१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

वडाध्यक्ष आलेको भिरबाट लडेर मृत्यु: सोमबार शोक बिदा

देवघाट गाउँपालिका–३ का वडा अध्यक्ष कृतिमान आलेको भिरबाट लडेर मृत्यु भएको छ।

चार दिनदेखि हराइरहेका वडा अध्यक्षको शव आइतबार घरमाथिको गोन्द्राङ पाखा भन्ने भिरमा फेला परेको साराङघाट इलाका प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक एकनारायण आचार्यले बताए।

वडा अध्यक्षको निधनमा गाउँपालिकाले सोमबार शोक बिदा दिएको छ। वडा कार्यालयका कार्यालय सहायक अनिरुद्र काफ्लेका अनुसार वडाध्यक्ष आले बिहीवार बेलुका साढे ५ बजे कार्यालयको काम सकेर घर जान्छु भनी हिंडेका थिए।

पार्टीको कामले बिहीबार दमौली जान लागेको भनेर घरबाट निस्किएकाले उनको त्यस दिन बेलुका खोजी नभएको परिवारले बताएको छ।

तीन दिनदेखिको खोजीको क्रममा वडा अध्यक्षको शव आइतबार अपरान्ह ४ बजे गाउँलेहरूले फेला पारेका हुन्। गाउँलेहरूले वडाध्यक्ष आलेको शव ५० मिटरभन्दा तल भिरबाट निकालेका थिए।

घटनास्थलको सर्जिमिन मुचुल्कापछि शवको पोस्टमार्टमका लागि दमौली लगिएको प्रहरी नायव निरीक्षक एकनारायण आचार्यले बताए।

नेपाली कांग्रेस देवघाट गाउँपालिका–३ वडा समितिको पूर्व सभापति समेत रहेका वडाध्यक्ष आले सरल र शान्त स्वभावका थिए।

विकासप्रेमी वडाध्यक्ष कृतिमान आलेको निधनले पार्टीले ठूलो क्षति व्यहोर्नुपरेको नेपाली कांग्रेस देवघाट–३ वडा समिति सभापति गंगा विकले बताएका छन्।

प्रकाशित: १६ फाल्गुन २०७८ ०६:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App