४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

यौनजन्य अपराधको निशानामा बालिका

गोरखामा यौनजन्य अपराधको निशानामा बालिका परेको पाइएको छ। चालु आर्थिक वर्षको साउनदेखि फागुन दोस्रो साता सम्म जिल्ला प्रहरी कार्यालयमा आठजना बालिकाले यौनजन्य हिंसाबाट पीडित भएको उजुरी गरेका छन्। यीमध्ये जवरजस्ती करणीमा सात र  जवरजस्ती करणी उद्योगमा १८ वर्ष उमेर मुनिका एकजना पीडित छन्। यौनजन्य अपराधको घटना सोही अवधीमा १३ वटा भएको छ।  

२०७५÷७६ देखि अहिलेसम्म गोरखामा ६९ जना १८ वर्षमुनिका बालिका यौनजन्य हिंसाको शिकार भएका छन्। यीमध्ये ४६ जना जवरजस्ती करणीको शिकार भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धर्मबहादुर अधिकारीले बताए। बाँकी भने जवरजस्ती करणी उद्योग र बालयौन दुरुपयोगको शिकार भएका छन्। ‘कमजोर आर्थिकस्तर भएका, समुदायमा पछाडी पारिएका, शारिरिक रुपमा पनि कमजोर भएका बालिका यौनजन्य हिंसाको शिकार हुने गरेका छन्’ प्रहरी निरीक्षक अधिकारीले भने।

साउनदेखि फागुन दोस्रो सातासम्म भएका घटनामध्ये सबैभन्दा धेरै जवरजस्ती करणीको घटना सिरानचोक गाउँपालिकामा पाँचवटा छ। पालुङटार नगरपालिकामा तीन, गोरखा नगरपालिका, चुमनुब्री गाउँपालिका, धार्चे, अजिरकोट र भिमसेन थापामा एउटा÷एउटा घटना घटेको छ। गतवर्ष सबैभन्दा धेरै ४१ वटा यौनजन्य अपराधको घटना भएको थियो। धार्चे र चुमनुब्री बाहेकका सबैजसो पालिकामा यौनजन्य हिंसाका घटना तारन्तार घटिरहेका छन्।  

यौनजन्य हिंसाका घटनामा संलग्न भने उमेर पुगेकाहरु धेरै देखिन्छन्। प्रहरीका अनुसार यौनजन्य अपराधका घटनामा १८ देखि २५ वर्षका पुरुषहरुको संलग्नता बढी छ। यो बाहेक २६ देखि ३५ वर्षका उमेरका पनि यौनजन्य अपराधतर्फ उद्धत देखिन्छन्।  

यौनजन्य अपराध र जवरजस्ती करणीका घटना बढिरहँदा स्थानीय तहहरुले न्यूनिकरणमा चासो दिएका छैनन्। प्रहरीले घटना र उजुरीपछि छानबिन गर्ने र अदालतमा पेश गर्ने मात्रै काम गर्दै आएको छ। अदालतको फैसलापछि पीडित बालिका वा महिलाको अवस्थाबारे कसैले चासो नदिएको अधिकारकर्मी बताउँछन्।  

गोरखा नगरपालिकाकी उपप्रमुख बिनाकुमारी श्रेष्ठले हिंसा पिडितलाई समाजमा स्थापित हुन अझै समस्या रहेको बताईन्। ‘हिंसा अझै पनि सबै खुलेर बाहिर आएको छैन, हिंसा पिडित भएँ भन्ने महिलाहरु समाजमा पीडा भोग्न बाध्य छन्’, उनले भनिन्, ‘यो अवस्था अन्त्य हुनुपर्छ।’ यस्ता यौनजन्य हिंसाका घटना न्यूनिकरण गर्न समुदाय स्तरमा सचेतना आवश्यक रहेकोमा उनले जोड दिईन।

प्रकाशित: १७ फाल्गुन २०७८ ११:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App