जिल्ला प्रशासन कार्यालयका केही कर्मचारी कोभिड–१९ (कोरोना भाइरस) संक्रमित भएपछि सोमबारदेखि दैनिक हुने कामकाज प्रभावित भए। अत्यावश्यकबाहेक अन्य काम प्रशासनले बन्द गरेको छ।
यता यातायात व्यवस्था कार्यालय नेपालगन्जले पनि दैनिक सम्पादन हुने काम सीमित गरेको छ। लाइसेन्स ब्लुबुक नविकरण/प्रतिलिपी र प्रशासनिक कामबाहेक अन्य कामकाज बन्द गरेको छ। पछिल्लो समय कोरोना भाइरस संक्रमण दर बढ्दै जाँदा बाँकेस्थित सरकारी तथा गैरसरकारी कार्यालयहरुको कामकाज प्रभावित भएको छ।
अन्य केही कर्मचारीहरुलाई मिल्दोजुल्दो लक्षण देखा परी हाल आइसोलेसनमा रहेका साथै कार्यालयमा सेवाग्राहीको अत्यधिक भिडभाडसमेत हुँदा मंगलबारदेखि अर्काे सूचना जारी नहुँदासम्म कार्यालयबाट सम्पादन हुने अत्यावश्यक सेवा (शान्ति सुरक्षा र मुद्दा) बाहेक अन्य सबै सेवा स्थगित गरिएको प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जनाए।
कार्यालयहरुमा सेवाग्राहीको भिड बढ्दो हुँदा जोखिम कम गर्न यहाँका कार्यालयहरुले कामकाजमा सीमितता ल्याएका छन्। कार्यालयहरुमा आउने सेवाग्राहीहरु र स्वास्थ्य मापदण्ड पालना नहुँदा जोखिम बढ्दै गएको थियो। अत्यावश्यकबाहेकका अन्य काम बन्द हुँदा कोरोना भाइरसको जोखिम कम हुने कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले जनाए।
धेरैजसो कर्मचारीहरुमा कोरोना संक्रमण देखिएपछि कोहलपुर नगरपालिकामा सेवा प्रवाहमा समस्या आएको छ। विभिन्न शाखाका कर्मचारीहरु संक्रमित भएर होमआइसोलेसनमा बसेपछि सेवा प्रवाहमा समस्या उत्पन्न भएको प्रमुख प्रशासकीय अधिकृत ढकालले जानकारी दिए। ‘विभिन्न शाखा तथा वडाहरुमा कार्यरत कर्मचारीहरु संक्रमित भएपछि पहिलेजस्तो सेवा प्रवाह गर्न सकिएको छैन,’ उनले भने, ‘अहिले भएका कर्मचारीबाट नै स्वास्थ्य मापदण्ड पूरा गरेर सेवा दिइरहेका छौं।’
नगरपालिकाका स्वास्थ्य, पूर्वाधार विकास, सामाजिक, जिन्सी शाखा, कृषि, सिकलसेल ल्यावका शाखा प्रमुख तथा अन्य केही कर्मचारीहरूमा कोभिड संक्रमण देखिएको छ।
प्रकाशित: १० माघ २०७८ १३:४२ सोमबार