७ वैशाख २०८१ शुक्रबार
समाज

लागुऔषधसहित १६ जना प्रहरी नियन्त्रणमा

विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई प्रहरीले पक्राउ गरेको छ। लागुऔषधसहित उनीहरू मकवानपुर, रूपन्देही, बाँके, कैलाली, धनुषा, मोरङ, सिरहा र कपिलवस्तुका छुट्टाछुट्टै स्थानबाट पक्राउ परेका थिए।

प्रहरीकाअनुसार मकवानपुरस्थित मनहरी गाउँपालिका–८ सिमपानीबाट २० किलो पाँच सय ग्राम चरेस र १० किलो गाँजाको धुलो जस्तो देखिने पदार्थसहित तीन जना पक्राउ परेका थिए। राक्सिराङ गाउँपालिका–६ का ३३ वर्षीय सन्तबहादुर थिङसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको थियो।

चिवतनबाट हेटौंडातर्फ जाँदै गरेको लु ३ च ९७४ नम्बरको गाडीलाई जिल्ला प्रहरी कार्यालय मकवानपुर र इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा सो लागुऔषधसहित फेला पारी गाडी चालक थिङसमेत तीन जनालाई पक्राउ परेको प्रहरीले जनाएको छ।

रूपन्देही तिलोत्तमा नगरपालिका–७ भलवाडीबाट विभिन्न लागुऔषधसहित भारत महाराजगञ्ज नौतुनुवा बस्ने २० वर्षीय सेहावाद आलमलगायत तीनजनालाई प्रहरीले पक्राउ गरेको थियो। इलाका प्रहरी कार्यालय बुटबलबाट खटिएको प्रहरीले उनीहरूको साथबाट तीन ग्राम ८ सय ५० मिलिग्राम खैरो हेरोइन जस्तो पदार्थ र नियन्त्रित लागुऔषध १२ चक्की स्पास्मो, ६ चक्की नाइट्रोभेट, नगद १८ हजार ९ सय रूपैयाँ र ६ थान मोबाइलसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको थियो। त्यस्तै, बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२० राझा चोकबाट नियन्त्रित लागुऔषध चार लिटर कोरेक्स र एक हजार क्याप्सुल ट्रामाजोलसहित सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१० बस्ने ४२ वर्षीय विवेकसिल मल्ललाई मंगलबार प्रहरीले पक्राउ गरेको थियो।

जिल्ला प्रहरी कार्यालय बाँके र लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरीले उनले बोकेको कार्टुमा राखेको सो लागुऔषधसहित फेला पारी उनलाई पक्राउ गरेको थियो। बाँके, नेपालगञ्ज उपमहानगरपालिका–१५ जमुनाहबाट १६ ग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थसहित दाङ घोराही उपमहानगरपालिका–१३ बस्ने ३६ वर्षीय अरूण रोका मगरलाई प्रहरीले पक्राउ गरेको थियो।

भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई इलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा सो पदार्थसहित फेला पारी पक्राउ गरेको थियो। कैलाली, धनगढी उपमहानगरपालिका–३ बोराडाडीबाट ११ ग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थसहित सोही ठाउँ बस्ने २७ वर्षीय अशोक पाललाई प्रहरीले पक्राउ गरेको थियो। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो।

धनुषाको औरही गाउँपालिका–१ पौडौश्वरबाट दुई सय ५० ग्राम अवैध लागुऔषध गाँजा, नियन्त्रित लागुऔषध १२ ट्याब्लेट नाइट्राभेट र ४ क्याप्सुल स्पास्मो प्रोक्सभिन प्लससहित दुई जना पक्राउ परेका थिए। प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २२ वर्षीय अजय सहनी र ४२ वर्षीय कृष्णा सहनी रहेका थिए।

मोरङ, रतुवामाई नगरपालिका–३ माहादेवाबाट १८ ग्राम ब्राउन सुगर र ५ लिटर कोरेक्सजस्तो देखिने वस्तुसहित झापा गौरीगञ्ज गाउँपालिका–५ बस्ने ३५ वर्षीया सरस्वती शाहलाई प्रहरीले पक्राउ गरेको थियो। त्यस्तै, सिरहास्थित लहान नगरपालिका–१२ पडरिया चोकबाट करिब पाँच ग्राम ५ सय मिलिग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ र नगद ११ हजार रूपैयाँसहित सोही ठाउँ बस्ने प्रशान्त चौधरीलगायत तीन जनालाई बुधबार प्रहरीले पक्राउ गरेको थियो।

प्रकाशित: २९ पुस २०७८ ०४:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App