म्याग्दीको मंगला गाउँपालिका–१ पूर्णगाउँमा बस्ने ६ वर्षीया जोन्ना विक गर्भमै रहेका बेला बुबाको मृत्यु भयो। बि.स २०७२ सालमा ट्याक्टर दुर्घटनामा बुबा प्रसाद सुनारको मृत्यु हुदाँ जोन्नाका दाजु ८ वर्षीय डाउट बिक २ वर्षका थिए।
ज्याला मजदुरी गरेर ल्याएको पैसाले साँझ बिहानको छाक टादैं आएका बुबाको मृत्यु भएपछि काखे बालक जोन्ना र डाउटसँगै एउटै बिस्तारामा सुतेकी आमाले छाडेर गएको चार वर्ष भयो। बुवाको मृत्युपछि आमा काखमा राम्रोसँग गुटमुटिने समेत नपाएका सहाराविहीन विक दाजुभाई घरमा खानेवस्तु नभएकाले मंगला–२ र्यालेखोरबाट पूर्णगाउँमा रहेको मामाघरमा आए।
अत्यधिक गरिबीका कारण मामाघरकी हजुरआमा जालमायाँ विकले समेत मागेर साँझबिहान छाक टार्नु धौ–धौ हुने भएकाले छोडेर हिडेका उनीहरू भोकभोकै दिनरात विताउने गरेका छन्। स्थानीय जनआवाज आधारभुत विद्यालयमा डाउटले कक्षा ३र जोन्नाले १ मा पढ्छन्। ‘काम खोज्न जान्छु भनेर गएकी आमा फर्किनन्,‘नियमित शिक्षादीक्षामा समस्या भइरहेको छ’ विद्यालयका प्रधानाध्यापक सुनबहादुर विश्वकर्माले भने।
कोरोनाका कारण लकडाउनमा सडकमा बेवारिसे अवस्थामा भेटिएका बिक दाजुभाईलाई विद्यालयमा लिएर शैक्षिक साम्रागी सहित खाद्यान्न सहयोग गरेको उनले बताए। सडक आसपासमै रात काट्ने गरेका विक दाजुभाईलाई उचित सुविधा भए पढाईमा समेत राम्रो गर्न सक्ने प्रअ विकको भनाई छ। परिवारसँगै आफन्तले समेत चासो नदिएको र ट्याक्टर दुर्घटनामा मृत्यु भएका बुबाले पाएको आर्थिक समेत हजुरबुबाले नै प्रयोग गर्ने गरेको उनले बताए।
‘उनीहरूको अवस्थाका बारेमा देख्ने सबैको आँखा रसाउँछ,‘आमाले छोडेर गएपछि पेटभरी खान समेत पाएका छैनन’ विकले भने। स्कुलमा लाग्ने खर्च तथा शैक्षिक साम्रागी, पोशाक उपलब्ध गराएपनि बस्ने बासस्थान नहुदाँ अलपत्र परेको पूर्णगाउँका कृष्णबहादुर केसीले बताए। दैनिकजसो सडकै खेल्ने र सुत्ने गरेकाले शिक्षादीक्षा सहित सहयोगको आवश्यकता रहेको बताए।सानै उमेरमा अभिभावक गुमाएका बालबालिकालाई नियमित विद्यालय आउन र खानाबस्न निकै समस्या रहेको उनले बताए। दलित बस्तीका बालबालिकाको अवस्था नाजुक भएकाले विभिन्न माध्यमबाट सहयोग गरिएपनि दिगो नभएको बताए।
अभिभावकविहीन बालबालिकालाई शैक्षिक सामाग्रीदेखि बिस्तारा र लगाउने लुगा तथा अगेनामा पाक्ने खाद्यान्नसमेत नभएको अवस्थामा भोकभोकै बस्न बाध्य भएकाले नियमित पठनपाठनमा समेत समस्या हुने गरेको छ। अत्यन्त गरिब परिवारका बालबालिकालाई अभिभावकले छोडेर गएपछि शिक्षादीक्षामा संकट परेपनि सम्बन्धित निकायबाट चासो नदिने गरेको अगुवाको गुनासो छ।
म्याग्दीका स्थानीय तहले विभिन्न शिर्षकमा लाखौं खर्च गर्ने गरेपनि विपन्न, बेसाहरा बालबालिकाको शिक्षादीक्षा सहित पालानपोषणमा योजना नै बनाउन सकेनन्। टोल–टोलमा जनप्रतिनिधि भएपनि बेसाहरा विक दाजुभाई जस्ता धेरैलाई पटक्कै छुन सकेको छैन।
प्रकाशित: ७ चैत्र २०७८ ०५:०७ सोमबार





