२२ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

हिउँदे झरीले तोरी बाली सखाप

जोशीपुर गाउँपालिकास्थित एक किसानको तोरी बारी। तस्बिर: योगेश/नागरिक

कैलालीको पूर्वी क्षेत्रका किसानका लागि हिउँदे झरी समेत वर्षे झरी झैं अभिसाप बनेको छ। वर्षे झरी पछि आएको बाढीले धान खेती सखाप पारेका किसानको हिउँदले झरीले भने तोरी बाली नष्ट पारिदिएको छ।  

भजनी नगरपालिका–१ का निरज चौधरीले १५ कठ्ठामा लगाएको तोरी खेतमै नष्ट भएको बताए। उनले आफू जस्तै धेरै किसानको तोरी खेतमै नष्ट भएको बताए। ‘मेरो मात्रै हैन सबैको तोरी खेतमै छ’ उनले भने–‘स्याहार्ने बेला पानी परेर समस्या भयो।’

जानकी गाउँपालिका मुनुवामा रहेको बिज वृद्धि कृषक सहकारी संस्थाले हरेक वर्ष धेरै खाद्यान्न बालीको बिउँ उत्पादन गर्छ। संस्थाले तोरी बालीको समेत बिउँ उत्पादन गर्छ। उसले यो वर्ष चार हेक्टरमा तोरी बालीको बिउँ रोपेको थियो। स्याहार्ने समयमै परेको हिउँदे झरीले बिउँका लागि रोपेको सबै तोरी बाली नष्ट भएको कार्यालय प्रमुख गोविन्द रावतले जानकारी दिए। ‘एक दाना स्याहार्न पाईएन। सबै खेतमै छ’ उनले भने–‘यो वर्ष संस्थाले ठूलो नोक्सानी व्यहोर्नु पर्यो।’

उनले संस्थाको मात्रै नभई संस्थामा आवद्ध किसानको समेत तोरी बाली नष्ट भएको बताए। उनका अनुसार संस्थामा आवद्ध ७४ जना किसानले समेत बिउँका लागि तोरी खेती गरेका छन। उनीहरु सबैको तोरी बाली समेत हिउँदे झरीले सखाप पारिदिएको छ।  

बाढीका कारण दुई विगाहमा लगाएको धान बाली गुमाएका किसान फूलराम कठरीयाले तोरी बाली समेत गुमाउनु परेको पीडा पोखे। उनले तोरी बाली राम्रो उत्पादन गरेर असुलउपर गर्ने सपना विफल भएको बताए। ‘धान त जेजस्तो भयो भनेर तोरीमा धेरै मेहनत गरेको थिए’ उनले भने–‘तोरी समेत एक दाना भित्र्याउन पाईएन।’ लगातारको हिउँदे झरीले किसानको तोरी बाली खेतमै नष्ट भएको छ। तोरी बाली यस क्षेत्रका किसानको प्रमुख नगदे बाली मध्ये एक हो। यहाँका हजारौं किसान तोरी खेती गर्छन। आफ्नो प्रयोगका लागि तोरी खेती गर्नेको संख्या अझै धेरै छ।  

किसानको तोरी खेती प्रतिको आकर्षणलाई मध्य नजर गरेर सरकारले जिल्लाका चारवटा पालिकाको केही भूभागलाई समेटेर तेलहन जोन बनाएको छ। सरकारले घोडाघोडी र भजनी नगरपालिका तथा जोशीपुर र बर्दगोरीया गाउँपालिकाको १५ सय हेक्टरलाई तेलहन जोनमा समेटेको छ।  

हिउँदे झरीले तेलहन जोन अन्र्तगतका किसानको तोरी बाली समेत नष्ट पारिदिएको कार्यालय प्रमुख कलसराम चौधरीले बताए। उनका अनुसार तेलहन जोन भित्र यसवर्ष ४८ हेक्टरमा तोरी खेती गरिएको थियो। ‘कति नोक्सान भयो त्यो त रेकर्ड आएपछि मात्रै भन्न सकिएला’ उनले भने–‘तर सबैजसो तोरी काम नलाग्ने भएको छ।’ किसानहरुले धान बालीसँगै तोरी बाली समेत गुमाउनु परेपछि ठूलो नोक्सानी व्यहोर्नु परेको छ। उनीहरुले यसवर्ष निकै धेरै समस्याको सामना गर्नुपर्ने अवस्था आउन सक्ने बताए।  

प्रकाशित: २६ माघ २०७८ १३:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App