६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

होटलमा महिलाको हत्या गरी फरार युवा पक्राउ

पक्राउ परेका मगरलाई सार्वजनिक गर्दै प्रहरी। तस्बिरः रोहित राई

धरान १८ बुद्धचोकस्थित न्यू कान्तिपुर होटल एण्ड गेष्ट हाउसमा सँगै बसेकी महिलाको हत्या गरी फरार युवा पक्राउ परेका छन्।

सुनसरी प्रहरीले छिमेकी जिल्ला धनकुटाको पनि प्रहरीको सहयोगमा पाख्रिबास ६ फलाटेका २४ वर्षीय जीवन भनिने विनेश राना मगरलाई पक्राउ गरेको हो। मगरलाई उनकै ससुराली घर धनकुटाको पाख्रिबास नगरपालिका ११ बाट शनिबार साँझ पक्राउ गरेर धरान ल्याएको हो। प्रहरीले आइतबार पत्रकार सम्मेलन गर्दै कर्तव्य ज्यान मुद्दामा ७ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको जानकारी दिएको छ।

पत्रकार सम्मेलनमा उपस्थित सुनसरी प्रहरी प्रमुख एवं एसपी सञ्जयसिंह थापाका अनुसार मगर र मृतक इटहरी ५ डेरा गरि बस्ने ३८ वर्षीया सुमित्रा तामाङ २ दिन होटलमा सँगै बसेका थिए। कोठामा सुमित्राको मात्र मृत शव भेटिएको र अनुहार, घाँटी, जिउलगायतमा निलडाम चोटपटक पनि देखिएकोले हत्याको अनुमान गरेर अनुसन्धान अघि बढाइएको उनले बताए।

मृतकको सनाखत भएपछि फरार मगरको पनि पहिचान गरेर नाकामा कडाई गरेर सम्भावित स्थानहरुमा खोजी तीव्र पारिएको एसपी थापाले बताए। ‘बोर्डर पनि सिल गर्‍यौ। आफन्तहरु कहाँ कहाँ छन् भनेर पारिवारिक ट्रि नै बनाएर खोजीमा जुट्यौ,’ एसपी थापाले भने,‘कहिले जोगवनी, कहिले लेटाङ, कहिले खनारतिर देखिन्थ्यो। हिजो शनिबार साँझ उनकै ससुरालीबाट पक्राउ गरेर राती नै ल्यायौ।’ प्रारम्भिक अनुसन्धानको क्रममा मगरले सुमित्राको हत्या गरेको स्वीकार गरिसकेको र थप अनुसन्धानकै क्रममा रहेका पनि उनले बताए।

प्रहरीका अनुसार मगर र मृतक तामाङबीच करिब एक वर्षअघि चिनजान भएको थियो। मगर इटहरीमा सफारी चालक थिए। दुवैबीचमा घनिष्टता बढ्दै गएर प्रेम सम्बन्धमा थिए। मगरको घरमा श्रीमतीसँग सम्बन्ध राम्रो नभएपछि माइतीमा बस्दै आएकी थिइन्। सुमित्राको श्रीमान् पनि भारतीय सेनाबाट अवकाश पाएपछि थप रोजगारीको क्रममा ब्रुनईमा गएका थिए।

पछिल्लो समयमा मगर स्काभेटरको सहायक अपरेटर भएर भोजपुर गएका थिए। उनीहरु फागुन १५ गते तीन महिनापछि सल्लाह भएर धरानमा भेट भएको र होटलमा सँगै बसेको एसपी थापाले बताए। फागुन १६ गते राती दुवैले मादक पदार्थ सेवन गरेको र सुमित्राले अर्कै पुरुषसँग मोवाइलमा कुरा गरेको बिषयमा झगडा भएपछि मगरले कुटपिट गर्दै घाँटी थिचेर हत्या गरेको एसपी थापाले बताए। उनले भने, ‘१६ गते बेलुका मृतकले अन्य पुरुषसँग मोवाइलमा बोलेको बिषय विवाद हुँदा विनेशले आवेशमा लात, मुक्काले कुटपिट गरेको, विवाद बढ्दै जादाराती ११ बजेतिर दुवै हातले घाँटी थिचेर हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।’

हत्या पछि मृतकलाई खाटमा सुताएर ओढ्ने ओढाएर ब्यागमा रहेको ५ हजार, मृतकको मोवाइल पनि लिएर होटलको पछाडितर्फ चाबी नलगाएको चेनगेट खोलेर फरार भएको प्रारम्भिक सोधपुछबाट देखिएका पनि प्रहरीले जनाएको छ।

प्रकाशित: २२ फाल्गुन २०७८ १२:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App