१ पुस २०८१ सोमबार
image/svg+xml
समाज

पाल्पालाई ढाका राजधानी घोषणा

पाल्पालाई ढाकाको राजधानी घोषणा गरिएको छ। पाल्पाको तानसेनमा आयोजना गरिएको एक कार्यक्रममा लुम्बिनी प्रदेश सरकारकी कानूनमन्त्री रमा घर्ती र नेपाल सरकारका प्रतिनिधी नारायणप्रसाद दुवाडीले पाल्पालाई ढाकाको राजधानी घोषणा गरेका हुन्।

तानद्वारा उत्पादित ढाका कपडा ब्रान्डिङ गरी पछिल्लो समय बजार पठाउन थालिएसँगै पाल्पाली ढाको संघद्वारा ढाका राजधानीका रुपमा पाल्पालाई विकास गरिएको हो। कार्यक्रममा ढाका कपडाको गुणस्तर कायम गर्न मापदण्डअनुसार उत्पादन गर्नुपर्ने सरोकारवाला निकायको धारणा थियो।

लुम्बिनी प्रदेश सरकारकी कानून, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री रमा घर्तीले लुम्बिनी प्रदेशको पहिचानकै रूपमा ढाका कपडालाई विकास गरी स्वरोजगार तथा रोजगारका अवसर सिर्जना गर्न सकिने बताइन्।

मन्त्री घर्तीले महिलाको सीप विकास गरी उद्यमशीलता विकासमा प्रदेश सरकारले सहयोग गर्ने बताइन्। महिला आर्थिक, सामाजिक रूपमा सक्षम भएमा सुखी परिवार निर्माण हुने भएकाले महिलाहरूलाई उद्यमशील बनाउन आवश्यक रहेको उनले बताइन्।

यस्तै नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय सहसचिव नारायण प्रसाद दुवाडीले पाल्पालाई राजधानी घोषणा गरिएसँगै अवसर र चुनौती समेत थपिएको बताए। उनी भन्छन्, ‘राजधानी घोषणा गरेर अब यहाँको ढाका ब्राण्डिङ भएसँगै यसको प्रवर्धन, उत्पादन तथा उद्यमीको क्षमता विकास भएको हुनेछ।’

तानसेन नगरपालिका पाल्पा नगरप्रमुख अशोककुमार शाहीले सीप र युकेएडसँगको सहकार्यमा तानसेन नगरपालिकामार्फत् विभिन्न कार्यक्रम सञ्चालन गरी पाल्पालाई ढाकाको राजधानी घोषणा गर्न सकिएको बताए।

पाल्पाली ढाकाकी जननी पूर्णमाया महर्जनले पाल्पामा वि.स २०१५ देखि ढाका कपडाका रूपमा पहिचान बोकेको र महिला तथा विपन्न वर्गका नागरिकलाई रोजगारी समेत दिन सफल भएको बताइन्। हस्तकलाद्वारा उत्पादित ढाका कपडा उत्पादनमा वृद्धि हुँदै गइरहेको छ।

पाल्पामा पछिल्लो समय ढाकाबाट उत्पादित नेपाली पहिचान ढाका टोपीको छुट्टै महत्त्व छ। त्यसैमा पनि पाल्पाली ढाका टोपी र यहाँ ढाका कपडाबाट तयार पारिएका विभिन्न सामग्रीहरु स्वदेशमा मात्र नभइ विदेशमा पनि राम्रो पहिचान बनाएको छ।

ढाका कपडा सुरुवातीका क्रममा त्यतिबेला गणेशमानले पाल्पा कारागारमा रहेका थुनुवाहरुबाट कपडा बुन्ने काम गराउँदा बन्दीलाई आम्दानीको राम्रो माध्यम बनेको थियो। अहिले जिल्लामा उद्योग थपिने क्रम जारी छ। पाल्पा जिल्लामा करिब तीन दर्जनको हाराहारीमा ढाका उद्यमी तथा व्यापारी छन्। तानबाट उत्पादन गरिएका पाल्पाली असली ढाका कपडा देश तथा विदेशमा पनि निर्यात भएको छ।

प्रकाशित: १२ चैत्र २०७८ १२:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App