८ वैशाख २०८१ शनिबार
समाज

घाइतेको उपचारका लागि कर्मचारी र ठेकेदारबाट रकम असुल्दै प्रदेश वन सचिव

कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय।

कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव मोहनदेव जोशीले प्रयोग गर्ने कर्णाली प्रदेश ०२–००१ झ ००७८ नम्वरको सरकारी गाडी शुक्रबार बाँकेको बैजनाथ गाउँपालिका–५ संगमचोक नजिकै विपरित दिशाबाट आइरहेको मोटरसाइकलसँग ठोक्कियो। मोटरसाइकल चालक २६ वर्षीय नवीन पुन गम्भीर घाइते भए।

पुनको उपचारका लागि मन्त्रालयका सचिव जोशी अहिले मातहतका कार्यालय, काष्ठ व्यवसायी र कर्मचारीसँग रकम उठाइरहेका छन्। मन्त्रालय मातहतका वन निर्देशनालय, ११ वटा डिभिजन वन कार्यालय, भू–संरक्षण कार्यालयलगायतसँग सचिवले पुनको उपचारका लागि भन्दै पैसा उठाइरहेका छन्। एक डिभिजन वन अधिकृतका अनुसार सचिवले प्रयोग गर्ने गाडीबाट गम्भीर घाइते भएका पुनलाई उपचारका लागि बुटवलबाट हेलिकोप्टरमार्फत काठमाडौं लिने तयारी भइरहेको छ।  

‘हेलिकोप्टर भाडा र उपचार खर्च सचिवज्यू र मन्त्रालयले मात्रै व्यहोर्न नसक्ने भएकाले सचिवज्यूले मातहतका कार्यालयसँग सहयोग माग्नु भएको हो,’ मन्त्रालयका एक कर्मचारीले भने, ‘केही कार्यालय र व्यवसायीले रकम दिनु भएको छ।’ स्रोतका अनुसार डिभिजन वन कार्यालयहरुले ३५ हजारदेखि एक लाख रुपैयाँसम्म उठाएर दिएका छन्। केही व्यवसायीहरुले पनि एक लाख रुपैयाँसम्म सचिवलाई बुझाएका छन्।

मन्त्रालयका अनुसार सचिव जोशीले आफन्त लिनका लागि आफू चढ्ने गाडी सुदूरपश्चिम पठाएका थिए। सुर्खेतबाट बाँके हुँदै सुदूरपश्चिम जान लागेको गाडीले शुक्रबार दिउँसो तीन बजेतिर मोटरसाइकललाई ठक्कर दिएको थियो।

दुर्घटनामा क्षति भएको कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको सचिव चढ्ने गाडी। तस्बिरः गणेश/नेपालगञ्ज

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक पुनलाई सुरुमा कोहलपुर मेडिकल कलेज पुर्‍याइएको थियो। त्यहाँ पीसीआर गर्दा शनिबार कोरोना संक्रमण देखिएपछि मेडिकल कलेजले भेरी अञ्चल अस्पताल नेपालगञ्ज रेफर गरेको थियो। दुर्घटनामा छातीको भित्री भागका साथै दुबै खुट्टा र हातमा चोट लागेका पुनलाई आन्तरिक रक्तश्राव भइरहेको भन्दै काठमाडौं लिन सुझाव दिएको थियो। तत्काल हेलिकोप्टर नपाइएपछि पुनलाई एम्बुलेन्समार्फत स्थलमार्गबाट काठमाडौं लिन खोजिएको थियो। बुटवल पुग्दासम्म स्वास्थ्य अवस्था थप गम्भीर भएपछि उनको त्यहीँ उपचार भइरहेको थियो।

सोमबार पुनलाई हेलिकोप्टरमार्फत काठमाडौं लगिँदैछ। ‘कार्यालयको काममा गएर दुर्घटना भइदिएको भए सरकार आफैले उपचारमा रकम खर्चिन्थ्यो,’ मन्त्रालयका एक कर्मचारीले भने, ‘सचिवज्यूले आफन्त लिनका लागि गाडी पठाएकाले उपचारका लागि महाशाखा, निर्देशनालय र जिल्लास्थित कार्यालयसँग गुहार मागिरहनु भएको छ।’  

सचिवको ‘आग्रह’पछि डिभिजन वन कार्यालयहरुले आफै र काष्ठ व्यवसायीमार्फत रकम मागेर बुझाइरहेका छन्। सुर्खेतस्थित एक काष्ठ व्यवसायीले सचिवको आग्रहलाई आफूले नकार्न नसकेको बताए। ‘भोलि फाइल सदर गर्दा सचिव चाहिन्छन्, अहिले अप्ठ्यारो पर्दा त सहयोग गर्नुपर्‍यो नि?’ उनले भने, ‘सचिवज्यूलाई अहिले समस्या पर्दा हामीले सहयोग गर्‍यौं, हामीलाई पर्दा उहाँ (सचिव)ले पनि सहयोग गर्नुहोला भन्ने अपेक्षामा छौं।’  

एक डिभिजन वन अधिकृतका अनुसार तत्काल घाइतेको उपचार गर्नुपर्ने, काठमाडौंसम्म पुर्‍याउन हेलिकोप्टर चाटर्ड गर्नुपर्ने र एकै पटक धेरै खर्च लाग्ने भएकाले सचिवले सहयोगको आग्रह गरेका हुन्। ‘तेस्रोपक्ष वीमावापत आउने रकमबाट फिर्ता पनि गर्नुहुन्छ होला,’ उनले भने, ‘अहिले अप्ठ्यारोमा वनका कर्मचारी, कार्यालय र जोडिएका काष्ठ व्यवसायीमार्फत सहयोग संकलन गरिरहेका छौं।’  

आफन्त डिलबहादुर घर्तीले विरामी पुनलाई काठमाडौं लिने तयारी भइरहेको बताए। ‘काठमाडौंबाट आएको हेलिकोप्टर मौसम खरावीका कारण चितवनमा रोकिएको छ,’ उनले भने, ‘मौसम खुल्ने वित्तिकै बुटवलबाट काठमाडौं लगेर जान्छौं।’ उनले कोरोना पोजेटिभ देखिएपछि कोहलपुर मेडिकल कलेजले उपचार नगरेर भेरी अञ्चल अस्पताल रेफर गरेको बताए। ‘शनिबार बेलुका कोरोना पोजेटिभ रिपोर्ट आयो,’ उनले भने, ‘कोहलपुरले भेरी र भेरीले काठमाडौं रेफर गर्‍यो।’

घर्तीका अनुसार कोहलपुरमा उपचार गर्दा लागेको खर्च सचिव जोशीले व्यहोरेको बताए। ‘सचिवले विरामीलाई हेलिकोप्टरको व्यवस्था गरेर काठमाडौं पुर्‍याउन र पछि लागेको खर्च व्यवस्थापन गरिदिन्छु भन्नु भएको छ,’ उनले भने, ‘अहिले पैसाको जोहो गरेर काठमाडौं लिँदैछौं।’ विरामीको आन्तरिक रक्तश्राव भइराखेकाले भेरी अञ्चल अस्पतालले थप उपचारका लागि काठमाडौं लिन भनेको उनले बताए।  

सचिव जोशीले आफूले प्रयोग गर्ने सवारी साधनबाट मोटरसाइकललाई ठक्कर दिँदा एक जना घाइते भएको बताए। उनले घाइतेको उपचारका लागि आफूले खर्च व्यहोरिरहेको बताए। ‘मातहतका कार्यालयबाट मैले पैसा उठाएको छैन,’ उनले भने, ‘घाइतेको उपचार र हेलिकोप्टरको खर्च पनि मैलेनै व्यहोरेको छु।’

प्रकाशित: १० माघ २०७८ १३:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App