२ पुस २०८१ मंगलबार
image/svg+xml
समाज

बद्लिँदै थारू गाउँको ‘धुरहेरी’!

कञ्चनपुरको बेलौरीमा थारू समुदायका युवायुवतीहरु होलीको रंग खेलेपछि सामूहिक तस्बिर खिचाउँदै। तस्बिरः नागरिक

होलीलाई रंगको पर्वका रुपमा अर्थ्याइए पनि सँगै एउटै समुदायमा बसोबास गर्ने थारू समुदाय भने होलीलाई रंगविनाको होली अर्थात् धुरहेरी भनेर अर्थ्याउँछन्। पश्चिमी तराईमा बसोबास गर्ने थारू समुदाय होलीमा रंग लगाउँदैनन् भन्दा अचम्म पर्नुहोला। तर, वास्तविकता त्यही थियो, अहिले भने त्यो बदलिएको छ। होलीलाई थारू समुदाय धुरहेरी भन्दै पहिलो दिन पानी, दोस्रो दिन धुलो र तेस्रो दिन हिलो खेलेर होली मनाउने गर्छन्। तर, पछिल्लो समयमा भने यो समुदायले आफ्नो संस्कृति विर्सदै आयातित संस्कृति अँगालेको भन्दै वयोवृद्धहरु भने चिन्तित छन्।

थारू समुदायको धुरहेरी पर्व अर्थात् होली पर्व बद्लिएको भन्दै गौरीगंगा नगरपालिका–७, मट्कौनाका थारू अगुवा चेँचुराम जोगी थारू चिन्तित छन्। पहिलेको जस्तो धुरहेरी (होली) अहिलेका पुस्तामा पुस्तान्तरण नभएर आयातित होलीको सिको गरेको भन्दै उनी चिन्तित भएका हुन्। ‘हामीले खेल्ने धुरहेरी अहिलेको धुरहेरी रहेन,’ चेचुरामले भने,‘अहिले त धुरहेरी पूरै पहाडी समुदायको रंगिन होली नै भइसक्यो।’ 

थारू समुदायले रंगविनाको होली खेल्ने गरेको उनको भनाई छ। ‘थारू समुदायले फागु पूर्णिमाको अघिल्लो राति चीरदाह गरेर पूर्णिमाको दिनमा पानी छ्यापेर एक आपसमा होली खेल्ने गर्दथे, दोस्रो दिनमा धुलो अर्थात् माटोको धुलो अनि पिठो एक आपसमा दल्ने गर्दथे,’ गौरीगंगा नगरपालिका–७, कैलाशपुरका पूर्व भलमन्सा तुलाराम जोगी थारूले भने,‘तेस्रो दिनमा हिलो खेलेर धुरहेरी अर्थात होली पर्व सकिन्थ्यो, तर अहिले भने सुरुकै दिन रंग दलेर होली सकिन थालेको छ।’

थारू समुदायमा पहाडी समुदायसँग थारू समुदायको हेलमेल र आपसी सद्भावले गर्दा थारू संस्कृति भुल्दै पहाडी संस्कृतिको सिको गरेर आफ्नो संस्कृति विर्सिन थालेको बताउँदै पूर्व भलमन्सा तुलारामले भने,‘थारू गाउँमा अहिले थारू संस्कृति विर्सिँदै गएको छ।’ थारू समुदायको युवाहरु विदेशीने गरेको र मनग्य पैसा कमाएर आफ्नो संस्कृति विर्सदै पहाडी संस्कृतितर्फ आकर्षित भएको उनको गुनासो छ। ‘अहिले पढे लेखेका थारू समुदायका युवाहरु आफ्नो संस्कृति बचाउन लजाउने गरेका कारण पनि पराई संस्कृति अँगाल्न थालेका छन्,’ उनले भने,‘जसले गर्दा थारू समुदायको धुरहेरी अर्थात् होली पर्व परिमार्जित भइसक्यो।’

तीन दिनसम्म गाउँमा धुमधामसँग मनाउने धुरहेरी पर्व अहिले एकै दिनमा रंग तथा अविर दलेर सनि थालेको उनले बताए। ‘तीन दिनसम्म मनाइने धुरहेरी पर्व अहिले एकै दिनमा सकिन थालेको छ,’ उनले भने,‘यो सब आयातित संस्कृतितर्फ थारू युवाहरु आकर्षित हुनु र संस्कृति पुस्तान्तरण नहुनु पनि हो।’

यसरी मनाइन्छ धुरहेरी  

फागुन पूर्णिमा अर्थात फागु पूर्णिमाको पहिलो दिन चीर दहन गरिन्छ। चीर दहनको विधि पनि थारू समुदायमा आफ्नै मौलिक तरिका छ। चीर दहनको दिन थारू गुरुवा/देशबन्ध्या तथा भलमन्साहरूले विशेष पूजाको तयारी गर्दछन्। गाउँका सदस्यहरूले आफ्नो क्षमताअनुसार चामल र खाने तेल संकलन गरी चामलको पिठो बनाउने गर्दछन्। जुन पिठोमा मिठाई मिसाएर तेलमा तरेको रोटी (झझरा) बनाउनु पर्ने हुन्छ। उक्त रोटीलाई प्रसादको रुपमा प्रयोग गरिने प्रचलन पनि छ।

त्यस्तै, चीर बनाउनको लागि नजिकको जंगलबाट सिमलको हाँगा काटेर ल्याइन्छ। साँझपख (जब गाईभैंसी गोठमा बाँध्ने समय हुन्छ) मा सिमलको हाँगा गाउँको दक्षिण दिशामा गाडिन्छ। जसको माथि तोरीको डाँठ, पराल, खर थुपारिन्छ। त्यसपछि भलमन्सा तथा चिराकीले विधिपूर्वक पूजा गरी थुपारिएको खरमा आगो लगाउँछन्। जुनक्रममा गाउँका यूवा तथा बूढापाकाले लामो लठ्ठीमा गोबरको गुइँठा गाढेर लगेका हुन्छन्। उनीहरु बलिरहेको आगोमा उक्त गुइँठा जलाउने गर्छन्। होलिकाको प्रतिमाको स्वरुप तथा चीर दहन गर्ने अवधिमा रमाइलो गरिन्छ।

सोही समयमा कोही आफ्नो लठ्ठीमा गाढेर लगेको गोबरको गुइँठामा आगो लगाउने क्रममा हुन्छन्, भने कोही ढुंगा, माटोले उक्त गुइँठालाई हानेर खसाल्नुका साथै बलिरहेको आगोलाई निभाउने गर्छन्। यसरी ढुंगा माटोले जलिरहेको वस्तुलाई हान्नुको तत्पर्य दुष्ट होलिलाई कुटीकुटी जलाउनु अर्थात् पृथ्वी लोकबाट होलिका प्रवृत्ति सधैंको लागि नाश होस् भन्ने पनि हो। त्यसपछि तेलमा पकाइएको झझरा प्रसादको रुपमा आपसमा बाँडेर खाई आगो लिएर घर फर्कन्छन्।

गुइँठा रहेको उक्त आगोलाई यस समुदायमा नयाँ आगोको रुपमा लिइन्छ। पछि उक्त आगोलाई आ–आफ्ना कुल देवतालाई चढाउने तथा उक्त आगोमा विभिन्न परिकार बनाई देवतालाई पुज्ने पनि गरिन्छ। तर, पहिलो दिन रंग अविर भने दल्न नपाइने प्रचलन रहि आएको छ।

दोस्रो दिन बिहानै ‘चीर बुटैना’ अर्थात सेलाउने गरिन्छ। सेलाउनको लागि गएका गाउँलेले लोटा या गिलासमा पानी लगेर गएका हुन्छ। उनीहरूले कुशको कुचो बनाई त्यही कुचोको मद्दतले जलेको वस्तु या होलिका प्रतिमामा पानी छ्याप्ने गर्दछन्। यसरी चीर बुटाउने कार्य सकिएपछि गाउँलेहरू गाउँभरीको साझा देवता अर्थात् देवथनुवामा जान्छन्। थनुवामा रहेका देवीदेवतालाई विधिपूर्वक पूजाआजा गरी सकेपछि मात्रै धुरहेरी पर्वको सुरुवात हुन्छ। यसै दिनदेखि थारू समुदायका पुरुषहरु डम्फु र मादल लिई घरघर गई फगुवा अर्थात् फागू पूर्णिमामा गाइने फगुवा गाउँदै धुरहेरी मनाउने गर्छन्।

घरघर गई फगुवा गाउँदा घरमूलीले गच्छे अनुसारको रुपैयाँ पैसा तथा अन्नपात दिने गर्छन्।  पहिलो दिन थारू समुदायहरु पानी छ्यापेर एक आपसमा रमाइलो गर्छन् भने दोस्रो दिन धुलो अर्थात् माटोको धुलो एक आपसमा दलेर रमाइलो गर्छन्। जसलाई ‘धुर’ भनिन्छ। तेस्रो दिनमा हिलो माटो खेलेर धुरहेरी अर्थात् होली सकिने गर्छ। तेस्रो दिनको होली सदियौंदेखि अराजक तथा खतरापूर्ण रुपमा देखा पर्दै आएको छ।

यो दिन हिलो, खरानी, कडा रंग, फोहर पानी, जलेको तेल समेत प्रयोग हुने हुँदा अराजक तथा खतरापूर्ण देखिएको हो। यद्यपी कतिपय थारू वस्तीमा दोस्रो दिन हिलो, माटो र तेस्रो दिन रंग अविरको प्रयोग पनि गरिएको पाइन्छ।

प्रकाशित: ५ चैत्र २०७८ १४:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App