नौ देश सम्मिलित अन्तर्राष्ट्रीय विज्ञ समूह (थिङक ट्यांक)ले प्राचीन कपिलवस्तुको तिलौराकोटको अवलोकन गरेका छन्। बृहत्तर लुम्बिनी क्षेत्रको समग्र विकासका लागि सुझाव दिन गठित थिङक ट्यांक समूह लुम्बिनी हुँदै तिलौराकोट आएका हुन्।
समूह लुम्बिनीमा ३ दिन कार्यशाला सम्पन्न गरी तिलौराकोट पुगेका हुन्। युनेस्कोको हेडक्वाटरका प्रोफेसर रोलान लिनलको अगुवाईमा टोलीले तिलौराकोट र चेत्रादेईमा भइरहेको उत्खनन स्थलको अनुमगन र निरीक्षण गरेको हो। टोलीमा जापानीज विश्व विद्यालयका प्रोफेसरहरु, अमेरिका, फ्रान्स, श्रीलका, भारत, म्यानमार, अष्ट्रेलिया ईटली, थाईल्यान्डलगायत देशका विज्ञहरु छन्।
टोलीलाई बेलायतका प्रोफेसर रबिन कनिङघमले तिलौराकोट क्षेत्रमा विगत १० वर्षौदेखि गरिएको उत्खनन, उपलब्धि, ऐतिहासिक पृष्ठभूमि, प्रगतिलगायतका विषयमा जानकारी गराएका थिए। तिलौराकोटको पूर्वी, पश्चिमी, उत्तर र दक्षिण क्षेत्रमा गरिएको उत्खनन, भेटिएको प्रमाणहरुले विज्ञ टोलीहरु उत्साहित भएको पुरातत्व विभागका प्रमुख पुरातत्व अधिकृत रामबहादुर कुँवरले बताए।
विज्ञहरुको टोलीले अध्ययन अनुसन्धानपछि बृहत्तर लुम्बिनी विकासमा के-कस्तो विकास गर्न सकिन्छ भन्नेबारे सुझाव दिने उनले बताए। टोलीको आगमनले विश्व सम्पदा सूचीमा सूचीकृतको प्रक्रियामा रहेको तिलौराकोट क्षेत्रको विकासमा समेत मद्दत मिल्ने उनले बताए। सम्पदाको उत्खनन, संरक्षण गर्दै उत्कृष्ट शान्तिधाम बनाउन विज्ञ समूहको तिलौरकोट आगमन समेत महत्वपूर्ण रहेको लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले बताए।
विज्ञ समूहले तिलौराकोटसहित बृहत्तर लुम्बिनी क्षेत्रमा परेका सम्पदाहरुको पुरातत्व, संरक्षण गर्न योजना र सुझावहरु सुझाउने उनले बताए। लुम्बिनी क्षेत्रमा संरक्षणको मूल्य मान्यता राख्दै विकास गर्न सरकार, पुरातत्व विभाग, युनेस्को नेपाल र लुम्बिनी विकास कोषले स्वदेशी विदेशी विशेषज्ञ सम्मिलित विज्ञ समूह बनाएको हो।
यो थिङक ट्यांक समूह हो। समूहलाई बृहत्तर लुम्बिनी क्षेत्रका सम्पदाको संरक्षण, वैज्ञानिक अध्ययन अनुसन्धान र शान्तिधामको विकासका लागि सुझाव दिने कार्यादेश छ। विश्व सम्पदा स्थलको नेचुरल स्याण्डस्क्यापिङ संरक्षण गर्ने, सम्पदाको मूल्य मान्यता अनुसार काम भए नभएको अनुगमन गर्ने र एक वर्षका लागि गर्ने कामका विषयमा राय सुझाव दिनेछ।
विश्व सम्पदा सूचीमा बुद्धस्थल तिलौराकोटलाई सूचीकृत गर्न विज्ञहरुको समूहको आगमनले मध्यम मिल्ने लुम्बिनी विकास कोषका वरिष्ठ प्रशासकीय अधिकृत ज्ञानीन राईले बताए। तिलौराकोट र रामग्राम सन् १९९६ मा युनेस्को टेन्टेटिभ लिस्टमा परेका छन्। पूर्ण रुपमा पर्न बाँकी छ।
प्रकाशित: १२ चैत्र २०७८ १३:३२ शनिबार