१२ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

मिरगञ्जपुल भासिँदा सडक अवरुद्ध

नयाँ पुलबाट सवारी साधन सञ्चालनको माग

भारतको जोगवनीस्थित मिरगञ्जको निर्माणाधीन पुल। तस्बिरहरूः विनोद/नागरिक

भारतको जोगवनी स्थित मिरगञ्ज पुल भासिएर मालबाहक सवारीसाधन आवतजावत ठप्प भएपछि मोरङका उद्योगी व्यवसायीले निर्माणाधीन पुलबाट आँशिक भए पनि सवारीसाधन सञ्चालनमा ल्याउन भारतीय पक्षसँग माग गरेका छन्। मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालको नेतृत्वमा गएको उद्योगी व्यवसायीको टोलीले मिरगञ्ज पुलको विकल्पमा अन्य कुनै पुल नभएकाले निर्माणाधीन नयाँ पुलबाटै आंशिक रुपमा सवारीसाधन सञ्चालन गर्न दिन भारतीय पक्षसँग माग गरेको हो।  

भारत अररीया जिल्लाका डिजिएम प्रशान्तकुमार सिएच्सँग भेट गरी मोरङ व्यापार संघका अध्यक्ष रिजाल नेतृत्वको टोलिले स्थलगत अनुगमन पनि गरेको छ। स्थलगत रुपमा मिरगञ्जपुलको विकल्पमा नजिकै अन्य पुल र नभएकाले निर्माणाधीन पुललाई नै आँशिक रुपमा सञ्चालन गरेर तत्कालका लागि समस्या समाधान गर्न मोरङ व्यापार संघको टोलिले भारतीय पक्षलाई आग्रह गरेको छ। पुरानो पुलको नजिकै निर्माणाधीन पुलको निर्माण अन्तिम चरणमा पुगेको छ।

पुलसँगै सडक र फ्लाइओभर पनि निर्माणको क्रममा रहेको छ। मिरगञ्ज खोलामा निर्माण भइरहेको पुल चार लेनको छ। चार लेनको पृुल मध्ये दुई लेनको पुलको निर्माण सम्पन्न हुनेचरणमा रहेको छ। उक्त पुलको दुई लेनभाग एक/दुई हप्ता भित्रै निर्माण सम्पन्न हुने भएकाले उक्त पुलबाट मालबाहक सवारी आवतजावत गर्न दिन नेपाली उद्योगी व्यवसयीले भारतीय पक्षसँग माग गरेको मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले बताए।

उनले भारतीय पक्ष पनि नयाँ पुल आँशिक रुपमा सञ्चालनमा ल्याउन सकारात्मक देखिएको बताए। ‘निर्माणाधीन पुलको पूर्व तर्फको दुई लेन पुलसञ्चालन गरेर अवरुद्ध यातायात सञ्चालनमा ल्याउन भारतीय पक्षसँग माग गरेका छौं’ रिजालले भने, ‘भारतीय पक्ष पनि दुई लेन पुल आँशिक रुपमा सञ्चालनमा ल्याउने विषयमा सकारात्मक देखिएको छ।’

निर्माणाधीन पुलबाट आंशिक रुपमा भए पनि मालबाहक सवारीसाधन सञ्चालनका लागि भारतीय पक्षसँग स्थलगत निरीक्षण गर्दै मोरङ व्यापार संघका अध्यक्ष नविन रिजाललगायत। 

रिजालले तत्कालका लागि निजी जग्गाबाट लिंक रोड निर्माण गर्ने र नयाँ पुलदेखि विराटनगर स्थित आइसीपी जोड्ने सडक र फ्लाइओभर निर्माणको काम जतिसक्दो चाँडो सम्पन्न गर्न भारतीय पक्षलाई आग्रह गरेको जानकारी दिए। उनले तत्कालका लागि नेपालबाट खाली गाडी नयाँ पुलका बाटो हुँदै जान दिने र २० टन सम्मका मालबाहक सवारीसाधन नेपाल तर्फ आउन दिने विषयमा भारतीय पक्ष सकारात्मकदेखिएको बताए।

स्ट्रिल्स स्ट्रक्चरको मिरगञ्ज पुल भासिएपछि विगत दुई महिनादेखि सुनसरीको भीमनगर-भाण्टावारी नाकाबाट मालबाहक ट्रकहरू आवतजावत गरिरहेका छन्। भीमनगर–भाण्टावारीबाट मालबाहक सवारी विराटनगर ल्याउँदा प्रति ट्रक २० देखि ३० हजार रुपैयाँसम्म ढूवानीलागत बढ्ने व्यवसायीहरू बताउँछन्। स्ट्रिल स्टक्चरको मिरगञ्ज पुलको विकल्पका रुपमा रहेको नयाँ पुल चाँडो सम्पन्न गर्न विराटनगरका उद्योगी व्यवसायीहरूले वर्षौंदेखि माग गरिरहे पनि करिब १० वर्ष पहिलेदेखि निर्माण सुरू भएको पुल अझै सम्पन्न हुन सकेको छैन।

मिरगञ्ज खोलाको पुल चाँडो निर्माण सम्पन्न गर्नका लागि कूटनीतिक पहल गर्न विराटनगरका उद्योगी व्यवसायीले नेपाल सरकारलाईसमेत दबाब दिँदै आएका छन्। नयाँ पुल निर्माणमा ढिकलाई हुँदा सुनसरी-मोरङ औद्योगिक करिडोरका उद्योगी व्यवसायीले आयात–निर्यातमा  झमेला मात्रै नभई आर्थिक नोक्सानी समेत बेहोरिरहेका छन्। जोगवनी नाका हुँदै दैनिक ४ सय वटा मालबाहक सवारीसाधन भारत तथा तेस्रो मुलुकबाट नेपाल तर्फ आउने गरेका छन्।

विराटनगर भन्सार कार्यालयका अनुसार विराटनगर नाकामा दैनिक १४ करोड रुपैयाँ राजस्व संकलन हुने गरेको छ।

प्रकाशित: २४ माघ २०७८ १३:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App