१ पुस २०८१ सोमबार
image/svg+xml
समाज

खानेपानी आयोजना बिग्रिएपछि काकाकुल खोडपे बजार

खानेपानी आयोजना बिग्रिएपछि पाटन नगरपालिका–८ खोडपे बजार तीन दिनदेखि काकाकुल बनेको छ। मोटरले तानेर लिप्टिङ प्रणालीबाट सञ्चालन भएको खानेपानी आयोजनाको विद्युत् ट्रान्सफर्मर बिग्रिएपछि खानेपानी अबरुद्ध बनेको हो। शनिबार ट्रान्सफर्मरमा समस्या आएपछि खानेपानी सञ्चालन नभएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष हरिश बिष्टले जानकारी दिए। मर्मतको लागि प्राविधिक टोली बोलाएको उनले बताए।

महाकाली राजमार्गमा पर्ने खोडपे बजार तीन जिल्ला बैतडी, बझाङ र दार्चुलाको मुख्यद्वार मानिन्छ। हजारौं यात्रु ओहोरदोहर गर्ने बजारमा खानेपानी नभएपछि होटल सञ्चालन गर्न कठिनाइ भइरहेको व्यवसायीले बताएका छन्।

२०७० सालमा निर्माण सम्पन्न भएको लिफ्ट खानेपानी आयोजना समयसमयमा बिग्रने गरेको छ। खोड्पे बजारदेखि डेढ किलोमिटर टाढाको भट्टीखोलाबाट लिफ्ट मार्फत पानी तानेर बजार र आसपासका क्षेत्रमा खानेपानी आपूर्ति गरिँदै आएको छ। खानेपानी डिभिजन कार्यालय बैतडीको ६० लाख र उपभोक्ताको ४० लाख गरी १ करोड रुपैयाँमा लागतमा सम्पन्न उक्त खानेपानी योजना संचालनपछि पनि पानीका लागि सर्वसाधारणले सास्ती खेप्नु परेको छ।

ट्रान्सफर्मरमा खराबी आएपछि विद्युत् वितरण केन्द्रले मर्मतको लागि चासो नदिएको उपभोक्ताको गुनासो छ। विद्युत् वितरण केन्द्रले उपभोक्ता समितिले नै मर्मत गर्नु पर्ने बताउने गरेको उपभोक्ता समितिले जनाएको छ। विद्युत्को महसुल तिर्ने गरेको भए पनि बिग्रिएको समयमा मर्मतको जिम्मा नलिँदा समस्या हुने गरेको छ। 

उपभोक्ता समितिकै खर्चमा धनगढीबाट प्राविधिक बोलाएर मर्मतको तयारी भइरहेको उपभोक्ता समितिले जनाएको छ। समितिले नै खरिद गरेको ट्रान्समिटर भएको हुँदा विद्युत् वितरण केन्द्रले र्ममत सम्भारको जिम्मा नलिने विद्युत् वितरण केन्द्र पाटनका प्रमुख पुष्पराज भट्टले बताए।

प्रकाशित: १७ माघ २०७८ १२:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App