केदारनाथको शिर डोलेश्वर महादेव मन्दिर भक्तपुरमा महाशिवरात्रि पर्वको लागि आएका साधुसन्तलाई बुधबार विदाई गरिएको छ। महाशिवरात्रिमा विभिन्न स्थानबाट डोलेश्वरको मन्दिरमा दर्शन गर्न आएका साधुसन्तलाई भोजन, प्रसाद तथा दक्षिणा प्रदान गरी विदाई गरिएको हो।
डोलेश्वर दर्शन गर्न आएका दुई सय २४ साधुसन्तहरु विदाई कार्यक्रममा सहभागी भएको केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिका अध्यक्ष बालहरि चालिसेले जानकारी दिए।
डोलेश्वरमा आएका साधुसन्तहरुलाई तीन तहमा वर्गीकरण गरी दक्षिणा उपलब्ध गराएको अध्यक्ष चालिसेले बताए। क वर्गका साधुसन्तलाई एक हजार एक सय, ख वर्गलाई सात सय र ग वर्गलाई पाँंच सय सय पाँंच रुपैयाँ तथा प्रत्येकलाई एक थान कम्बल, एक थान धोती प्रदान गरिएको उनले बताए।
डोलेश्वरमा महाशिवरात्रि पर्वका लागि गत एक हप्ता अघिदेखि साधुसन्तहरु आएका थिए। मन्दिर परिसरमा जम्मा भएका साधुसन्तलाई समितिले खानपानलगायत धुनी बाल्न दाउराको समेत व्यवस्था गरिदिएको थियो।
प्रकाशित: १८ फाल्गुन २०७८ १२:४७ बुधबार