१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

अक्सिजन प्लान्टमा विस्फोट, दुईको मृत्यु

ललितपुर महानगरपालिका–१४ का नारायण तिमिल्सिनाले २०७१ सालमा ‘अक्सिजन ग्यास प्लान्ट’ खोले। ललितपुर महानगरपालिका–१५ को औद्योगिक क्षेत्रमा उनले ‘सगरमाथा अक्सिजन ग्यास प्रालि’का नामले कम्पनी खोलेका थिए। उनको भनाइअनुसार त्यसमा २० करोडजति लगानी लागेको छ।

अक्सिजन ग्यास प्लान्ट खोल्नुको पछाडि उनका दुई उद्देश्य थिए। पहिलो, आफ्नै बिजनेस र दोस्रो, समाजसेवा। नेपालका बिरामीहरूले अक्सिजनको चरम अभावका कारण अकालमै ज्यान गुमाएको उनले देखेका थिए। दूरदराजका गाउँमा अक्सिजनको उपलब्धता त सोचभन्दा परको कुरा, सहरी क्षेत्रका अस्पतालले नै पर्याप्त अक्सिजन पाइरहेका थिएनन्। त्यसमा नागरिकहरूले ठुलै सास्ती भोगिरहेका थिए।

‘जुन कुरा बढी आवश्यक छ, त्यसैमा लगानी गर्दा व्यवसाय पनि फस्टाउने नै भयो,’ उनले भने, ‘त्यसबाहेक व्यवसायसँगै स्वास्थ्य र प्राण रक्षाका लागि चाहिने अक्सिजनको उपलब्धता बढाउनु आफैंमा समाजसेवा हो भन्ने मलाई लाग्यो। त्यसैअनुसार यो कम्पनी खोलेको थिए।’

उनले सोचेजस्तै भयो। व्यवसाय फस्टाउँदै गयो। उनकै प्लान्टबाट उत्पादित अक्सिजनले कैयौं बिरामीले प्राणवायु पाए। कोभिड–१९ को महामारीमा त आफ्नो कम्पनी धेरैका लागि वरदान बनेको नारायणका भाइ कृष्ण तिमिल्सिनाले बताए। उनले भने, ‘कोभिड–१९ मा त हामीले लाखौंकै ज्यान बचायौं।’

यसरी लाखौंको जीवनरक्षाका लागि प्राणवायु उत्पादन गर्ने कम्पनीमा भएको विस्फोटले दुईजनाको ज्यान लियो। ‘त्यहींबाट उत्पादित अक्सिजनले लाखौंको ज्यान जोगायो। तर आज कामदारकै ज्यान लियो,’ नारायणले नागरिकसँग भने। कम्पनीमा बिहीबार बिहान १० बजेर ५ मिनेट जाँदा भएको विस्फोटले वरिपरिका १५/२० मिटरको क्षेत्रमा नोक्सानी पुर्‍याएको छ।

घटना हुँदा कम्पनीमा रहेका ३५ कामदारमध्ये केही सदाझैं अक्सिजन सिलिन्डर भरिरहेका थिए। केही खाना खान गएका थिए। ग्यास भर्दै गर्दा एकाएक एउटा सिलिन्डर पड्कियो। त्यसपछि धमाधम अरू सिलिन्डर पड्किन थाले। त्यसक्रममा सिलिन्डर भरिरहेका भारतीय नागरिक वृजमोहन महतो र राजकुमार महतोको ज्यान गएको प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले जानकारी दिए।

उनीहरूमध्ये वृजमोहनको घटनास्थलमै र राजकुमारको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। घटनामा अन्य ६ जना घाइते भएका छन्। घाइतेहरूमध्ये चन्द्रागिरि नगरपालिका–२ दहचोकका ४९ वर्षीय गंगाराज शर्माको बिएन्डबी अस्पतालमा उपचार भइरहेको छ।

यस्तै अन्य पाँचजना सामान्य घाइतेहरू पाटन अस्पतालमा उपचारपछि डिस्चार्ज भएको प्रहरीले जनाएको छ। जसमा पर्साका ४३ वर्षीय रमेश अधिकारी, ललितपुर महालक्ष्मी नगरपालिका–८ का ३६ वर्षीया दुर्गा पुरी, गोदावरी नगरपालिका–९ का १९ वर्षीय सुदीप तिमिल्सिना, महांकाल गाउँपालिका–५ चन्दनपुरका २२ वर्षीय ईश्वर बजगाइँ, ओखलढुंगा घर भई महालक्ष्मीस्थान बस्दै आएका २० वर्षीया अन्जना पौडेल छन्। उनीहरू सबै कम्पनीका कामदार रहेको सञ्चालक नारायणका भाइ कृष्णले जानकारी दिए।

उनका अनुसार मृतकहरू दुवै कम्पनीका दक्ष कामदार हुन्। खाना खान गएका कारण आधा कामदारको ज्यान जोगिएको उनको भनाइ छ। ‘ग्यास फिलिङ गर्ने ठाउँमा १५ कामदार खटिन्थे। धन्न खाना खान गएकाहरू जोगिए,’ कृष्णले भने, ‘नत्र एकैसाथ १५ जनाको ज्यान जाने रहेछ।’ विस्फोट हुँदा दुवै अन्तिम लटको ग्यास भरिरहेको बुझिएको उनले बताए। ‘उनीहरू पनि त्यत्ति भरेर खाना खान जाने तर्खरमा रहेछन्, विस्फोट भइहालेछ,’ उनले भने।

विस्फोटबाट ठुलै क्षति भएको कम्पनीका सञ्चालकको दाबी छ। ‘कम्पनी बर्बाद भएको छ। प्लान्ट मेसिन, पाइपलाइन, ग्यास सिलिन्डरहरू, कार्यालय सबैमा क्षति पुगेको छ,’ कृष्णले भने, ‘६/७ वटा बाइक र दुइटा गाडीमा पनि क्षति पुगेको छ।’ घटनाको कारणबारे आफूलाई थाहा नभएको उनले बताए। उनले भने, ‘अक्सिजन प्लान्टमा यसरी विस्फोट भएको हामीले सुनेका थिएनौं, यही भयो।’ प्रहरी परिसर ललितपुरका प्रवक्ता शाहले घटनाको कारणबारे अनुसन्धान भइरहेको बताए। 

उनले भने, ‘नौलो घटना भएको छ। विभिन्न चरणमा अनुसन्धान गरेर मात्रै कारण थाहा हुन्छ।’ परिसरले प्रहरी नायब उपरीक्षक दीपक भारतीको नेतृत्वमा अनुसन्धान समिति गठन गरेको छ।

छानबिन समिति गठन

दुर्घटनाको खबर पाएसँगै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले दुर्घटनास्थलको निरीक्षण गरे। सो क्रममा उनले अक्सिजन भर्ने क्रममा यसरी विस्फोट हुनु साधारण नभएको भन्दै यसलाई गहन ढंगले अनुसन्धान गर्ने बताए। ‘यो विषयलाई प्राथमिकतामा राखेर प्राविधिकहरूबाट अनुसन्धान गराउँछौं,’ उनले भने।

यसबाहेक मृतकको परिवारलाई सरकारले राहत प्रदान गर्ने उनले आश्वासन दिए। गृह मन्त्रालयले यो विषयमा छानबिन गर्न सहसचिव चन्द्रकला पौडेलको नेतृत्वमा समिति बनाएको छ। पौडेलको नेतृत्वमा ६ सदस्यीय समिति गठन गरेको छ। समितिलाई छानबिन गरी प्रतिवेदन सात दिनभित्र बुझाउन निर्देशन दिइएको छ।

प्रकाशित: ९ वैशाख २०७९ ००:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App