२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
समाज

तस्बिरमा हेर्नुस् म्यादी प्रहरीमा भर्ना हुन मधेस प्रदेशमा उर्लियो भीड

जिल्ला प्रहरी कार्यालय धनुषा अगाडि म्यादी प्रहरी भर्नाका लागि फारम भर्नेको भीड। तस्बिरहरुः नागरिक

आसन्न स्थानीय तह निर्वाचनका लागि आजदेखि म्यादी प्रहरीमा भर्ना आवेदन खुलाइएको छ। फाराम मधेस प्रदेशका आठ वटै जिल्ला प्रहरी परिसरमा युवायुवतीको भिड लागेको छ। आउँदो वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि एक लाख म्यादी प्रहरी भर्ना गर्न आवेदन खुलाइएको हो।

निर्वाचनमा नेपाल प्रहरीको सहयोगीका रूपमा जवानसरह सुविधासहित ४० दिन कार्यावधि तोकेर प्रहरी प्रधान कार्यालयले आइतबारबाट देशभर एकसाथ म्यादी प्रहरीको भर्नाका लागि आवेदन खुलाएको हो।

सरकारले स्थानीय तह निर्वाचन सुरक्षार्थ मधेस प्रदेशमा सबैभन्दा बढी म्यादी प्रहरी खटाउने भएको छ। मधेस प्रदेशका ८ जिल्लामा २१ हजार ६ सय ९८ जना म्यादी प्रहरी भर्ना गर्न लागिएको हो। यो कुल संख्याको २१ दशमलव ७ प्रतिशत हो। मधेस प्रदेशमा सबैभन्दा बढी धनुषा जिल्लामा ३ हजार ४ सय ८६ र सबैभन्दा कम पर्सामा १ हजार ८ सय १ जना भर्ना गरिनेछ। बाँकी जिल्लाहरुमा दुई हजारभन्दा माथि म्यादी प्रहरी खटिनेछन्।

म्यादीका आवेदक कुनै पनि नैतिक पतन देखिने फौजदारी कसुरमा दोषी नठहरिएको, राजनीतिक दलको सदस्यता नलिएको, शारीरिक तथा मानसिक रूपमा तन्दुरुस्त, साधारण लेखपढ गर्न जान्ने, आँखाको दृष्टि माइनस वा प्लस २ भन्दा कमजोर नभएको, उचाइ पुरुषको ५ फिट २ इन्च र ५० केजी तौल, महिलाको हकमा ५ फिट उचाइ र तौल कम्तीमा ४२ केजी हुनुपर्ने सर्त राखिएका छन्।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ) बाट उपदान/निवृत्तिभरणमा निस्किएका पूर्वसुरक्षाकर्मी, पूर्ववन रक्षक, विदेशस्थित सुरक्षा निकायबाट अवकाश/उपदानमा निस्किएका, यसअघि म्यादीमा काम गरेका र २०७८ साउनदेखि सुरक्षा निकायमा भर्ना आवेदन दिई शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा उत्तीर्णलाई म्यादी छनोटमा प्राथमिकता दिइने मापदण्ड छ।

म्यादीका लागि ४० दिन कार्यावधि तोकेर प्रतिव्यक्ति पारिश्रमिक एकमुष्ट ३० हजार २ सय ४०, पोसाकबापत ६ हजार, रासनबापत एकमुष्ट ७ हजार २ सय र एक पटकका लागि सवारी खर्चबापत प्रतिव्यक्ति एक हजारका दरले रकम विनियोजन हुने गरी म्यादीको सुविधा निर्धारण गरिएको छ।

 

प्रकाशित: ६ चैत्र २०७८ ०९:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App