प्रधानमन्त्री शेरबहादुर देउवाले सीमा क्षेत्रको सुरक्षामा सशस्त्र प्रहरीले खेलेको भूमिका महत्वपूर्ण रहेको बताएका छन्। सशस्त्र प्रहरी बल नेपालको २१औं स्थापना दिवसका अवसरमा आइतबार हलचोकस्थित सशस्त्र प्रहरी मुख्यालयमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले विभिन्न सुरक्षा चुनौतीलाई सामना गर्न सशस्त्र प्रहरी सक्षम रहेको बताए।
मुलुकमा संकट आउँदा, असमान्य परिस्थितिमा विनाशकारी भूकम्प तथा अन्य विपद्का समयमा कठिन परिस्थितिका बाबजुद उद्धार, राहत एवं सुरक्षा चुनौतीको सामना गरेको भन्दै सशस्त्र प्रहरीको प्रशंसासमेत गरे। प्रधानमन्त्री देउवाले सशस्त्र प्रहरीले सरकारबाट निर्दिष्ट भूमिकालाई कुशलतापूर्वक पूरा गरेको भन्दै धन्यवाद व्यक्त गरे।
भ्रष्टाचारको शून्य सहनशीलतालाई अक्षरशः पालना गर्दै नागरिकको शान्तिपूर्ण वातावरणमा बाँच्न पाउने अधिकार रक्षा गर्न सक्ने गरी प्रभावकारी सुरक्षाको वातावरण मिलाउन देउवाले निर्देशनसमेत दिए। आम नागरिकप्रतिको विश्वास बढाउँदै सुशासन कायम गराउन सुरक्षित वातावरण निर्माण गर्नुपर्नेमा उनको जोड थियो। संक्रमणकालिन अवस्थामा भएको पहिलो, दोस्रो संविधानसभा निर्वाचन र संघीय तथा स्थनीय तहको निर्वाचनमा सशस्त्र प्रहरीले अहं भूमिका खेलेको स्मरण गर्दै प्रधानमन्त्री देउवाले अब हुने तीनै तहका निर्वाचन स्वच्छ, निष्पक्ष, मर्यादित ढंगले सम्पन्न गराउन विगतमा जस्तै महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।
नेपाल सरकारको लक्ष्य पूरा गर्न थप सिर्जनशील भएर कार्य सञ्चालन गर्न उनले आग्रह गरे। क्षमता सीप विकास, संगठन सुदृढीकरण र वृत्तिविकासमा सरकार सहयोगी बताउँदै उनले आवश्यकताको पहिचान गरी अघि बढ्न सशस्त्र प्रहरीलाई निर्देशन दिए। प्रधानमन्त्री देउवाले शान्ति सुरक्षा कायम गर्न दिएको जिम्मेवारी पूरा गर्न सफलता मिलोस् भन्दै स्थापना दिवसको शुभकामना समेत दिएका छन्।
कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँडले सशस्त्र प्रहरी बलले चुनौतीपूर्ण अवस्थामा समेत नागरिकको जीवन रक्षा तथा विषम परिस्थितिमा राष्ट्र र नागरिकाको सेवा, सुरक्षा, उद्धार, राहत विरतणलगायत क्षेत्रमा महत्वपूर्ण भूमिकाको निर्वाह गरेको बताए। कोरोना महामारीको समयमा अग्रपंतिमा रहेर एपिएफ अस्पतालमार्फत संक्रमितको उपचारमा पुर्याएको योगदानले धेरैले पुनर्जन्म पाएको भन्दै उनले आगामी दिनमा थप प्रभावकारी ढंगले काम निर्देशन दिए।
कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सरकारद्वारा निर्देशित लक्ष्य हासिल गर्न, शान्तिसुरक्षा अमनचयन कायम गरी सुशासन कायम राख्न सबै सुरक्षा निकाय र सरोकारवाला निकायसँगको समन्वयमा सशस्त्र प्रहरी सधैं तयार रहेको बताए। उनले सीमा सुरक्षा राजस्व संलनमा सहयोग, विपद् उद्धार तथा व्यवस्थापन, विशिष्ट व्यक्ति तथा महत्वपूर्ण संरचनामासशस्त्र प्रहरीले अहं भूमिका खेल्दै आएको उल्लेख गरे।
प्रकाशित: १० माघ २०७८ ०४:२४ सोमबार