१७ असार २०८१ सोमबार
image/svg+xml
समाज

किसानलाई स्याउ बगैँचा व्यवस्थापनको चटारो

जुम्ला तिला गाउँपालिका ९ का जीवनबहादुर बुढा स्याउ व्यवस्थापनमा व्यस्त छन्। उनी बगैँचाको काँटछाँट र सिँचाइ व्यवस्थापन गर्न तल्लिन छन्। उनी एकाविहानै बगैँचामा पुग्छन्। दिनभर स्याउ बगैँचा व्यवस्थापनमा जुट्छन्।

स्याउ बगैँचाको व्यवस्थापन नगरेको खण्डमा स्याउ फल्दैन। बगैँचामा विभिन्न रोगको संक्रमण हुन्छ। कमसल स्याउ उत्पादन भएर बजार सम्म लैजान समस्या हुन्छ। उनले भने,‘समयमै स्याउ बगैँचाको व्यवस्थापन गरियो भने गुणस्तरीय फल दिन्छ। ’

यहाँको प्रमुख आम्दानी आम्दानीको स्रोत भनेको स्याउ खेती नै हो। यो वर्ष समयमै हिमपात भएकोले स्याउ उत्पादनमा वृद्धि हुने विश्वास गरिएको छ। जुम्लामा पुष महिनादेखि माघ महिनाको अन्त्यसम्म स्याउका बिरुवा लगाउने र स्याउको बगैँचा काँटछाट गर्ने समय हो। अधिकांस किसानलाई प्राविधिक ज्ञान नहुँदा बगैँचा काँटछाट तथा व्यवस्थापन राम्रो हुन नसकेको कृषि प्राविधिक बताउँछन्।

जुम्लाको स्याउलाई गुणस्तरीय बनाउनका लागी कृषि विशेषज्ञ प्रविधिक टोली र स्याउ सुपर जोन कार्यालयको टोलीले यहाँका स्याउ किसानका बगैँचामै पुगेर स्याउ बगैँचा काटँछाट देखी स्याउ व्यवस्थापन गर्न शुरु भएको  परियोजना कार्यन्वयन एकाई स्याउ सुपरजोन जुम्लाका निमित्त कायलय प्रमुख गंगा पोखरेलले बताइन्।

जिल्लाभर नर्सरीमा सात लाख बिरुवा उमारिएको छ। जसमध्ये झण्डै तीन लाख ५० हजार बिरुवा गुणस्तरको रहेको छ।

स्याउ प्रविधिकको सल्लाहअनुसार गुणस्तर बिरुवा किनेर बगैँचा लगाउन किसानलाई आग्रह गरिएको छ। बिरुवा लगाउन पहिले खाडल खन्दा देखी नै ध्यान दिन कृषि विज्ञले सुझाव दिएका छन्। खाडल खन्दा एउटादेखि अर्काे स्याउको बिरुवासम्म छ मिटरको दूरि आवश्यक  हुन्छ।  

कृषि विकास कार्यालय जुम्लाका प्रमुख गणेशबहादुर अधिकारीले भने,‘जुम्ला स्याउको संभावना भएको जिल्ला हो। स्याउ नै यहाँको आम्दानीको स्रोत हो। तर गुणस्तरीय स्याउ उत्पादनमा अबको कार्यक्रम केन्द्रित हुन जरुरी छ।’

उनले किसानलाई एक मिटर लम्वाई, एक मिटर चौडाई र एक मिटर गहिराइको खाडल खनेर सबैभन्दा तलको माटोलाई माथि र माथिल्लो भागको माटोलाई तल हाल्नुपर्ने सुझाव दिए। खाडल खन्दा माथिल्लो सतहको माटो एकातर्फ र तल्लो सतहको माटो अर्कोतर्फ राख्नुपर्ने  हुन्छ। उनले भने,‘किसान यो बिषयमा सचेत छन्। पछिल्लो समयमा स्याउ खेतीमा किसानको आकर्षण निकै बढेको छ। ’स्याउले जुम्लाको समृद्धि ल्याउने उनी बताउँछन्।

खाडल खन्दा निस्किएको माथिल्लो सतहको माटोमा २० केजी कम्पोष्ट, रासायनिक मल र माटो उपचार गर्ने विषादी राम्रोसँग मिसाएर बिरुवा लगाउन उपयुक्त हुने कृषि विकास कार्यालय जुम्लाले जनाएको छ।

कृषि प्राविधिकको सल्लाह अनुसार स्याउका बिरुवा रोप्न र समयमै बगैँचा व्यस्थापनमा गरेर गुणस्तरीय फल उत्पादन गरेपछि मात्र बगैँचा राम्रोदेखिने तिला गाउँपालिका कृषि शाखाका कृषि प्राविधिक सरिता महत बताउँछिन्।

फागुन महिनामा स्याउको पालुवा पलाउने भएकाले त्योभन्दा अगाडि नै स्याउका बिरुवा रोपी सक्नुपर्छ। स्याउका बिरुवा रोप्दा पाकेको गोठेमललाई माटोसँग मिसाएर हाल्दा राम्रो हुन्छ। स्याउ खेतीका लागि सकेसम्म दक्षिणी मोहडा भएको घाम लाग्ने जग्गा उपयुक्त हुन्छ।  

जिल्लामा चार हजार २०० हेक्टर क्षेत्रफलमा स्याउ खेती भएकोमध्ये करिब १६ सय ५० हेक्टर क्षेत्रफलमा मात्र स्याउले फल दिने गरेको छ। जिल्लाको एक नगरपालिकासहित सबै स्थानीयतहमा स्याउ फल्छ। जुम्लामा गोल्डेन, रेड, रोयल र जोनाथन जातको स्याउ पाइन्छ।

प्रकाशित: ११ माघ २०७८ १५:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App