१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

जीप दुर्घटनामा परी ज्यान गुमाएकाको परिवारलाई आर्थिक सहयोग

जीप दुर्घटनामा परी ज्यान गुमाएकाको परिवारलाई तनहुँको बन्दीपुर गाउँपालिकाले राहत प्रदान गरेको छ। गत पुस ३० गते बन्दीपुर गाउँपालिका–६ धरमपानी बाक्सेमा जीप दुर्घटनामा परी मृत्यु भएका ६ जनाको परिवारलाई गाउँपालिकाले आइतबार राहत प्रदान गरेको हो।  

गाउँपालिकाको बैठकको निर्णय अनुसार प्रति मृतक दश हजारका दरले रु ६० हजार राहत प्रदान गरिएको गाउँपालिकाका उपाध्यक्ष करुणा गुरुङले जानकारी दिए। गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापा, उपाध्यक्ष गुरुङ, वडाध्यक्ष सन्तबहादुर गुरुङ सहित जनप्रतिनिधिको टोली मृतकको घरमै पुगेर राहत प्रदान गरेको हो। 'शोकको घडीमा स्थानीय सरकार जनताको साथमा छ भन्ने अनुभूति दिलाउन थोरै भएपनि राहत प्रदान गरेका हौ,' उनले भने।

जीप दुर्घटनामा परी बन्दीपुर गाउँपालिका–६ का ५३ वर्षीय हरि न्यौपाने, ४८ वर्षीया सुशीलादेवी न्यौपाने, २४ वर्षीय रोशन गुरुङ, ९ महिने बालिका आरुबी थापा, ४८ वर्षीय सन्तबहादुर गुरुङ र ५० वर्षीया विममाया गुरुङको मृत्यु भएको थियो।

जीप दुर्घटनाका चालकलाई कारवाही र मृतकका परिवारलाई उचित क्षतिपूर्ति पाउने माग सहित दुई दिनसम्म पीडितले शव बुझेका थिएनन्। दुर्घटनामा मृत्यु भएकाहरुलाई कानून बमोजिम पाउनुपर्ने राहत उपलब्ध गराउने र घाइतेको उपचार खर्च बेहोर्ने सहमति भएपछि पीडितले शव बुझेका थिए।

त्यसबेला किरिया खर्च बापत प्रति मृतक ५० हजार प्रदान गरिएको थियो भने बाँकी जनही रु चार लाख ५० हजार २५ दिनभित्र उपलब्ध गराउने सहमति भएको थियो। 

प्रकाशित: १० माघ २०७८ ०१:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App