१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

प्राचीन कपिलवस्तुलाई पर्यटकीय गन्तव्य बनाउन फोटो प्रदर्शनी

खुला संग्रहालयकारुपमा मानिएको प्राचीन कपिलवस्तुलाई पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले कपिललस्तु नगरपालिका–२ स्थित निग्रोधराम कुदानमा फोटो प्रदर्शनी गरिएको छ।

कपिलवस्तुलाई नयाँ पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले बुद्धस्थलहरुबाट देखिएका हिमाल फोटो प्रदर्शनी गरिएको हो। बुद्धस्थल तिलौराकोट, गोटिहवा, जगदीशपुर र निग्रोधाराबाट देखिएका मनमोहक र रोमाञ्चक हिमालका तस्बिर प्रदर्शन गरिएको थियो।

फागु पूर्णिमाका दिन बुद्धत्व प्राप्त गरी भगवान बुद्धको रुपमा पहिलो पटक आफ्नो घर कपिलवस्तु फर्कनु भएको दिनको उपलक्ष्यमा गच्छामी मिडिया ग्रुप र कपिलवस्तु टुरिज्मले बुद्धले देखेको त्यो हिमाल थिममा तस्बिरमा हिमाल प्रदर्शनी गरेको हो।

मानवीय जनजीवन, पुरातात्विक स्थल र खुला आकाशसंगै देखिएका अन्नपूर्ण प्रथम, धौलागिरी दोस्रो, तेस्रो र चौथौं तथा गुर्जा हिमालका चित्ताकर्षक तस्बिर प्रर्दशनी बुद्धस्थल निग्रोधारामा गरिएको थियो। फोटोपत्रकार मनोज पौडेल र बृजेश जयसवालले खिचेका मनमोहन मनछुने र चित्ताकर्षक १० वटा तस्बिर २० वाई ३० इन्च साईजको बनाएर प्रदर्शन गरिएको थियो।

प्रदर्शनीसंगै निग्रोधाराममा मैंत्रीभावको प्रतिक फुल आदान–प्रदान सद्भाव दिवस र दिप प्रज्ज्वलन पनि गरिएको थियो। प्रदर्शनीको रिबन काटेर उद्घाटन लुम्बिनीका भौतिक पूर्वाधार विकास मन्त्री सहसराज यादवले कार्यक्रमले आझेलमा परेको कपिलवस्तुको पर्यटकीय विकासमा मद्दत मिल्ने बताए। ‘राम्रो कामको सूरुवात गरिएको छ, यसले देश र विदेशमा रहेको पर्यटककहरुको ध्यान तान्नेछ’ उनले भने।

उनले कपिलवस्तुमा रहेको बुद्ध स्थलको पर्यटकीय र भौतिक पूर्वाधार विकासका लागि प्रदेश सरकारले बजेट विनियोज गर्ने बताए। सो अवसरमा लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले पर्यटककको ध्यान खिच्न गरिएको यो कार्यक्रम निकै राम्रो रहेको बताए। उनले कोषले कपिलवस्तु, रुपन्देही र नवलपरासीमा रहेको बुद्धस्थललाई जाडेर बृहत्तर लुम्बिनीको गुरुयोजना अनुसार काम अघि बढाइने बताए।

उनले निकट भविष्य मै तिलौरकोट विश्व सम्पदा सूचीमा सूचीकृत हुन लागेका समेत उनले बताए। तराईबाट हिमाल देख्न पाइने ठाउँका रुपमा विकसित भइ हिमाल पर्यटनको गन्तव्य बन्न सहयोग पुग्ने लुम्बिनी विकास सद्भाव दूत तथा पर्यटनविद् विक्रम पाडेकाजीले बताए।

राजकुमार सिद्धार्थले गृह त्याग गरेर भारतको बैशाली पुग्दा स्थानीयले परिचय माग्दा आफू हिमालयको देशबाट आएको भनेका कुरा उल्लेख गर्दै उनले भने त्यसकारण अहिले बुद्धस्थलबाट देखिने हिमालको ऐतिहासिक सान्दर्भिकता बढेको हो। कार्यक्रमका लागि कपिलवस्तु नगरपालिका वडा नम्बर ३ र वडा नम्बर २ ले सहयोग गरेको थियो।

मनोज श्रीवास्तवको अध्यक्षता र खग प्रसाद चापागाईको संचालनमा भएको कार्यक्रममा  कोषका सदस्य नेत्र शाही, कपिलवस्तु नगरपालिका वडा नम्बर २ का अध्यक्ष रामभजन कलवार, ३ का अध्यक्ष प्रकाश गैरे, पत्रकार महासंघका जिल्ला सभापति किरणमान बज्राचार्य फोटा पत्रकार मनोज पौडल लुम्बिनी होटल एशोशियशनका वरिष्ठ उपाध्यक्ष लिलामणि शर्मा लगायतले शुभकामना मन्तव्य दिएका थिए।

प्रकाशित: ५ चैत्र २०७८ ११:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App