१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

सामुदायिक रेडियो राष्ट्रिय सम्मेलन नेपालगन्जमा

सामुदायिक रेडियो प्रसारक संघ (अकोराव) नेपालको नेपालगन्जमा सुरु भएको केन्द्रीय साधारण सभा। तस्बिरः नागरिक

सामुदायिक रेडियो राष्ट्रिय सम्मेलन तथा सामुदायिक रेडियो प्रशारक संघ (अकोराव) को १६औं केन्द्रीय वार्षिक साधारणसभा बुधबारबाट नेपालगन्जमा सुरु भएको छ। 

साधारण सभाको कार्यक्रमका प्रमुख अतिथि एवम कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुले उद्घाटन गरे। उद्घाटन शत्रलाई सम्बोधन गर्दै उनले संविधान रक्षा र संवैधानिक सर्वोच्चता रेडियो प्रशारणको लक्ष्य बन्नुपर्ने बताए।  

रेडियोले सामाजिक रुपान्तरण र राजनीतिक स्थायित्वका पक्षमा निरन्तर पैरवी गर्नुपर्ने बताए। मन्त्री बडुले रेडियोको विकासका लागि सरकार प्रतिवद्ध रहेको धारणा राखे। २०६२/६३ को जनआन्दोलनपछि रेडियो अभियानले नयाँ गति लिएको जिकिर गरे। रेडियोहरुको नविकरण शुल्क, रोयल्टीमा ५० प्रतिशत र बिद्युत महसुल लगायतमा वर्तमान सरकारले छुट दिएको जानकारी दिए।

सामुदायिक रेडियो प्रशारक संघ (अकोराव) का अध्यक्ष अर्जुन गिरीले राज्यको स्पष्ट नीति नहुँदा सामुदायिक रेडियोहरुले थुप्रै चुनौतीको सामना गर्नु परेको बताए। उनले सामुदायिक रेडियोको अलग पहिचान स्थापित गर्न राज्यले विशेष ध्यान दिनुपर्ने सुझाव दिए।

सो क्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा.वैकुण्ठ अर्याल, नेकपा एमालेका प्रचार विभाग उप–प्रमुख विष्णु रिजाल, नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महर, नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य अशोक कोइराला, नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेल, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत, नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमाथापा मगर लगायतले बोलेका थिए। उद्घाटनका क्रममा विभिन्न धर्मगुरुले सामूहिकरुपमा मन्त्रोच्चारण गरेका थिए।  

सो क्रममा सामुदायिक रेडियो प्रसारक संघ (अकोराव) का पूर्वअध्यक्ष मिनबहादुर शाही र मोहन चापागाइँ, सामुदायिक रेडियो अभियन्ता दधिराम सुवेदी, थारु समुदायका बड्घर पतिराम थारु र नेपालगन्जका कलाकार श्यामानन्द सिंहलाई सम्मान गरियो।  

अकोरावका महासचिव किशोरजंग थापाका अनुसार दुई दिनसम्म चल्ने साधारणसभाले नेपालगन्ज घोषणापत्र जारी गर्नेछ। अकोरावमा हाल ७७ जिल्लाका ३६१ सामुदायिक रेडियो स्टेशन सदस्य छन्। सदस्य स्टेशनबाट एक/एक जना प्रतिनिधी साधारण सभामा सहभागी भएको थापाले बताए। रेडियो सम्मेलन तथा साधारण सभामा सामुदायिक रेडियोको वर्तमान अवस्था, भावी रणनीति लगायत विषयमा पनि छलफल हुने उनले जानकारी दिए।

प्रकाशित: ९ चैत्र २०७८ १२:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App