१६ चैत्र २०८० शुक्रबार
समाज

६ महिनापछि आज संवैधानिक इजलास

६ महिनापछि शुक्रबार सर्वोच्च अदालतमा संवैधानिक इजलास बस्ने भएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि प्रश्नचिह्न उठाउँदै असोजदेखि संवैधानिक इजलास बस्न सकेको थिएन। 

फागुन १ गते संसद् सचिवालयमा महाभियोग दर्ता भएसँगै प्रधानन्यायाधीश जबरा निलम्बनमा परेपछि कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको नेतृत्वमा संवैधानिक इजलास बस्न लागेको हो।  

प्रधानन्यायाधीशको नेतृत्वमा वरिष्ठतम न्यायाधीशसहितको पाँच सदस्यीय संवैधानिक इजलास हुने संवैधानिक व्यवस्था छ। संविधानसँग बाझिएका र गम्भीर व्याख्या गर्नुपर्ने मुद्दा संवैधानिक इजलासले टुंगो लगाउने गरेको छ। विवादकै कारण ६ महिनायता संवैधानिक इजलास बस्न सकेको थिएन।  

प्रधानन्यायाधीश जबराको राजीनामाको माग गर्दै उनी रहने इजलासमा अन्य न्यायाधीश बस्न नमानेपछि यस अवधिमा संवैधानिक इजलास बस्न नसकेको हो। जबरा प्रधानन्यायाधीशबा निलम्बित भएपछि बल्ल संवैधानिक इजलास बस्न लागेकोे हो। 

संवैधानिक इजलासमा करिब ३ सय मुद्दा विचाराधीन छन्। असोज १३ मा संवैधानिक इजलासमा ३७ वटा मुद्दाको पेसी तोकिएको थियो। त्यसपछि इजलास ठप्प छ। हरेक बुधबार र शुक्रबार संवैधानिक इजलास बस्ने गरेको थियो। इजलासमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेशमार्फत संवैधानिक अंगहरूमा गरेका नियुक्तिसम्बन्धी मुद्दा पनि विचाराधीन छ।

प्रकाशित: २० फाल्गुन २०७८ ०६:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App