२४ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

गहनापोखरीमा खोजियो टुँडालदेवीको गहना

काठमाडौँ महानगरपालिका वडा नं ५ स्थित गहनापोखरीमा टुँडालदेवीको हराएको गहना खोजिएको छ। टुँडालदेवीको हराएको गहना खोज्न प्रत्येक वर्ष चैत्र शुक्ल चतुर्दशीदेखि सुरु हुन्छ।

जात्राको विभिन्न प्रक्रिया पूरा गरी वैशाख कृष्ण प्रतिपदाका दिन गहनापोखरीमा टुँडालदेवीको हराएको गहना खोजिने जात्रा सम्पन्न गरिएको जात्रा सञ्चालन समितिको अध्यक्षसमेत रहेका काठमाडौँ महानगरपालिका वडा नं ५ का अध्यक्ष रमेश डङ्गोलले जानकारी दिए।

प्रत्येक वर्ष चैत्र शुक्ल चतुर्दशीदेखि सुरु गरिने भाटभटेनी काठमाडौँ महानगरपालिका वडा नं ५ को हाँडीगाउँ र वडा नंं ४ को टुँडालदेवी बालुवाटार क्षेत्रमा भव्यरुपमा गरिन्छ। जात्राका क्रममा आज भने देवीदेवतालाई विश्राम दिइन्छ। वैशाख कृष्ण तृतीयाका दिन मङ्गलबार भाटभटेनी महिला समूहले विशेष पूजा गर्ने विधि गरिने जात्रा सञ्चालन समितिले जनाएको छ।

जात्राका लागि नक्साल चार ढुङ्गेको माने खटसमेत आज रातिसम्म टुँडालदेवी लगिएको छ। जात्राका क्रममा भातको देउता बनाएर टुँडालदेवीमा लगिने विधि भने पूरा भइसकेको छ। भाटभटेनी जात्रा काठमाडौँमा मनाइने महत्वपूर्ण र अद्वितीय जात्रामध्ये एक हो। यसलाई हाँडीगाउँ, टुँडालदेवी र गहना खोज्ने जात्रा भनेर पनि सम्बोधन गरिन्छ।

यही जात्राका लागि भाटभटेनीलाई रङरोगन गरी मन्दिरबाट बाहिर निकाल्ने गरिन्छ। यो जात्रा सुरु भएको सम्बन्धमा एउटा कथा प्रचलित छ। धेरै वर्ष पहिले चण्डोलको टुँडालदेवी, नक्सालको महालक्ष्मी, बालाजुको मनमैँजु र नुवाकोटी देवी स्नान गर्न भनी ठूलो तालअर्थात् हाल गहनापोखरी भएको स्थानमा गएछन्। स्नान गर्ने क्रममा टुँडालदेवीको गहना पोखरीमा हराएछ। त्यसैबेलादेखि यो पोखरीको महत्व बढ्नुका साथै नाम पनि गहनापोखरी राखिएको रहेछ। त्यसै समयदेखि हराएको गहना खोज्न यो जात्रा सुरु भएको विश्वास गरिन्छ। रासस

प्रकाशित: ५ वैशाख २०७९ ०४:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App