१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

केन्द्रीय अध्यक्ष पाठकसहित पक्राउ परेकालाई रिहा गर्न सामुदायिक वन उपभोक्ता महासंघको अपिल

सामुदायिक वन उपभोक्ता महासंघ ताप्लेजुङले आफ्ना केन्द्रीय अध्यक्ष भारती पाठक सहितका अगुवालाई प्रहरीले बिना कारण पक्राउ गरेको भन्दै आपत्ति प्रकट गरेको छ।

पक्राउ परेका केन्द्रीय अध्यक्ष पाठकसहित सबैको बिना सर्त रिहाइ नभए प्रतिकारमा उत्रने चेतावनी दिएको छ। नेपाल सरकारले ल्याएको प्रस्तावित वन नियमावली, प्रदेश सरकारले ल्याएको वन ऐन तथा सामुदायिक वन क्षेत्रकाअधिकार कटौती हुने अन्य कानुनी प्रावधान खारेजीको माग अघि सार्दा प्रहरीले सामुदायिक वन क्षेत्रका अगुवामाथि बिना कारण हस्तक्षेप गरेको आरोप समेत सामुदायिक वन उपभोक्तामहासंघ ताप्लेजुङले लगाएको छ।

जिल्ला अध्यक्ष सुरज ओझाले मंगलवार एक विज्ञप्ती प्रकाशित गरी नेपाल सरकार र प्रदेश सरकारले ल्याएका पछिल्ला नियमावली,ऐन र निर्देशिका र कार्यविधिले समुदायलाई वन पैदावार उपभोग गर्न प्रतिवन्ध लगाउने तथा सामुदायिक वन क्षेत्रका उपभोक्ताको अधिकार कटौती भइ मानव अधिकारको समेत ठाडो उल्लंघन हुने भएकोले आन्दोलनमा जानु परेको बताएका छन्।

यिनै समुदायको हक बिपरितका कार्य खारेज हुनुपर्ने मागसहित बबरमहल स्थित वन विभाग घेराउ गर्न पुगेका केन्द्रीय अध्यक्ष पाठकसहित पक्राउ परेका सबैलाइ यथाशीघ्र रिहाइ गर्न ओझाले विज्ञप्तीमार्फत माग गरेका छन्।

सामुदायिक वन क्षेत्रलाई अंकुश लगाउने गरी तयार भएका र तयारीको क्रममा रहेका उपभोक्ता बिरोधी नियम,कानुन र कार्य विधिविरुद्ध सामुदायिक वन उपभोक्ता महासंघ जहिल्यै आन्दोलन र संघर्षमा रहने प्रष्ट पारेका छन्।

विज्ञप्तीमा सामुदायिक वन उपभोक्ता महासंघ नेपालका अध्यक्ष पाठक, महासचिव बिर्ख बहादुर शाही, सचिव ठाकुर भण्डारी, कोषाध्यक्ष पार्वता गौतम, स्थायी समितिका सदस्य डोलकुमारी सापकोटा, जिल्ला महासंघ ललितपुरका अध्यक्ष प्रेमप्रसाद घिमिरे, उपाध्यक्ष केशवराज गिरी,सिन्धुपाल्चोक जिल्ला महासंघका सचिव दया लक्ष्मी श्रेष्ठ, भक्तपुर जिल्ला महासंघका सदस्य सहदेव न्यौपाने,पवित्रा तिमिल्सना र उपभोक्ता उषा केसी लगायतलाई प्रहरीले पक्राउ गरेको भन्दै भत्र्सना गरिएको छ।

प्रकाशित: १८ माघ २०७८ ०८:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App