७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

सिट क्षमताभन्दा बढी विद्यार्थी बोक्ने सवारीलाई कारबाही

विद्यार्थी बोक्ने सावरी साधन (बस)लाई विराटनगरमा ट्राफिक प्रहरीले काराबाही थालेको छ। सिट क्षमताभन्दा बढी विद्यार्थी राखेर चलाउने बसलाई कारबाहीको दायारमा ल्याउन थालेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले जनाएको छ।

विराटनगर नगर क्षेत्रभित्रका अधिकांश स्कुल र कलेजका विद्यार्थी बोक्ने बसले सिट क्षमताभन्दा करिब तेब्बरको संख्या राख्ने गरेको पाइएपछि कारबाहीको दायरमा ल्याएको मोरङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक चन्द्रबहादुर खड्काले बताए। उनले अभियान नै चलाएर क्षमताभन्दा बढी विद्यार्थी बोक्ने बसलाई कारबाही थालेको हो।

‘अहिले विशेष गरेर कलेजका बसहरुलाई चेक गर्न थालेका छौं,’ ट्राफिक प्रमुख खड्काले भने, ‘सिट क्षमताभन्दा धेरैको संख्यामा राखेर घण्टौं विद्यार्थीलाई उभ्याएर आवतजावत गर्ने गरेको पाइएको छ। सिट क्षमताभन्दा बढी बोक्ने बसलाई कारबाही थालेका हौं।’ ट्राफिक प्रहरीले नियम विपरित सिट क्षमताभन्दा बढी विद्यार्थी बोकेका बसहरुलाई २ दिनमा १९ वटालाई कारबाही गरेको ट्राफिक प्रमुख खड्काले बताए।

क्षमताभन्दा बढी विद्यार्थी ल्याउँदा दुर्घटानको ठूलो जोखिम हुन्छ । स्कुल र कलेज प्रशासनलाई यस अघि नै क्षमताभन्दा बढी विद्यार्थी नबोक्नका लागि सचेत हुन जानकारी दिएको बताउँदै ट्राफिक प्रमुख खड्काले भने, ‘बढी संख्यामा विद्यार्थी नबोक्नका लागि सम्बन्धित निकायलाई जानकारी गराए पनि बोक्न नछाडेकाले कारबाही गर्नु परेको हो। साना नानीदेखि कलेज पढ्नेसम्मका विद्यार्थीहरु कोचिँदै घण्टौं उघिएर स्कुल जाने र फर्कने गर्दा कति सास्ती खोप्नु पर्छ। सास्तीसँगै दुर्घटनाको पनि उस्तै जोखिम हुन्छ।’ अभिभावकले समेत आफ्ना छोराछोरी कसरी बसमा विद्यालय जाँदै छन् भनेर विचार गर्नुपर्ने हुन्छ।

ट्राफिक प्रहरीले बुधबार ८ र बिहीबार ११ वटा स्कुल र कलेजका बसलाई कारबाही गरिएको छ। स्कुल र कलेज पोसाकमा चालक अनुमतिपत्र नभई सवारी चलाएका ५० वटा मोटरसाइकलसमेत कारबाही गरेको ट्राफिक प्रहरीले जनाएको छ।  

विद्यार्थीहरुलाई कलेज पोसाकमा सवारी चलाउन रोक लगाएको भए पनि उनीहरुले चलाउन नछाडेको हिसान मोरङले जनाएको छ। ‘कलेज पोसाकमा विद्यार्थीहरुलाई सवारी चलाउन हिसानले बन्देज गरेको छ,’ हिसान मोरङका अध्यक्ष राजेश कार्कीले भने, ‘उनीहरुले कलेजको वरिपरि सावरी ल्याउँदैनन्।’ कलेजका बसले कहिले पनि सिट क्षमताभन्दा बढी विद्यार्थी नबोक्ने गरेको दाबी कार्कीले गरे।  

‘सिट क्षमताभन्दा बढी विद्यार्थी बोक्ने गरेका छैनौं,’ अध्यक्ष कार्कीले भने, ‘कलेजका धेरै बस भएको कहिले काहीँ कुनै एउटा बसमा बढी हुनु स्वाभिक हो। कहिले काहीँ एउटा बसको विद्यार्थी छुटे भने अर्को बसमा व्यवस्थापन गर्नुपर्ने हुँदा धेरै देखिएको मात्रै हो। सिट बराबर नै विद्यार्थी बोक्ने गरेका छौं।’  

प्रकाशित: २४ चैत्र २०७८ १४:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App