६ वैशाख २०८१ बिहीबार
समाज

बुवाको मृत्यु र आमा बेपत्ता भएपछि दाजुभाइ भोकभोकै

म्याग्दीको मंगला गाउँपालिका–१ पूर्णगाउँमा बस्ने ६ वर्षीय जोन्ना विक गर्भमै रहेका बेला बुबाको मृत्यु भयो। विसं. २०७२ सालमा ट्र्याक्टर दुर्घटनामा बुवा प्रसाद सुनारको मृत्यु हुँदा जोन्नाका दाजु ८ वर्षीय डाउट विक २ वर्षका थिए।

ज्याला मजदुरी गरेर ल्याएको पैसाले साँझ–बिहानको छाक टार्दै आएका बुवाको मृत्यु भएपछि काखे बालक जोन्ना र डाउटसँगै एउटै विस्तारामा सुतेकी आमाले छाडेर गएको चार वर्ष भयो। बुवाको मृत्युपछि आमा काखमा राम्रोसँग गुटमुटिन समेत नपाएका सहाराविहीन विक दाजुभाइ घरमा खाने वस्तु नभएकाले मंगला–२ र्‍यालेखोरबाट पूर्णगाउँमा रहेको मामाघरमा आए।

अत्यधिक गरिबीका कारण मामाघरकी हजुरआमा जालमाया विकले पनि मागेर साँझबिहान छाक टार्ने अवस्था रहेकाले उनलाई छाडेर हिँडेका उनीहरू भोकभोकै दिनरात बिताउन बाध्य छन्। स्थानीय जनआवाज आधारभूत विद्यालयमा डाउटले कक्षा ३ र जोन्नाले १ मा पढ्छन्।

‘काम खोज्न जान्छु भनेर गएकी आमा फर्किनन्। नियमित शिक्षादीक्षामा समस्या भइरहेको छ,’ विद्यालयका प्रधानाध्यापक सुनबहादुर विश्वकर्माले भने। कोरोनाका कारण लकडाउनमा सडकमा बेवारिसे अवस्थामा भेटिएका विक दाजुभाइलाई विद्यालयमा लिएर शैक्षिक सामग्रीसहित खाद्यान्न सहयोग गरेको उनले बताए।

सडक आसपासमै रात काट्ने गरेका विक दाजुभाइलाई उचित सुविधा भए पढाइमा समेत राम्रो गर्न सक्ने प्रअ विकको भनाइ छ। परिवारसँगै आफन्तले समेत चासो नदिएको र ट्याक्टर दुर्घटनामा मृत्यु भएका बुवाले पाएको आर्थिक सहयोग समेत हजुरबुवाले नै प्रयोग गर्ने गरेको उनले बताए।

प्रकाशित: ६ चैत्र २०७८ ०३:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App