१२ मंसिर २०८१ बुधबार
image/svg+xml
समाज

‘सन्ध्याकालीन आरतीमा पवित्रताको गंगासागर बर्सिन्छ’

भारतमा गंगा नदीको तटमा महागंगा आरती गरिन्छ। गंगालाई जलकी माता मानिन्छ, सीतालाई जमिन अर्थात् थलको। सीताको जन्मस्थली जनकपुरधामको गंगासागर तटमा हुने गंगाआरतीलाई जल र थलको संगम मानिन्छ। जलको संरक्षण र प्रकृतिको पूजा अर्थात् गंगाआरतीले जनकपुरधामको रौनक र गौरव बढाइरहेको छ।

‘सेभ हिस्टोरिकल’ जनकपुरको पहलमा सुरु भएको गंगा आरती आन्तरिक तथा बाह्य पर्यटकका लागि आस्था एवं आकर्षणको केन्द्र बन्दै गएको छ। गंगा आरती हेर्न प्रत्येक साँझ यहाँ पर्यटकको घुइँचो लाग्ने गरेको छ। आरतीमा सहभागी हुन आन्तरिक पर्यटकका अलवा छिमेकी भारत तथा तेस्रो मुलुकबाट समेत पर्यटक आउने गरेका छन्।

आरतीका लागि गंगासागरको किनारामा तीन वटा मण्डप बनाइएको छ। तीन जना पण्डितले एकैसाथ गीतसंगीतसँगै आरती वाचन गर्छन्। हिन्दु धर्ममा आरती पूजाअर्चनाको एउटा विधि हो। बलिरहेका आरतीका थाली आराध्यसमक्ष एक विशेष विधिले घुमाउने गरिन्छ। आरती सुरु हुनुभन्दा पहिलादेखि नै श्रद्धालुहरूको भीड गंगासागरको तटमा लाग्न थाल्छ।

गंगासागरको चारैतिर श्रद्धालुहरू जम्मा भएर आरतीको आनन्द लिने गर्छन्। जनकपुरधाम आउने विशिष्ट व्यक्ति पनि त्यहाँ पुग्छन्। रामजानकीको विवाहका बेला जानकीकै आग्रहमा भगवान् राम आफ्नो बाणले गंगालाई जनकपुरमा आमन्त्रित गरेको बताइन्छ। त्रेता युगमा मिथिला नरेश निमीको श्रापबाट पुरै शरीर गलिसकेको थियो, त्यसपछि उनको शरीरलाई मन्थन गरियो।

जसबाट मिथि नाउँका बालकको जन्म भएको थियो। सो बालकलाई पानीबाट सिख्त गर्नका लागि संसारकै प्रमुख नदी तथा सरोवरहरूबाट पानी ल्याइयो, सोही पानीबाट गंगासागर पोखरीको निर्माण भएको इतिहास छ। रामजानकीको विवाहको समयमा मटकोर गंगासागर पोखरीमै भएको मान्यता पनि छ।

जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव भन्छन्, ‘अहिले पनि प्रत्येक वर्ष रामजानकी विवाह महोत्सवमा मटकोर गंगासागर पोखरीमै हुन्छ र अन्य विशिष्ट उत्सवमा पनि गंगासागर पोखरीकै पानी ल्याउने गरिन्छ। यसले पनि गंगासागर पोखरीको ऐतिहासिक महत्त्व दर्साउँछ।’

२०७१ जेठ २५ गतेदेखि सुरु गरिएको गंगाआरतीको उद्घाटन नेपालका लागि तत्कालीन भारतीय राजदूत रञ्जित रेले गरेका थिए। गंगाआरती गर्न भारतको बनारसबाट विशेष पुरोहित बोलाइएको थियो। तिनै पुरोहितले तीन जना युवा पुरोहितलाई गंगाआरती गर्न तालिम दिएका थिए।

गंगाआरतीले गर्दा यस क्षेत्रमा पर्यटक बस्ने अवधि बढेको स्थानीय बताउँछन्। गंगाआरती बेलुका हुने भएकाले पर्यटकहरू बस्ने गरेका छन्। गंगाआरतीले होटल व्यवसायमा पनि टेवा पुगेको छ। होटल वेलकमका सञ्चालक अभिषेक झुनझुनबाला गंगाआरतीले होटलमा बस्ने पर्यटक बढेको बताउँछन्। ‘गंगाआरती सुरु भएदेखि होटलमा बस्नेहरू बढेका छन्, अझै पर्यटक बढ्ने सम्भावना छ,’ उनी भन्छन्। पर्यटक आगमन बढाउन सडक र सहरलाई अझ व्यवस्थित गर्नुपर्ने उनले बताए।

गंगाआरतीका सूत्रधार

६ वर्षअघि गंगासागर पोखरीको पानी अहिलेको जस्तो कञ्चन थिएन। पोखरीको आवरण पनि अहिलेको जस्तो मनमोहक थिएन। यस पोखरीको पानी कालो र आवरण फोहर थियो। जनकपुरधामको मुटुमै अवस्थित यस पोखरीको कायाकल्प गरी रमणीय बनाउने व्यक्ति हुन् रामाशिष यादव।

निष्ठा र दृढ अठोटका साथ काम गर्दा सफलता प्राप्त हुँदो रहेछ भन्ने प्रमाण हो–अहिलेको गंगासागर। २०७० मा रामअशिषले गंगासागरको कायाकल्प गर्ने अठोट गरेर काम सुरु गरे। तीन महिना लगाएर सामूहिक प्रयत्नबाट गंगासागरको सफाइ गरियो। गंगासागर सफा भएपछि ‘गंगा आरती जल संरक्षण’ अभियान सुरु गरियो।

हरिद्वार, बनारसमा जस्तै यहाँ आरती आयोजना गर्ने हो भने संस्कृति विस्तार र वातावरण संरक्षण एकैचोटि हुने सोचका साथ रामाशिषले गंगाआरती सुरुवात गरे। रामाशिषलाई जानकी मन्दिर र त्यस अगाडिको गंगासागर पोखरी कुँडाकर्कटले भरिएको देख्दा दिक्क लाग्थ्यो।

‘प्रयत्न गरे के गंगासागरको सफाइ सम्भव छ’ भन्ने लागिरह्यो उनलाई । र, हातैले फोहोर सफा गर्न थाले। सुरुमा उनलाई फोहोर सफा गरेको देखेर धेरैले खिसी उढाए। पछि उनको अभियानमा साथ दिनेको संख्या बढ्न थाल्यो। सेना, प्रहरी, व्यापारी, उद्योगपतिलगायतको साथ पाउन थालेपछि उनको अभियान फैलिँदै गयो। तर यी सबै सफाइ अभियानका दौरान रामाशिषले कसैसँग नगद सहयोग लिएनन्। पैसा लिएपछि बदनाम होइन्छ भन्ने लाग्यो उनलाई।

त्यसैले उनले कसैसँग नगद लिएनन्। ‘या त आफैं आएर श्रमदान गर्नुस् या चाहिएको सरसामान (कोदालोदेखि चुना) दिनुस्, पैसा लिँदैनौं’ भनेर फर्काइदिन्थे उनी। ‘गर्दा हुने रहेछ’ भनाइलाई प्रमाणित गर्दै उनले गंगासागर सफाइ अभियान सफल बनाए। गंगासागर पोखरी सफा भयो। तर, गंगासागरको सरसफाइ कायम कसरी राख्ने? गंगाआरती कसरी सम्भव हुन्छ? जस्ता चुनौती उनका सामुन्ने छँदै थियो।

यी चुनौतीबाट पार पाउन उनले आफू र आफ्ना दुई जना अभियानी साथीको सयोगमा तीनजना पण्डित एक महिनाका लागि राख्ने टुंगो लगाए र गंगा आरती सुरु भयो। भक्तजनले दानपेटिकामा पैसा खसाल्न थाले। रामाशिषले बैंकमा गंगासागरको नाममा खाता खोले। यसरी सुरु भएको आरतीबाट हुने आम्दानीले पण्डितलाई तलब पनि दिनपुग्यो र पोखरी सरसफाइ पनि जारी रह्यो।

आजपर्यन्त यो कार्यक्रम जारी छ र गंगासागर पोखरी निरन्तर कञ्चन छ। रामाशिषको निःस्वार्थ कर्मको परिणाम आज जनकपुरधामको मुहार फेरिएको छ। जनकपुरधामको परिचयमा गंगाआरतीले गौरव थपेको छ। ‘अठोट गरेर निःस्वार्थ कर्मलाई अघि बढायो भने जे पनि सम्भव छ’ भन्ने प्रेरणादायी अभियान गंगाआरती र प्रेरक व्यक्तित्व रामाशिषलाई यस भेगका आमजनले आदर गर्छन्। 

प्रकाशित: २० फाल्गुन २०७८ ०३:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App