३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
समाज

प्रहरीले बल प्रयोग गरी खुलायो राजमार्ग, ११ प्रहरी घाइते

वीपी राजमार्गस्थित सिन्धुलीको कमलामाई नगरपालिका २ पिपलभन्ज्याङमा क्षतिपूर्ति र कारवाहीको माग गर्दै राजमार्ग अवरोध गर्दै स्थानीय।

क्षतिपूर्ति र कारवाहीको माग गर्दै स्थानीयले अवरुद्व गरेको वीपी राजमार्ग प्रहरीले बल प्रयोग गरेर खुलाएको छ। बाेलेरो जिपको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएपछि क्षतिपूर्ति र कारवाहीको माग गर्दै बुधबार बिहानैदेखि तनावग्रस्त बनेको वीपी राजमार्गमा प्रहरीले यातायात सुचारु गराएको छ।  

बोलेरेको ठक्करबाट पैदल यात्रीको मृत्यु भएपछि बुधबार बिहानदेखि तनावग्रस्त बनेको वीपी राजमार्ग अन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–२ पिपलभञ्ज्याङमा प्रहरीले बल प्रयोग गरी यातायात सुचारु गराएको जिल्ला प्रहरी कार्यालयका डिएसपी मनोजकुमार लामाले बताए। 

स्थानीय र प्रहरीबीच झडप भइ दिनभर तनावग्रस्त बनेको राजमार्गमा सदरमुकामबाट थप सुरक्षा फौज झिकाएर बल प्रयोग गरी यातायात संचालनमा गराउन सफल भएको उनले बताए। सहमति गर्न धेरै प्रयास गरियो तर सहमतिमा नआएपछि राजमार्ग खुलाउन बल प्रयोग भएको हो, उनले भने।

कमलामाई नगरपालिका २ को पिपलभञ्ज्याङबाट पचभैया जाने सडकमा मङगलबार राती प्रदेस ३-०१–०२४ च १४१९ नं को बोलेरोले ठक्कर दिँदा गम्भिर घाईते भएका पैदलयात्री ३९ वर्षीय विजय मोक्तानको उपचारको क्रममा सिन्धुली अस्पतालमा बुधबार बिहान मृत्यु भएको थियो। सोही विषयलाई लिएर स्थानीयले बुधबार बिहान ११ बजेदेखि क्षतिपूर्ती र कारबाहीको माग गर्दै  पिपलभञ्ज्याङमा यातायात अवरुद्व गरेका थिए। लामो समयसम्म यातायात अवरुद्व भएपछि प्रहरीले बल प्रयोग गर्नुपरेको प्रहरीले जनाएको छ। 

राजमार्ग खुलाउने क्रममा प्रहरी र स्थानीयबीच झडप हुँदा ११ जना प्रहरी घाइते भएका थिए। घाइते मध्ये १ जना महिला प्रहरीलाई धुलिखेल उपचारका लागि पठाइएको र १० जना बुधबार नै उपचारपछि डिस्चार्ज भएको डिएसपी लामाले बताए। राजमार्ग वन्दकर्ता स्थानीयले प्रहरीलाई लक्षित गरी ढुङ्गा, बियरका बोतल र दाउरा प्रहार गर्नुका साथैदोहोरो झडपको क्रममा रोकी राखेको बसमा र अन्य केही सवारी साधनमा समेत क्षति गरेका थिए।  

सडक माथिबाट स्थानीय बन्दकर्ताले प्रहरीलाई ढुङ्गा, खाली बोतल र दाउरा प्रहार निरन्तर प्रहार गरेपछि भिड तितरवितर गर्नका लागि प्रहरीले तलबाट केही राउण्ड अश्रु ग्यास र हवाइ फायर समेत गरेको जनाएको छ। ठक्कर दिने बोलेरो र चालक आइतसिङ लामालाई नियन्त्रणमा लिइ आवश्यक कारवाही अगाडि बढाएको प्रहरीले जनाएको छ। 

प्रकाशित: ७ वैशाख २०७९ १४:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App