१८ मंसिर २०७९ आइतबार
समाज

अझै पनि ठगिँदैछन् सार्वजनिक यातायातका यात्रुहरु

सोमबार साँझ काठमाडौँको कलंकी बस्ने प्रेम बस्नेत रत्नपार्कबाट कलंकीको लागि माइक्रोबस चढे। कालीमाटी पुगेपछि सहचालकले उनीसँग भाडा माग्यो। तर खुद्रा पैसा नभएपछि बस्नेतले पचास रुपैयाँ दिए।

तर सहचालकले उनलाई पच्चिस रुपैयाँ मात्र फिर्ता दिए जबकी कालिमाटीसम्मको भाडा १८ रुपैयाँ मात्र हो। उनले ७ रुपैयाँ बढी भाडा तिर्नुपर्यो।  

बाँकी रकम फिर्ता माग्दा बस्नेतलाई खलासीले उल्टै थर्काउँदै भने, ‘धेरै किचकिच गर्ने हैन लाग्ने जति भाडा दिन नसक्नेले आफ्नै गाडी किन्नु नि।’ खलासीसँग केही बेर चर्काचर्की भएपछि उनी चुपचाप आफ्नो बाटो लागे।  

बस्नेत त प्रतिनिधि यात्रु मात्र हुन्। उपत्यकाका सार्वजनिक यातायातमा यस्ता ठगी र दुव्र्यहार दिनहुँ भोग्नुपर्छ। अझ उपत्यका बाहिरबाट आएका यात्रुहरु झनै बढी ठगिन्छन् किनकी उनीहरुलाई यहाँको रुट र भाडाबारे कुनै जानकारी नै हुँदैन।

यसरी ठगीने यात्रुहरुलाई कहाँ गएर उजुरी दिने भन्नेसम्म पनि थाहा छैन। सार्वजनिक यातायातमा चढ्दा यात्रुले दिएको पैसाबाट बाँकी फिर्ता गर्नुपर्ने रकम नदिने र फिर्ता मागे उल्टै झगडा गनुपर्ने धेरै यात्रुहरू गुनासो बढ्दो छ।  

महानगरीय ट्राफिक प्रहरी महाशाखा सूचना अधिकृत संजीव दास शर्मा भने ट्राफिक प्रहरीलाई ठगिएको उजुरी प्राप्त भएका तत्काल कारबाही गर्ने बताउँछन्। ‘हामी कहाँ उजुरी आयो भने हामी तत्काल कारबाही गर्छो,҆ उनी भन्छन्।  

के सरकारले सार्वजनिक यतायताका लागि भाडा दर तोकेर मात्र हुन्छ र? यो भाडा दर यातायात व्यवसायीले लागु गरेका छन् की छैन भनेर अनुगमन गर्नुपर्ने होइन र?

शर्माका अनुसार लामो तथा छोटो दूरीका सवारी साधनमा चर्को भाडा उठाएको सूचना पाइएमा ७ सय १५ सय रुपैयाँसम्म जरिवाना हुने शर्माको भनाइ छ। त्यसका लागि १०३ मा फोन गरे तुरुन्तै कारबाही गर्ने उनी बताउँछन्।  

यता यात्रुहरु भने उजुरी प्रक्रियाबारे आफूहरुलाई कुनै जानकारी नभएको बताउँछन्। हरेक सार्वजनिक साधनहरुमा उजुरी गर्ने प्रक्रिया र फोन नम्बरहरु स्पष्टसँग राख्नुपर्ने धारणा ठगिएका यात्रु बस्नेतको छ।    

यसैगरी महिला, जेष्ठ नागरिक, अपांगका लागि बेग्लै आरक्षणको व्यवस्था गरेपछि चालक सहचालकदेखि सार्वजनिक बसमा यातायतामा यात्रा गर्ने कोही पनि सचेत भएको पाइँदैन।  

शनिबार काठमाडौँबाट दोलखाका लागि विहान ११ बजे छुटेको गाडीमा यात्रुको संख्या भरिभराउ थियो। बनेपाको यात्रामा निस्किएकी ५५ वर्षीया रत्ना कार्की आफ्नो पाँच वर्षीय नातिको हात समाएर उभिएकी थिइन्। तर जेष्ठ नागरिक सिटमा पच्चिस तीस वर्षीय युवक बसेका थिए।  

उनले त्यो युवकलाई आग्रह गर्दै भनिन्, ‘बाबु एकछिनका लागि सिट छोडिदिनुस न कस्तो गाह्रो भयो।’ उनले भने, ‘छोड्न त मिल्दैन। मैले बसपार्कबाट नै टिकट काटेर आएको हुँ।’

त्यो दृश्य देखेर पनि न सार्वजनिक यातायाताका चालक सहचालक बोले न अरु यात्रु। यी त उपत्यका छोडेर बाहिरिने गाडीमा हुने प्रतिनिधि घटना मात्रै हो।  

प्रवक्ता शर्मा भने आरक्षित सिटमा यसबाहेकका यात्रुहरु अटेर गरेर बसेको जानकारी आउने बित्तिकै आफूहरुले कारबाही गर्ने गरेको बताउँछन्। ‘सार्वजनिक यातायातमा जे जति घटनाहरु हुन्छन् ती सबैको जानकारी र उजुरी ट्राफिक प्रहरीलाई दिनुपर्छ, हामी सबै किसिमका उजुरीलाई कारबाहीको प्रक्रियामा लैजान्छौं,҆ उनले भने।  

गत आइतबार विहान ७ बजे सिन्धुपाल्चोकको किउलबाट काठमाडौँका लागि छुटेको हेलम्बु यातायातले चण्डिका शर्मालाई मेलम्चीसम्मको भाडा ८० रुपैयाँ लियो। किउलबाट काठमाडौँको चुच्चेपाटीसम्मको भाडा २ सय ५१ रुपैयाँ तोकिएको छ। तर यात्रुहरु भने किउलबाट ८० र मेलम्चीबाट काठमाडौँसम्म २ सय रुपैयाँ भाडा तिर्न बाध्य छन्।  

आफूलाई गन्तव्यमा नपुगी भएको छैन उसले मागेको जति भाडा नदिए बीच बाटोमा नै झारिदिन्छ शर्माले गुनासो पोखिन्। अन्य विकल्प नभएका कारणले यात्रुहरु जानीजानी ठगिन बाध्य छन्।  

सिन्धु हेलम्बु यातायात प्रालिका कर्मचारीले भने, ‘हामीले डाइरेक्ट भाडा मात्रै तोकिदिएका छौँ। स्थानीय तहको भाडा सेवा समितिले नतोकिदिएकाले उनीहरूले आफ्नो मनलाग्दी भाडा लिएका होलान्। हामी यो कुरा सबै टिकट काउन्टरमा छलफल गरेर भाडा बढी असुल्नेलाई कारबाही गर्नेछौँ।’

यी उपत्यका र उपत्यका बाहिरका प्रतिनिधि घटना हुन्। दिनहुँजसो हजारौँ यात्रुले यस्ता सास्ती खेपिरहेका छन्।  

भाडा दरमा यात्रुहरु ठगिएका घटनाहरु त छन् नै उपत्यकाका अधिकांस रुटमा पर्याप्त संख्यामा सवारी साधनहरु नहुँदा यात्रुहरुले सास्ती भोगिरहेका घटना पनि त्यत्तिकै छन्।

यात्रुहरुको भोगाई र अनुभवले सुन्दा र हेर्दा सरकार र यातायात व्यवसायी भाडा दर कार्यान्वयनमा चुकिरहेका देखिन्छन्। यात्रुहरु अहिले पनि निर्धारित भाडाभन्दा बढी रकम तिर्न बाध्य छन्। सार्वजनिक यातायातका बेथितीहरु अहिले पनि कायमै छन्।  

यतायात महासंघका केन्द्रीय सदस्य अर्जुन गौतम भन्छन्, ‘अहिलेको हामी बाध्यकारी अवस्थामा छौँ। सरकारले २०६९ सालदेखि हालसम्म पनि वैज्ञानिक भाडा समायोजन गरेको छैन। ट्याक्सी लगायत सार्वजनिक साधनमा आजका दिनसम्म पनि मूल्य वृद्धि भएकै छैन। ८५ रुपैयाँ पेट्रोल हुँदाको भाडा अहिले १ सय ५० रुपैयाँ हुँदासम्म ट्याक्सीको भाडा बढेको छैन। बसमा पनि यस्तै समस्या छ। बढेर बजार भाउ कहाँ पुगिसक्यो। अब हामीले १८ रुपैयाँमा यात्रु बोक्न सक्ने अवस्था छैन। ट्याक्सीले ३९ रुपैयाँ किलोमिटरमा यात्रु बोक्न सक्ने अवस्था छैन। त्यसकारण एक दुई रुपैयाँ भाडा बढाएर लिनु सामान्य कुरा हो।’  

रत्नपार्कबाट किर्तिपुरसम्म चल्ने माइक्रोबसमा झुन्डिएर यात्रा गर्ने क्रममा ०६७ सालमा एक जना यात्रुको ज्यान समेत गएको थियो। त्यसैगरी रत्नपार्क भक्तपुर, रत्नपार्क थानकोट चल्ने गाडीको अवस्था पनि त्यस्तै छ। झन रत्नपार्कबाट बानियाँटार जाने गाडीमा चढ्न त झन लाइन बस्नुपर्ने अवस्था छ। त्यसैगरी यात्रा नगरे आफ्नो गन्तव्यमा कसरी पुग्ने भन्ने चिन्ता यात्रुलाई छ। त्यसकारण उनीहरु चुपचाप यात्रा गर्न विवश रहेका छन्।  

धेरै जसो सार्वजनिक यातायातमा यात्रुहरू उभिनुपर्छ नि भन्ने प्रश्नको जवाफमा उनी भन्छन्, ‘विहान बेहुला हाम्रा गाडीहरू खालीखाली दौडिनुपर्छ। अफिसमा टाइममा अलिअलि कमाउने समय हो। हामी बाध्य भएर यात्रुको सकस हेर्न विवश छौँ।’

महानगरीय ट्राफिक प्रहरी महाशाखाले कारबाही पनि गरिरहेको बताएको छ। बढेको भाडाअनुसार अहिले न्यूनतम भाडा १८ रुपैयाँ तोकिए पनि २० रुपैयाँ लिने गरेको, २३ रुपैयाँ भाडा तोकिएका स्थानमा २५ रुपैयाँ लिने गरेको गुनासो बढ्न थालेको छ।  

ट्राफिक प्रहरी महाशाखाले सार्वजनिक यातायातले ठगी गर्न लागेको थाहा पाएमा टोल फ्री नं १०३ मा टिपाउन आग्रह गरेको छ।

प्रकाशित: ४ चैत्र २०७८ १८:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App