

हुम्लाबाट २०६० सालमा राजधानी आएका छिटुप ७ वर्षको सहरी बसाइपछि गाउँको सम्झना आएर हुम्ला फर्किए। काठमाडौंमा हुँदा विद्यालय शिक्षा आर्जन गर्दा भोगेको कष्ट सम्झँदा सहरको सहजता उनलाई असहज लाग्यो। त्यसैले उनी २०६७ सालमा जन्मथलो हुम्ला फर्किए। सिमकोटमा हिमालयन एजुकेसन एन्ड डेभलपमेन्ट नामक संस्था स्थापना गरे अनि गाउँगाउँमा घुम्ती विद्यालय सुरु गरे। दृष्टिविहीन र अपाङ्गता भएकाहरूलाई विद्यालय पठाउन अभिभावकलाई प्रेरित गरे।

आफूले भोगेका दुःख अल्पदृष्टि भएका, दृष्टिविहीन र अपाङ्गता भएकाले भोग्न नपरोस् भन्ने उनमा भित्री चाहना थियो। राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको कठिन भौगोलिक बनावटले सामान्य मान्छेलाई समेत हिँडडुलमा समस्या पर्छ। यस्तो भूगोलमा अपाङ्गता भएका र दृष्टिविहीनलाई विद्यालयको पहुँचसम्म पुर्‍याउन उनले ठूलो चुनौतीको सामना गरेका थिए। छिटुपका दुवै आँखा जन्मँदै कमजोर भए। साँझबिहान र नयाँ ठाउँमा उनलाई निकै समस्या हुन्छ, आँखाले देखेर भन्दा पनि उनी आवाजको भरमा धेरै काम गर्छन्।  

छिटुपले सदरमुकाम सिमकोटमा दृष्टिविहीन र अपाङ्गता भएकाहरूका लागि सक्षम आवास गृह स्थापना गरे। आवास गृहमा अहिले ४५ जना बालबालिका छन्। उनीहरू नजिकैको सामुदायिक विद्यालयमा निःशुल्क पढ्छन्। हुम्लामा छिटुपले फैलाइरहेको शिक्षाको ज्योतिले अनकण्टारमा केही उज्यालो छरेको छ।

छिटुप आफूले गरिरहेको कामलाई हुम्ला मोडल भन्छन्। यो मोडललाई प्रदेशभर लागू गर्ने उनको लक्ष्य छ। हुम्ला मोडलका उनै हिरो छिटुपलाई नागरिक नायकका रूपमा प्रबन्धनिर्देशक विनोदराज ज्ञवाली, निर्देशक शोभा ज्ञवाली र उद्योगी दीपक मल्होत्राले संयुक्त रुपमा ताम्रपत्र र फूलमालाले सम्मान गरे।

‘हरेक वर्ष नागरिक नायक घोषणा सराहनीय’

नागरिक नायक घोषणा समारोहका प्रमुख अतिथि संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगले नेपाल रिपब्लिक मिडियाले हरेक वर्ष नागरिक नायक घोषणा गरेर सराहनीय काम गरेको बताए। उनले कार्यक्रमको सफलताको कामना गर्दै आफूलाई यस महत्वपूर्ण कार्यक्रममा बोलाइएकोमा कृतज्ञता प्रकट गरे। आगामी वर्षहरूमा पनि यसलाई निरन्तरता दिन उनले हौसला थपे।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल रिपब्लिक मिडियाकी निर्देशक शोभा ज्ञवालीले समाजमा योगदान पुर्‍याएका व्यक्तिलाई सम्मान गर्न पाउँदा हर्षित भएको बताइन्। उनले विगतमा कोभिडले गर्दा केही असहज भए पनि अब फेरि नेपाल रिपब्लिक मिडियाले यस समारोहलाई उत्सवका रूपमा मनाउने बताइन्। उनले रिपब्लिक मिडियाले नागरिक नायक सम्मान आज एक दिनका लागि मात्र नभएर सदाका लागि समाजमा योगदान पुर्‍याएका व्यक्तिलाई खोजिरहने बताइन्। साथै उनले यी नागरिक नायकहरू समाजका तपस्वी भएको बताइन्।  

उनले कठिन परिस्थितिमा पनि आफ्नो कार्यलाई अहोरात्र रूपमा अघि बढाइरहेका सम्पूर्ण कर्मचारीलाई धन्यवाद व्यक्त गरिन्। नेपाल रिपब्लिक मिडिया समाज परिवर्तनका लागि निरन्तर लागि रहने समेत उनले बताइन्।  

कार्यक्रममा सम्मानित सामाजिक अभियन्ताहरूले सम्मानबाट दूरदराजमा बसेर गरिरहेको आफ्नो कामको राष्ट्रिय प्रकाशन/प्रसारण संस्थाले राष्ट्रिय स्तरमा सम्मान गरेर ऊर्जा थपेको प्रतिक्रिया दिएका थिए।

प्रकाशित: १२ वैशाख २०७९ ०१:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App