१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

उखु बारीमा खाल्डो खनेर पुरिएको अवस्थामा भेटिए दुई शव, एउटाको पहिचान खुल्यो

मोरङको धनपालथान गाउँपालिका–७ मा रहेको उखु बारीमा खाल्डो खनेर पुरिएको अवस्था २ वटा शव भेटिएको छ। भेटिएको २ वटा शवमध्ये एउटा शवको पहिचान भएको छ।

धनपालथान–७ स्थित बबाली चोक नजिक दीलिप सिंहले लगाएको उखु बारीमा बुधबार उखु काट्ने क्रममा खाल्डो पुरेको जस्तो देखेपछि प्रहरीलाई उनीहरुले खबर गरेका थिए। सिंहले लगाएको उखु बारीमा करिब २५ मिटरको दूरीमा २ वटा खाल्डोमा २ जनाको शव प्रहरीले उत्खनन गरेको बताएको छ। बुधबार राति र बिहीबार दिउँसो खाल्डोबाट शव निकालिएको हो।    

बिहीबार उत्खनन गरी निकालिएको शव धरान उपमहानगरपालिका–३ का ४९ वर्षीय राजेन्द्रकुमार श्रेष्ठको भएको मोरङ प्रहरी प्रमुख जनार्दन जिसीले जानकारी दिए। श्रेष्ठ भक्तपुरमा बस्दै आएको खुलेको उनले बताए। श्रेष्ठको शवबाट नेपाल टेलिकमको सिम कार्ड, पर्स र सवारी चालक प्रमाणपत्र भेटिएकाले पनि पहिचान गर्न सहज भएको बताउँदै एसपी जिसीले भने, ‘घाँटीमा डोरीले बाँधेको डाम रहेको छ। परिवारका सदस्यसँग सम्पर्क गरिएको र उनका बारे विस्तृत खुलेको छैन। परिवारका सदस्य यहाँ आएपछि मात्रै विस्तृत कुरा आउने छ।’

बुधबार उत्खनन गरिएको अन्दाजी ३०/३५ वर्षका पुरुषको शव भने पहिचान भएको छैन। बुधबार निकालिएको शवको हात डोरीले बाँधिएको र घाँटीमा पनि डोरीको डाम छ। दुवै शवको प्रकृति एउटै भएका कारण अर्का व्यक्तिको पहिचान गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ। दुवै शवको खोल्डो सानो घोलाकार र करिब १० फिट गहिरो रहेको थियो।

बुधबार उत्खनन गरिएको शवलाई डोरीले बाँधेको र टाउको मुनि तथा खुट्टा खुम्चाएर माथिपट्टि पारेर सिधा गाडिएको थियो। बिहीबार उत्खनन गरिएको श्रेष्ठको शव भने खुट्टा खुम्चाएर टाउको माथि हुने गरी सिधा गाडिएको अवस्थामा प्रहरीले निकालेको हो। दुवै शवलाई नुन हालेर खाल्डोमा पुरिएका कारण शव सडेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ। शवको प्रकृति हेर्दा २०/२५ दिन अघि दुवै शवलाई गाडिएको हुनुपर्छ। दुवै शव सडेको र दुर्गन्ध फैलन थालेको हुँदा सहज रुपमा पहिचान गर्न गाह्रो भएको प्रहरीले जनाएको छ।  

शव भेटिएको उखुबारीका दीलिप सिंहका अनुसार बुधबार उखु काट्नका लागि मजदुर जाँदा खाल्डो खनेर पुरे जस्तो देखेपछि खबर गरे। आएर हेर्दा माथिपट्टि अलि अलि छ्याप छ्याप पारेर अनौठो तरिकाले मुरेको देख्यौं। ‘गाउँ घरतिर गाईवस्तु मरेपछि यसरी नै खेतको बीचमा खाल्डो खनेर पुर्ने चलन रहेको हुँदा कसैले गाईवस्तु गाडेकी भन्ने शंका गरेर हेरौं भनेको थिए गाउँलेहरुले,’ सिंहले भने, ‘शंकास्पद खाल्डो जस्तो लागेर हामीले नखनौं बरु प्रहरीलाई खबर गरेर आएपछि मात्र खनौं भनेर सल्लाह भयो। प्रहरी आएर ५ बजेदेखि खन्न सुरु गर्दा राति ९ बजेतिर मात्रै खाल्डोमा शव देखियो र प्रहरीले नै निकालेर राति कोसी अस्पताल शव लग्नु भयो।’ 

७ नम्बर वडा सदस्य महमद सफलले प्रहरीले खबर गरेपछि जनप्रतिनिधिका आधारमा आएर हेर्दा एउटा खाल्डो देख्यौं। वरपर केही छ भेटिन्छ कि भनेर हेर्दा अर्का पनि त्यस्तै खाल्डो भेटिएको हो। एउटा खाल्डो खन्दा खन्दै राति ९ बजेभन्दा बढी भइसकेको र अर्का खाल्डो आज खनिएको हो। ‘खनिएका दुवै खाल्डोमा अनौठो प्रकारबाट मानिसलाई गाडिएको भेट्यौं,’ सदस्य सफलले भने, ‘दोस्रो पटक भेटिएको खाल्डोको छेउमा एउटा बाँसको भाटामा माटो लागेको थियो। राम्रो खालको जुत्ता लगाएको, कालो कपडामा बेरेको र शवमा नुन प्रयोग गरेर खाल्डोमा पुरिएको अवस्थामा थियो। यस गाउँका मानिसहरु कोही पनि हराएको थाहा छैन। त्यसैले गर्दा भेटिएको शव यहाँका मानिस नहुनु पर्ने हो।’  

खाल्डोबाट उत्खनन गरिएका दुवै शवको पोष्टमार्टका लागि विराटनगरस्थित कोसी अस्पतालमा राखिएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १३ माघ २०७८ १४:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App