१ पुस २०८१ सोमबार
image/svg+xml
समाज

सिक्लेस पुग्ने बाटो नबन्दा स्थानीयलाई सकस

कास्कीको सोँदास्थित बाढीले बगाएको बाटो। तस्बिरः नागरिक

बाढीले भत्काएको बाटो पुर्ननिर्माण नगर्दा कास्कीको पर्यटकीय क्षेत्र सिक्लेस, खिलाङ र सोँदाबासी हैरानीमा परेका छन्। मादी गाउँपालिका–१ को सोँदास्थित मादी नदीमा गत जेठ ३१ गते आएको बाढीले बगाएको बाटो पुनःनिर्माण नहुँदा कास्कीको पर्यटकीय क्षेत्र मध्येको सिक्लेस, खिलाङ र सोँदाका स्थानियबासी हैरानी खेप्न बाध्य भएका हुन्।

बाढीले सिक्लेस र खिलाङ जाने बाटो बगाएको थियो। उक्त बाढीले ३ घर पूर्ण रुपमा बगाएको थियो भने अन्य ६ घरमा आंशिक क्षति पु¥याएको थियो। त्यही पहिरोका कारण उत्पन्न त्रासले स्थानिय १८ घर विस्थापित भएका छन्। बाढीले बाटो नै बगाएपछि सिक्लेस र खिलाङबासीले आउजाउमा पनि ताङतिङको बाटो प्रयोग गर्न बाध्य भएका छन्। जसका कारण पहिलेको भन्दा सिक्लेस र खिलाङ पुग्न झण्डै दोब्बर समय लाग्ने मादी–९ का वडाध्यक्ष तोरण गुरुङले बताए।  

‘पहिले आधाघण्टामा पुगिने ठाउँसम्म अहिले दोब्बर समय लाग्छ,’ उनले भने। बाटो नबन्दा खिलाङ र सिक्लेसको तल्लो क्षेत्रबाट सोँदामा अध्ययन गर्न आउने विद्यार्थी समेत प्रभावित भएका छन्।  

साँेंदामा बिग्रिएको बाटो पहुँच नपुगेर नबनेको होईन। बरु पहुँच हुनेहरुले ध्यान नदिँदा नबनेको स्थानीय बताउँछन्। किनकी यो क्षेत्र राजनीतिमा पहुँच राख्नेको क्षेत्र हो। कास्की–१ म पर्ने यो क्षेत्र पूर्व गृहमन्त्री खगराज अधिकारीको क्षेत्र हो। त्यस्तै नेकपा एमाले कास्कीका अध्यक्ष मनबहादुर गुरुङ पनि यहि क्षेत्रका जनप्रतिनिधि हुन्। कास्की १ (क)बाट प्रदेश सभामा निर्वाचित गुरुङ सिक्लेसका स्थायी बासिन्दा पनि हुन्।

पहिरो जाने वित्तिकै पहुँचवाला व्यक्तिको ध्यानाकर्षण नभएको होईन। स्थानियले पनि उनीहरुलाई ध्यानाकर्षण गराएका हुन्। त्यसबेला उनीहरुले बाटोका लागि बजेट पार्ने आश्वासनपनि दिएकै हुन्। तर बाटो नबनेको स्थानिय टिकप्रसाद गुरुङको आरोप छ। उनी भन्छन् ‘हामीले आश्वासन अनुसार व्यवहार पाएनौं, जसका कारण वत्तीमुनिको अँध्यारोजस्तो भएर बस्नु परेको छ।’  

उनका अनुसार गण्डकी प्रदेशका तत्कालीन मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले उक्त बाटो बनाउने आश्वासन दिएका थिए। उनकै आश्वासन अनुसार बाटोको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर)पनि भयो तर बजेट नपर्दा बाटो बनेन।

अहिलेका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पनि बाटो बनाउन ५० लाख रुपैयाँ दिने आश्वासन दिएका छन। उसो त प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार, सहरी विकास एवं यातायात व्यवस्था मन्त्री कुमार खड्काले पनि २० लाख रुपैयाँ दिने आश्वासन बाँडे। तर उनले दिएको आश्वासनपनि आश्वासनमै सिमित भएको स्थानीयको गुनासो छ।  

प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले पनि बाटोका लागि आवश्यक सहयोग गर्ने वचन दिए। बरालको वचन पनि व्यवहारमा परिणत नहुँदा आफूहरुमाथि पीडा थपेको मादी–७ का वडाध्यक्ष लालबहादुर गुरुङ बताउँछन्। ‘हामीलाई आश्वासन मात्र दिइयो, बजेट दिइएन। आश्वासनले मात्र बाटो बन्दो रहेनछ, त्यसैले हामीलाई बजेट चाहियो,’ उनले भने।

बाटो निर्माणमा सरकारले मात्र नभई स्थानिय हाइड्रोपावरले पनि चासो नदिएको स्थानियको गुनासो छ। मादीको सोँदामा हाइड्रो निर्माण गर्दा मादी नदीले धार परिवर्तन गरेका कारण बस्तीसँगै बाटो पनि बगाएको उनीहरुको भनाई छ। तर हाइड्रोका कारण बस्ती र बाटो बग्यो त्यहि हाइड्रोले बाटो निर्माणमा चासो नदिदा आफूहरुको चित्त दुखेको टिकप्रसाद गुरुङले बताए।

प्रकाशित: ७ माघ २०७८ ०९:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App