४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

खजुरामा मगर घरबास सञ्चालन

बाँकेको खजुरा गाउँपालिका–३ धौलागिरिमा मगर घरबास (होमस्टे) सञ्चालन गरिएको छ। एक पालिका एक घरबासको अवधारणालाई अगाडि बढाउँदै दुई वर्षको निरन्तर प्रयासपछि गुरुङ र मगरको बस्ती रहेको धौलागिरिमा नौमती सामुदायिक होमस्टे सञ्चालनमा ल्याइएको हो।

मगर संस्कृति, संस्कार र सभ्यतामा रमाउन मगर समुदायले घरबास सञ्चालनमा ल्याएका छन्। सुरुमा नौ घरलाई घरबासका रुपमा सञ्चालनमा ल्याइएको छ। 'यसलाई बढाउँदै लैजाने हो', होमस्टे परामर्शदाता पूर्णचन्द्र उपाध्यायले भने।

उनले मगर संस्कार र संस्कृतिको जगेर्नामा पनि यसले सहयोग गर्ने उल्लेख गर्दै होमस्टे सञ्चालनमा आएसँगै मगर कला, संस्कृति, रहनसहन र खानपानमा जोड दिइएको बताए। खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले होमस्टे आर्थिक समृद्धिसँग पनि जोडिने भएकाले खजुराको समृद्धिमा यसले टेवा पुग्ने विश्वास व्यक्त गर।

नौमती सामुदायिक घरबास धौलागिरिका अध्यक्ष छविकला थापाले धौलागिरिमा पाहुना भएर आउनेलाई मगर संस्कृतिमा मनोरञ्जन गराइने बताए। संस्कृतिसँगै नजिकै रहेको किरणनालामा गोही हेर्ने र नौमती बाजाको धुनमा नाचगान गरी भरपुर मनोरञ्जन लिने व्यवस्था घरबास गाउँमा गरिएको उनले जानकारी दिए।

उनले स्थानीय मगर अगुवा चित्रबहादुर रानामगरले मगर र गुरुङको खानपान, संस्कृतिलाई बचाउँदै भावी पुस्तालाई समेत संस्कार र संस्कृति बचाइराख्न प्रेरणा दिन खोजिएको बताए।

'हाम्रा पुर्खाले गरेका परम्परागत कुराको सिकाइ, संस्कार, संस्कृतिको संरक्षण गर्ने उद्देश्यले घरबास सञ्चालन गरिएको हो', उनी  भन्छन्। घरबास महासङ्घका महासचिव कृष्ण चौधरीले घरायसी वातावरणमा बसोबास, आफ्नै खेतबारीमा उत्पादन भएका जैविक खानाका परिकारको स्वाद पस्कन घरबास प्रभावकारी हुने बताए। 'कला, संस्कृतिको जर्गेना गरी राम्रो आयआर्जनका रुपमा समेत घरबासलाई प्रवद्र्धन गर्न आवश्यक छ', उनले भने। रासस

प्रकाशित: ३ वैशाख २०७९ ०३:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App