६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

गोदावरी सम्मेलन केन्द्र: एक वर्षमा एक पटक मात्र प्रयोग

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बिना अध्ययन र तयारी तामझामका साथ शिलन्यास र उद्घाटन गरेको गोदावरीस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र झण्डै एक वर्षको अवधिमा एक पटक मात्रै प्रयोगमा आएको छ।

अपायक ठाउँ, तथा पार्किङ अभावले सम्मेलन केन्द्र प्रयोगमा आउन नसकेको हो। सम्मेलन केन्द्रसम्म पुग्ने बाटो साघुरो र अप्ठयारो भएकोले पनि प्रयोग गर्न आयोजकहरूले त्यती चासो नदिएको व्यवस्थापनको जिम्मेवारी लिएका एक कर्मचारीले दाबी गरे। ‘सम्मेलन केन्द्रसम्म पुग्न बाडेगाउँ र ठैबमा बाटो अप्ठयारो र साघुँरो छ,’ ती कर्मचारीले भने, ‘कार्यक्रम गर्नका लागि सबैले आउनेजाने देखिका सुविधा खोज्ने नै भए। त्यसो नहुँदा सम्मेलन केन्द्र प्रयोग बिहिन बनेको छ।’

उक्त भवन बनाउन ८१ करोड रूपैयाँ खर्च भएको छ। २०७६ कात्तिक ५ गते तत्कालिन प्रधानमन्त्री ओलीले उक्त भवनको शिलन्यास गरेका थिए र २०७८ वैशाख ३१ गते उद्घाटन गरेका थिए। केसी–समानान्तर जेभिले ८१ करोड रूपैयाँमा सो भवन बनाएका थियो। भवनको नाम सनराइज सम्मेलन केन्द्र गोदावरी राखिएको छ।

३ हजारभन्दा बढी क्षमता रहेको भवन तयार गरिएको थियो। भवन निर्माण भएको १० महिनाको अवधिमा एक पटक प्रयोगमा आएको छ। अरू दिन भवन हलमा ताला झुण्ड्याएको हुन्छ। उक्त भवनमा २०७८ असोज १५ देखि १७ गतेसम्म ३ दिन नेकपा (एमाले)ले विधान महाधिवेशन गरेको थियो। त्यस यता उक्त भवन प्रयोगमा आएको छैन।

सो भवनको व्यवस्थापनको जिम्मा हाल अन्तर्राष्ट्रिय सम्मेलन विकास केन्द्र विकास समितिले लिएको छ। गत साउनमा सहरी विकास मन्त्रालयले सम्मेलन केन्द्रलाई चिठी लेखेर तत्कालको लागि भवन व्यवस्थापनको जिम्मा लिन निर्देशन गरेका थियो। सम्मेलन केन्द्रले हाल उक्त भवनको लागि कुरुवा र सरसफाइको लागि कर्मचारी खटाएको छ।

विकास समितिका कार्यकारी निर्देशक विद्रोह दाहालले भवन १० महिनाको अवधिमा एक पटक मात्रै प्रयोगमा आएको स्विकार गर्दै भने, ‘यसलाई पूर्णरूपमा प्रयोगमा ल्याउन सहरी विकास मन्त्रालयले विस्तृत कार्ययोजना बनाउन हामीलाई निर्देशन दिएको छ। त्यसका लागि हामीले गृहकार्य गरिरहेका छौं।’

भवनको प्रयोगमा आउन नसकेको उनले पनि स्विकार गरे। उनले भने, ‘यसमा कोभिडको महामारी पनि एउटा प्रमुख कारण हो। महामारी नभएको भए सायद भवन धेरै पटक प्रयोगमा आउन सक्थ्यो।’ दाहालका अनुसार काठमाडौंमै महाधिवेशन गरेका नेपाली कांग्रेस, माओवादी केन्द्र र राप्रपाले सो भवनमा आ–आफ्नो पार्टीको महाविधेशन गर्न चाहेका थिए। त्यसकोलागि ती पार्टीका प्रतिनिधिहरू भवनको अवकोलकन गर्न पनि गएका थिए।

‘माओवादी केन्द्र र राप्रपाले महाधिवेशन गर्ने बेला गोदावरी जाने सडकमा आन्दोलन भइ अवरोध भयो। सडकमै अवरोध भए पछि माओवादी केन्द्र र राप्रपाले महाधिवेशन गरेनन्,’ दाहालले भने, ‘नेपाली कांग्रेसले भने महाविधेशन गर्नका लागि भवनको क्षमता नपुग्ने भन्दै महाधिशेन गरेन।’ गोदावारी सभा सम्मेलन गर्नको लागि अपायक ठाउँ रहेकाले उक्त भवन प्रयोगमा आउन नसकेको सहरी विकास मन्त्रालयका एक उपसचिवले बताए।

उनले भने, ‘पहिलो कुरा ठाउँ अपायक छ। दोस्रो कुरा त्यहाँ गएपछि पार्किङ गर्न समस्या छ। पार्किङ गर्न ठाउँ नै छैन।’ सो भवनले ४३ रोपनी १५ आना क्षेत्रफल ओगेको छ। भवनसँगै रहेको १ सय रोपनी सरकारी जग्गामा सुकुम्बासीहरूले ओगेटेका छन्। सुकुम्बासीले ओगेटेको जग्गा सरकारले खाली गराउन सकेको छैन। भवन प्रयोग गर्न १ दिनमा ५ लाख ६८ हजार रूपैयाँ बुझाउनु पर्ने नियम बनाइएको छ।

प्रकाशित: १ फाल्गुन २०७८ ००:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App