८ वैशाख २०८१ शनिबार
समाज

बन्धक बनाएर सामूहिक बलात्कारः होटल सञ्चालकसहित ३ जना पक्राउ, एक फरार

पूर्वपश्चिम लोकमार्गअन्तर्गत मोरङको सुन्दरहरैँचास्थित बलियामा रहेको एउटा होटलमा एक समूहले महिलालाई बन्धक बनाएर सामूहिक बलात्कार गरेको छ।

होटल सञ्चालकसहित ३ जनाको उक्त समूहले महिलालाई होटलको एउटा कोठामा बन्धक बनाएर रातभरि बलात्कार गरेको मोरङ प्रहरीले जनाएको छ। बेलबारी नगरपालिकाकी ३० वर्षीया महिला सामूहिक बलात्कारको सिकार भएकी हुन्। महिलाका ४ वर्ष र १७ महिनाकी २ छोरी छन्। पीडित महिला सपरिवार खोटाङबाट गत असोजमा मोरङको बेलबारी बसाइँ सरेकी थिइन्। श्रीमान २ महिनाअघि पहाड घर खोटाङ गएका थिए। पीडित महिलाको विराटनगरस्थित कोसी अस्पतालमा उपचार भइरहेको छ।  

सुन्दरहरैँचा नगरपालिका–४ बलियास्थित श्रेष्ठ होटल एण्ड फेमेली लजको एउटा कोठामा बन्धक बनाएर महिलालाई शुक्रबार राति ३ जनाको समूह मिलेर बलात्कार गरेको मोरङ प्रहरीका प्रवक्ता डिएपसी मञ्जिल मुकारुङले बताए। होटल सञ्चालक ३६ वर्षीय अर्जुन श्रेष्ठ, उनका भाइ २७ वर्षीय सुरज भन्ने मनोज श्रेष्ठ र झापा घर बताउने रामबहादुर नेपालीले रातभर सामूहिक बलात्कार गर्दा महिलाको अवस्था चिन्ताजनक भएको थियो। अत्याधिक रक्तश्रावका कारण महिलाको अवस्था गम्भीर बनेको थियो। बलात्कारका कारण उनको यौनाङ्ग क्षतविक्षत भएकाले रगत धेरै बगेपछि रक्तचाप कम भएको चिकित्सकलाई उदृत गर्दै प्रहरीले जनाएको छ। उपचारपछि स्वास्थ्य अवस्था सुधार हुँदै आएको डिएसपी मुकारुङले बताए।  

पारिवारिक आर्थिक अवस्था कमजोर भएकी महिलाले शुक्रबारदेखि नै सुनसरीको इटहरीस्थित एउटा घरमा काम गर्न थालेकी थिइन्। दुई जना साना बच्चालाई गछियास्थित बहिनीको घरमा छाडेर काम गर्न गएकी उनी काम सकेर बहिनीको घर फर्कंदै गर्दा बलात्कारमा संलग्नमध्ये रामबहादुरले शुक्रबार साँझ ६ बजेतिर गाडीमा राखेर उनलाई गछियाबाट लगेको प्रहरीले जनाएको छ।  

इटहरीबाट आएर गछियामा ओर्लिएर बहिनीको घर जाने बाटो अर्काे गाडीमा रहेका रामबहादुरलाई सोधिन्। बहिनीको घर पुर्‍याइ दिने भनेर गाडीमा राखी होटल लगे। होटल लगेर एउटा कोठामा बन्धक बनाई ३ जनाले बलात्कार गरेपछि सुरज र रामबहादुर फरार भए। पीडित महिलालाई प्रदेश २–०१–००१ च २२७ नम्बरको गाडीमा राखेर कोसी अस्पतालमा उपचारका लागि लिएर आएका होटल सञ्चालक अर्जुनलाई प्रहरीले शनिबार दिउँसो विराटनगरबाटै पक्राउ गर्‍यो भने फरार सुरज साँझमा पक्राउ परे। महिलालाई त्यही गाडीमा राखेर रामबहादुरले होटलसम्म लगेको खुलेको छ। श्रेष्ठ दाजुभाइसँगै होटलमा काम गर्ने आरती श्रेष्ठलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

महिलाले बलात्कारको प्रतिकार गर्दा अर्जुनले हातभित्र छिराएर यौनाङ्ग नै क्षतविक्षत बनाइदिएका कारण धेरै रक्तश्राव भएको र यातनाका कारण शरीरमा नीलडाम तथा चोटपटक रहेको प्रहरीले जनाएको छ। घटना प्रत्यक्ष देखेकी आरतीले बचाउन कहीकतै खबर नगरेको पाइएपछि उनलाई समेत पक्राउ गरेको छ। घटना भएको होटलमा पुगेकी पीडितकी बहिनीलाई समेत आरती र बलात्कारमा संलग्न सुरजले दुर्व्यवहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

शुक्रबार राति घटना भए पनि शनिबार दिउँसो पीडितलाई उपचार गर्न अस्पताल भर्ना गरेपछि मात्रै प्रहरीले थाहा पायो। दिदी घर नआएपछि सोधीखोजी गर्ने क्रममा शनिबार बिहानमात्रै घटनाबारे थाहा पाएको पीडितकी बहिनीले बताएकी छन्। घटनास्थल पुग्दा बलात्कार गरिएको कोठाको ओछ्यान रक्ताम्य र दिदी बेहोस अवस्थामा देखेको बहिनीले प्रहरीलाई बताएकी हुन्। उपचार गर्न लैजान अग्रह गर्दा उल्टै आफूलाई दुर्व्यवहार गरेको उनले बताएकी छन्।  

प्रहरीका अनुसार अस्पताल ल्याउँदा महिलाको रक्तश्राव नरोकिएकाले गाडीको सिट रक्ताम्य थियो। घटनामा संलग्न ३ जनासहित गाडीलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान थालिसकेको डिएसपी मुकारुङले बताए। फरार भएका एक जनाको खोजी तीव्र पारिएको र उनीहरुविरुद्ध जबरजस्ती करणीलगायतका मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ९ माघ २०७८ ११:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App