१० वर्षे माओवादी द्वन्द्वका समयमा मृत्यू भएका, बेपत्ता भएकाको परिवारलाई सम्मान र राहतका नाममा गोरखाको शहीदलखन गाउँपालिकाले नगद वितरण गरेको छ।
शहीदलखन ७काहुलेभंगारस्थित लखन थापा स्मारकमा सोमवार आयोजित लखन थापाको एक सय ४५ औँ स्मृती दिबसको अवसरमा पैसा वितरण गरिएको हो। माओवादी शान्ति प्रक्रियामा नआउँदासम्म गाउँपालिका भित्र माओवादीबाट सहादत प्राप्त गर्नेको परिवारलाई सम्मान गरिएको हो। कार्यक्रममा २०५५ देखि २०६१ सम्म द्वन्द्वका बेला सहादत पाएकाको १० परिवारलाई २७ हजारका दरले वितरण गरिएको प्रमुख प्रशासकिय अधिकृत जिबन आलेले बताए।
बक्राङका रामबहादुर अर्याल(२०५६), रामजी घर्ती मगर(२०५८), रामशरण अर्याल(२०५९), श्रीराम खनाल(२०५८), कृष्ण लामिछाने(२०५९), रामकृष्ण श्रेष्ठ(२०६१) केशरबहादुर आले(२०६१), गीता थापा (२०५५), लिला खनाल ‘बिन्दु’ (२०५५), सुरेश कुँवर (२०६०) को परिवारलाई पैसा बाँडिएको हो।
घरमा आयआर्जन गर्ने अभिभावकले सहादत पाएकाले उनीहरुको परिवारलाई आर्थिक सहयोग गरिएको गाउँपालिकाका प्रमुख प्रकाशकीय अधिकृत आलेले बताए। तत्कालको आवश्यकता पूर्ती गर्न सजिलो होस् भन्ने उद्देश्यले नगद दिइएको उनले बताए। सोही अवसरमा जैसिंह चुमीको सन्तति मध्येका एकजनालाई पनि नगदसहित सम्मान गरिएको थियो।
उत्कृष्ठ किसान पनि पुरस्कृत
सोही अवसरमासर्वोत्कृष्ठ दुई किसान पशुपालनतर्फका धनबहादुर रानार कृषितर्फ फूलमति दर्लामीलाई १८ हजार रुपैयाँका दरले पुरस्कृत गरिएको थियो।
त्यस्तै अन्य पशुपालन गर्ने किसानहरु अस्मिता आचार्य, कुलबहादुर थापा, थानबहादुर थापा, आशिष चेपाङ, वुद्धिमान श्रेष्ठ, कृष्णबहादुर थापामगर, विनोद अधिकारी, शेरबहादुर कामीलाई पनि नगद १४ हजार रुपैयाँका दरले नगदसहित पुरस्कृत गरिएको थियो।
त्यस्तै कृषितर्फका किसानहरु शिव विक, केदारप्रसाद दुवाडी, सीता चेपाङ, वीरबहादुर राना, काजिराम पुडासैनी, अमृत श्रेष्ठ, लीलानाथ अम्गाई र डोलेन्द्रबहादुर भण्डारीलाई पनि नगद रु १४ हजार रुपैयाँका दरले र कदर पत्रसहित सम्मान गरिएको प्रशासकिय अधिकृत आलेले बताए।
शहीदलखन गाउँपालिकाले सोमवार पालिकाभित्र स्थानीय बिदा घोषणा गरेर बिभिन्न कार्यक्रम संचालन गरेको हो। वडा नम्बर ७ काहुलेभंगार स्थित लखन थापाको शालिक परिसरमा उनको सम्झना र सम्मानमा कार्यक्रम गरिएको गाउँपालिकाले जनाएको छ।
वडा नम्बर ७ का वडा अध्यक्ष शरण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष रमेशबाबु थापा, उपाध्यक्ष इन्दिरा तिवारी, प्रमुख प्रशासकीय अधिकृत जीवन आले, वडा अध्यक्षहरु, राजनीतिक दलका प्रतिनिधि, सामाजिक अगुवाहरु, स्थानीयको उपस्थिति थियो। यस्तै गाउँपालिकाको लोगो निर्माणकर्ता शहीदलखन ७ का भरतबहादुर आलेलाई नगद ५० हजार सहित प्रमाण पत्र र दोसल्लाले सम्मान गरेको छ।
प्रकाशित: ३ फाल्गुन २०७८ ०५:११ मंगलबार